BIZMANDU
www.bizmandu.com

गण्डकीका अर्थमन्त्रीको अडान कायमै : माओवादीका नेतासहित गठबन्धन भने असन्तुष्ट

२०७९ असार ७

गण्डकीका अर्थमन्त्रीको अडान कायमै : माओवादीका नेतासहित गठबन्धन भने असन्तुष्ट
गण्डकीका अर्थमन्त्रीको अडान कायमै : माओवादीका नेतासहित गठबन्धन भने असन्तुष्ट


पोखरा। गण्डकी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षको भन्दा आगामी वर्षका लागि पाँच अर्ब बढी बजेट बढाएर ल्यायो। असार १ मा नेकपा माओवादी केन्द्रबाट गण्डकीका अर्थमन्त्री बनेका रामजी बरालले आर्थिक वर्ष  ७९–८० को लागि ३५ अर्बको बजेट प्रस्तुत गरे।

Tata
GBIME
Nepal Life

संसदमा बजेट पेस भएपनि बजेटमाथिको छलफल अनिश्चित छ। आइतवारदेखि सुरु हुने भनिएको छलफल अनिश्चितकालका लागि स्थगित हुनुको कारण हो – बजेटबाट निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम हराउनु।

सदनमा मन्त्री बरालले बजेट भाषण गरिरहँदा संसदमा रहेका मुख्यमन्त्रीसहित मन्त्री र सांसद तीन छक परेका थिए। मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले राख्न भनिएको योजनालाई अर्थमन्त्रीले बजेटमा समेटेनन्। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम बजेट भाषणबाट हराएपछि अर्थमन्त्रीको विरोध भइरहेको छ।

अर्थमन्त्रीको खुलेआम राजीनामा माग गरिरहेका छन् गण्डकीकै मन्त्रीले। यतिबेला गण्डकीका अर्थमन्त्री एक्लै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको विपक्षमा उभिएका छन् भने गठबन्धनका पक्षमा। अर्थमन्त्री सांसद पदमा रहँदा नै यो कार्यक्रमको विरोध गर्दै आएका थिए। कार्यक्रम अनावश्यक रहेको बताउने बरालले अर्थमन्त्रीको हैसियतमा पुगेपछि बजेटमा कार्यक्रमलाई समावेश नै गरेनन्। अर्थमन्त्रीले उक्त कार्यक्रम अनावश्यक रहेको बताए पनि गठबन्धन नेतृत्वको सरकारले यस कार्यक्रमलाई महत्वका साथ समावेश गर्न भनेको थियो।

मन्त्रिपरिषदको बैठकमा मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले उक्त कार्यक्रम बजेटमा समावेश गर्न निर्देशन दिएका थिए। तर, अर्थमन्त्रीले आफू खुशी कार्यक्रम काटेर बजेट ल्याएको माओवादी केन्द्रकै सांसदले आरोप लगाएका छन्।

अर्थमन्त्रीले कार्यक्रम बजेटबाट काटेपछि उनीसँग मुख्यमन्त्रीले कारण सोधेका थिए। अर्थमन्त्रीले उक्त कार्यक्रमका लागि स्रोत अभाव भएको स्पष्टीकरण मुख्यमन्त्रीलाई दिएका छन्। यसका साथै उक्त कार्यक्रम समावेश गर्न नसकिने उनको अडान छ।

अर्थमन्त्री बरालले निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम अनावश्यक भएको बताएका छन्। सोमवार एक कार्यक्रममा अर्थमन्त्री बरालले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अनावश्यक भएको बताएका हुन्। ‘यो निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम जरुरी छैन। यो कार्यक्रम हिजो अभ्यासमा थियो। हिजोको कार्यक्रमले आज निरन्तरता पाएन। आज आवश्यक हुँदैन यो मेरो मान्यता हो,’ उनले भने।

अर्थमन्त्री बरालले कार्यक्रमलाई बजेटमा नसमेटिनुको अर्को कारण दिएका छन् – नीति तथा कार्यक्रममा नसमेटिनु।

‘नीति तथा कार्यक्रममा छैन। नीति तथा कार्यक्रममा सानसाना कुरा उल्लेख भएर आएका थिए। अनौपचारिक रुपमा के–के छलफल भए ती अनिवार्य हुन्छ भन्ने हुँदैन त्यसो भएकाले बजेटमा अटेन, समावेश गरिएन,’ अर्थमन्त्री बरालले भने।

यस्तै उनले नीति तथा कार्यक्रमका लागि मुख्यमन्त्रीको भिजन नभएको आरोप लगाएका छन्। ‘नीति तथा कार्यक्रम मुख्यमन्त्री कार्यालयले बनाउँछ। मुख्यमन्त्रीको भिजन भएको भए त नीति तथा कार्यक्रममा आउँथ्यो। त्यहाँ आएको भए त मलाई मन परे पनि नपरे पनि राख्नैपर्थ्यो,’ अर्थमन्त्रीले थपे।

अर्थमन्त्रीको अड्डीमा भने उनकै दलका नेताले पनि असहमति जनाएका छन्। यसै विषयमा आइतवार नेपाली कांग्रेस र माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको थियो। बैठकमा पनि दुबैले कार्यक्रम समावेश गर्नुपर्ने मत राखेका थिए।

अर्थमन्त्रीले कार्यक्रम समावेश नगर्ने अडान लिइरहँदा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान भने प्रभावकारी बनेको कार्यक्रम समावेश हुनुपर्ने धारण राख्छन्।

‘यो सबैभन्दा प्रभावकारी कार्यक्रमको रुपमा यहि ठहरिएको छ। यो सबैभन्दा प्रभावकारी बन्यो र कार्यान्वयन पनि राम्रोसँग भयो। यो कार्यक्रमलाई कार्यान्वयन गर्नुपर्छ भन्ने गठबन्धनका सबै दलको सहमति हो,’ नेता चुमानले भने, ‘त्यो अब सहमति भएपछि त्यसलाई कार्यनयन गर्नुपर्‍थ्यो। यो वा त्यो बहानामा त्यसलाई कटाउने काम गलत हुन्थ्यो। गर्न हुन्थेन। त्यसमाथि मुख्यमन्त्रीको निर्देशन हुँदाहुँदै त्यसलाई विभिन्न बहाना बनाएर पन्छ्याउन सकिँदैन।’

उनले निर्वाचन पूर्वाधार विकास कार्यक्रम अर्थमन्त्रीले भनेर मात्र नरोकिने बताए। ‘यसलाई जसरी पनि कार्यान्वयन गर्नपर्छ भन्ने गठबन्धनको निर्णय हो। यसलाई एकजना अर्थमन्त्रीले मात्रै गर्दिन भनेर हुँदैन। यो गलत हुन्छ। त्यसकारण जसरी पनि कार्यान्वयन हुनुपर्छ भनेर हाम्रो दलले भनेको छ सबै दलले भनेको छ,’ उनले भने।

‘अर्थमन्त्रीले हामीलाई नै बेबकुफ बनाइदियो’

यस विषयमा अर्थमन्त्री बराल बाँकी सांसद र मन्त्रीसँग एक्लै भिड्दै छन्। मन्त्रीदेखि सांसद उनीसँग रुष्ट छन्। गठबन्धनभित्र नै अर्थमन्त्री फेरिनुपर्ने कुरा उठेको पनि गठबन्धनका सांसद बताउँछन्। यता, गठबन्धनबाट युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले सार्वजनिक कार्यक्रमबाटै अर्थमन्त्रीको राजिनामा माग गर्दै विरोधमा उत्रिएका छन्।

‘आफैँले बनाएको अर्थमन्त्रीले हामीलाई नै बेबकुफ बनाइदियो। मुख्यमन्त्रीले आफ्नो टाउकोमा लिनुपर्छ। अर्थमन्त्रीको राजीनामा कुर्ने होइन। जुन काम गरेको छ अर्थमन्त्रीले त्यो ठूलो आपराधिक गतिविधि हो। अर्थमन्त्री फेर्न किन यत्रो सोच्नपर्‍यो? माओवादीमा अरु मान्छे छैन? दीपक कोइराला भन्ने मान्छे स्मार्ट छ त। अर्थसचिव फेर्न मिल्छ। मन्त्रीको काम राजीनामा दिएर जाने हो,’ मन्त्री मनाङेले भने।