BIZMANDU
www.bizmandu.com

नयाँ भरतपुर २२० केभी सबस्टेशनको निर्माण ८०% सकियो, दुई महिनाभित्र सञ्चालनमा ल्याइने

२०७९ असार ५

नयाँ भरतपुर २२० केभी सबस्टेशनको निर्माण ८०% सकियो, दुई महिनाभित्र सञ्चालनमा ल्याइने
नयाँ भरतपुर २२० केभी सबस्टेशनको निर्माण ८०% सकियो, दुई महिनाभित्र सञ्चालनमा ल्याइने

काठमाडौं। चितवनको भरतपुर महानगरपालिका-११ आँपटारीमा निर्माणाधीन नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेशनको निर्माण करिब ८० प्रतिशत सकिएको छ।

Tata
GBIME
Nepal Life

सबस्टेशन निर्माण दुई महिनाभित्रमा सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी नेपाल विद्युत प्राधिकरणले काम गरिरहेको जनाएको छ। मर्स्याङदी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गतका निर्माणाधीन सबस्टेशनको मुख्य सिभिल संरचनाको काम अन्तिम चरणमा छ।

‘ग्यास इन्सुलेटेड सवस्टेशन (जिआईएस)’ प्रविधिमा आधारित सबस्टेशनका अधिकांश उपकरणहरु निर्माण स्थलमा ल्याइसकिएको छ। अब ती उपकरणहरको जडान मात्र बाँकी छ। सवस्टेशनमा १६०/१६० एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर रहने छन्। पावर ट्रान्सफर्मरहरु राख्ने सिभिल संरचना निर्माण भइसकेको छ भने ट्रान्सफर्मरहरु जडान गर्न बाँकी छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सवस्टेशन निर्माणस्थलको भ्रमण गरी दुई महिनाभित्र काम सम्पन्न गर्न निर्देशन दिए। आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीसँग निर्माण प्रगति बेहोरिरहेको समस्या लगायतका विषयमा छलफल गरी दुई महिनाभित्र सवस्टेशन सञ्चालनमा ल्याउन निर्देशन दिएका हुन्।

आयोजना अन्तर्गत नयाँ भरतपुर र लमजुङको उदीपुरमा सबस्टेशन निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग करिब २ वर्षअघि ठेक्का सम्झौता भएको थियो। कोभिड-१९को महामारीका कारण सबस्टेशन निर्माण प्रभावित भएको थियो। तनहुँमा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत आयोजना पनि नयाँ भरतपुर सबस्टेशनमा नै जोडिने छ।

मर्स्याङदी र त्यसका सहायक नदीहरुबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङदी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो। प्रसारणलाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत प्रवाह गर्न सकिने छ। चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब ११३ किलोमिटर छ।

आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ। पहिलो प्याकेज अन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सवस्टेशनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ। दोस्रो प्याकेज अन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेशन निर्माणाधीन छन्। तेस्रो प्याकेज अन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुईवटा सबस्टेशन निर्माण भइरहेको छ। यस प्याकेज अन्तर्गत खुदी र धारापानीमा सवस्टेशन निर्माणाधीन छन्।

नेपाल सरकारको लगानी र युरोपेली लगानी बैंक (इआइबी)को करिब १६ अर्ब रुपैयाँ सहुलितपूर्ण ऋणमा आयोजना निर्माण भइरहेको छ।