BIZMANDU
www.bizmandu.com

पुन: सुरु भयो फाष्ट-ट्रयाकको सुरुङ खन्ने काम, हालसम्मको काम गुणस्तरीय रहेको परामर्शदाताको जिकिर

२०७९ असार ३

काठमाडौं। काठमाडौं-मधेश द्रुतमार्ग (फास्ट-ट्रयाक) आयोजनाको १२ दिनदेखि रोकिएको सुरुङ खन्ने काम पुन: सुचारु गरिएको छ।सुरुङमार्ग खन्ने काम गुणस्तरहीन भएको आशंकामा नेपाली सेनाले १२ दिन अघि परामर्शदाता नियुक्त गर्दै काम रोकेको थियो।

Tata
GBIME
Nepal Life

फास्ट-ट्रयाकमा सुरुङ खन्ने काम चिनियाँ ठेकेदार कम्पनीले गर्दै आएको छ। कम्पनीले सम्झौता अनुसारको ‘थ्री आर्म्स् जम्बो’ मेसिन नल्याई सामान्य रूपमा खन्न थालेकाले कामको गुणस्तर पनि कमजोर रहेको आशंकाले काम रोक्न निर्देशन दिएको थियो। ठेक्का सम्झौताको मापदण्ड तथा सेवा शर्त अनुसार बिहीबारदेखि दुवै खण्डको सुरुङ खन्ने काम सुरु भएको सेनाले जानकारी दिएको छ।

नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता नारायण सिलवालले ठेकेदार कम्पनीलाई सुरुङ खन्न आवश्यक इक्विपमेन्टहरु जतिसक्दो छिटो ल्याउन र समयमा काम सक्ने गरी निर्माण कार्य अगाडि बढाउन निर्देशन दिइएको बताए।

निर्माण कम्पनीबाट अहिलेसम्म भएका सुरुङसँग सम्बन्धित कामको गुणस्तर जाँचबुझ तथा समीक्षा गर्न सुरुङ खन्ने काम केही समयको लागि रोकिएको थियो। तर यो प्रक्रिया सधै हुने व्यवस्था हो,' उनले भने, 'परामर्शदाताहरु भनेकै गुणस्तर जाँचबुझ तथा समीक्षा गर्नका लागि नियुक्त गरिएको हो।'

अहिलेकै गुणस्तर तथा गतिमा कामलाई अगाडि बढाइने भएको छ।परामर्शदाताको रिपोर्ट अनुसार गुणस्तरहीन काम नभएको तर सामाग्री ल्याउन ढिला गरेको पाइएको उनले बताए। दुई वटा प्याकेजमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र पोली च्याङ्दा इन्जिनियरिङ कर्पोरेसनले काम गरिरहेका छन्। उनका अनुसार फास्ट ट्रयाकको परामर्शदाता योसिन इन्जिनियरिङ कर्पोरेसन-कोरिया एक्सप्रेस वे कर्पोरेसन एण्ड पियोङ्वा इन्जिनियरिङ कन्सल्टेन्ट जेभीले सुरुङको काम रिभ्यू गरेको थियो।

हालसम्म आयोजनामा निर्माण हुने सुरुङमार्ग खन्ने काम २५ मिटर सकिएको छ। आयोजनले गत वर्षको चैतदेखि सुरुङ खन्ने काम सुरु गरेको थियो।

दुवै प्याकेजको सुरुङ निर्माणको ठेक्का २०७८ वैशाख ३१ मा चिनियाँ कम्पनीले पाएका हुन्। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले पाएको ठेक्कामा छोक्रेडाँडादेखि धेद्रेसम्म ३.३५५ किलोमिटर सुरुङ निर्माणको जिम्मेवारी छ। जसको ठेक्का रकम २१ अर्ब ६१ करोड रुपैयाँ छ। यसैगरी पोली च्याङ्दाले धेद्रेदेखि लेनडाँडासम्म ३.०३ किलोमिटर सुरुङ निर्माण गर्ने ठेक्का पाएको छ। यो खण्डको ठेक्का रकम २८ अर्ब ५३ करोड छ।

फास्ट ट्रयाक निर्माणको काम हालसम्म १६ प्रतिशत सकिएको र बाँकी पुल तथा सुरुङमार्गको काम सकिएपछि ६० प्रतिशत काम सकिने सिलवाल बताउँछन्। सेनाले आयोजना निर्माणका लागि अनुमानित रकमको १० प्रतिशत रकम मात्र हालसम्म खर्च भएको जनाएको छ।

समग्र आयोजनाको निर्माण समयावधि २०८१ मंसिर मसान्तसम्म मात्र छ। आयोजनाको चालु आर्थिक वर्षमा थप ५।१० किलोमिटर सडक निर्माणको काम गर्ने लक्ष्य रहेको सिलवालले बताए।

फास्ट ट्रयाक अन्तर्गत हालसम्म ३२ अर्ब रुपैयाँ खर्च भइसकेको छ। यसको भौतिक प्रगति १९.८३ प्रतिशत मात्र छ। २०७१ वैशाख १ मा नेपाली सेनाले फास्ट ट्रयाक निर्माणको जिम्मा पाएको थियो। डीपीआर अनुसार निर्माणको अनुमानित लागत २ खर्ब १३ अर्ब रुपैयाँ छ। चालु आर्थिक वर्षमा फास्ट ट्रयाक निर्माणका लागि ३० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ।