BIZMANDU
www.bizmandu.com

काठमाडौंमा आउँदै हिल्टनको नयाँ पाँचतारे होटल, ११६ कोठा, १४ महिनाभित्र संचालन हुने


काठमाडौंमा आउँदै हिल्टनको नयाँ पाँचतारे होटल, ११६ कोठा, १४ महिनाभित्र संचालन हुने
काठमाडौंमा आउँदै हिल्टनको नयाँ पाँचतारे होटल, ११६ कोठा, १४ महिनाभित्र संचालन हुने

काठमाडौं। राजधानीको सुकेधारामा पाँचतारे होटल 'हिल्टन गार्डेन इन' संचालनमा आउने भएको छ। अन्तर्राष्ट्रिय होटल चेन हिल्टन वर्ल्डवाइड म्यानेज लिमिटेडको ब्राण्ड र व्यवस्थापनमा यो होटल संचालन हुने होटल स्रोतले जानकारी दिएको छ।

Tata
GBIME
Nepal Life

११६ कोठाको हुने होटल हिल्टन गार्डेन इन १० तलाको हुने होटलका लगानीकर्तामध्येका एकले जानकारी दिए। निर्माणाधीन अवस्थामा रहेको यो होटल आगामी १४ महिना भित्र संचालनमा ल्याउने तयारी भइरहेको उनले बताए।

होटलको भौतिक निर्माण (सिभिल) को काम अबको डेढ महिनामा सकिने बताइएको छ। विदेशी ब्राण्ड अन्तर्गतको होटल भएकाले विदेशी पर्यटकलाई नै लक्षित गरेर यो ल्याउन लागिएको स्रोतले बिजमाण्डूसँग भन्यो। 

स्रोतका अनुसार, यस होटलको कुल लगानी डेढ अर्ब रुपैयाँभन्दा माथि हुनेछ। यसका लगानीकर्ताहरु तीन उद्यमी रहेका छन्। जसमा देशबन्धु बस्नेतको ४५ प्रतिशत, विजय मल्लको ३० प्रतिशत र राजेन्द्र राउतको २५ प्रतिशत सेयर स्वामित्व रहेको जनाइएको छ। 

कुल लगानीमध्ये २५ प्रतिशत लगानीकर्ताहरुले नै स्वपुँजी (इक्विटी) हाल्ने जनाइएको छ। बाँकी ७५ प्रतिशत भने बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा जुटाउने योजना रहेको स्रोतले जानकारी दिएको छ। 

कम्पनीले एक अर्ब १७ करोड ५० लाख रुपैयाँ बैंकिङ कर्जाका लागि इक्रा नेपालबाट रेटिङ पाएको छ। एक अर्ब १६ करोड २० लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि इक्रा नेपालले कम्पनीलाई एनपी एल बी प्लस रेटिङ दिएको छ। ३० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि भने एनपी ए फोर रेटिङ दिएको छ। 

इक्रा नेपालका अनुसार होटल निर्माणको वित्तीय प्रगति २०२२ मे महिनासम्म ३८ प्रतिशत रहेको छ। प्रतिकोठा लागत जग्गाको मूल्यसहित एक करोड ४७ लाख रुपैयाँ पर्ने बताइएको छ। 

स्रोतका अनुसार, होटलले आगामी २० वर्ष (थप गर्न मिल्ने) का लागि हिल्टन वर्ल्डवाइड म्यानेजमेन्ट लिमिटेडसँग ब्राण्ड र व्यवस्थापनको सम्झौता गरेको छ। 
होटलको अनुमानित लागत एक अर्ब ५६ करोड २० लाख रुपैयाँ छ। मे २०२२ सम्म लगानीकर्ताहरुले ४० प्रतिशत लगानी सुनिश्चितता गरेका छन्। मार्च २०२१ बाट होटल निर्माण सुरु भएको थियो। 

काठमाडौंमा ग्लोबल होटल चेन ब्रान्ड हिल्टन अन्तर्गत निर्माण भइरहेको यो दोस्रो होटल हो। यसअघि हिल्टनको डबल ट्रि होटल काठमाडौंको नक्सालमा निर्माण सुरु भएको थियो। शंकर समूहको लगानीमा बनिरहेको उक्त होटल पनि पाँचतारे नै रहेको छ। 

सोपछि हिल्टनको ब्रान्ड छाताअन्तर्गत दोस्रो बनेको होटल 'हिल्टन गार्डेन इन' हो। काठमाडौंको सुकेधारा क्षेत्रवरपरको यो पहिलो पाँचतारे होटल समेत हुनेछ। नजिकै धुम्बाराहीमा भने सानिमा ग्रुपले पूरा हुन नसकेको अपार्टमेन्ट खरिद गरेर होटलमा परिणत गरी 'अकामा' ब्रान्डमा चारतारे होटल संचालनमा गरिरहेको छ।