काठमाडौं। जग्गाको मूल्यांकन नै कम भएको क्षेत्रमा जेठमा लिखत पारित बढ्दा राजस्व भने घटेको छ। राजस्व कम उठ्ने दुर्गम तथा ग्रामीण क्षेत्रमा घरजग्गाको लिखत पास बढ्दा संख्या बढी देखिए पनि राजस्व असुली कम भएको हो।
‘दुर्गम तथा ग्रामीण क्षेत्र जहाँ सरकारी मूल्यांकन नै कम छ त्यतातिरको जग्गा कारोबार बढी भएको छ। जसको प्रत्यक्ष असर राजस्व संकलनमा परेको छ,’ भूमि व्यवस्थापन तथा अभिलेख विभाग हरिप्रसाद देवकोटाले बिजमाण्डूसँग भने।
जेठमा घरजग्गा कारोबार बढे पनि राजस्व निरन्तर घटेको छ। वैशाखमा ह्वात्तै घटेको घरजग्गा कारोबार जेठमा भने केही बढेको देखिए पनि सरकारलाई राजस्व भने घटेको हो।
घरजग्गा कारोबारमा प्रवाह हुने बैंकिङ कर्जामा कडाइ, ब्याजदर वृद्धिसँगै सरकारले भू-उपयोग नियमावलीमार्फत् कित्ताकाट गर्न न्युनतम क्षेत्रफल बढाउने निर्णय गरेपछि त्यसको प्रत्यक्ष असर घरजग्गा कारोबारमा देखिएको छ।
भू-उपयोग नियमावली राजपत्रमा प्रकाशित भएपछि गत जेठ २७ गते भूमि व्यवस्था मन्त्रालयले गरेको पत्राचारपछि घरजग्गा धितो रोक्का गरी ऋण लिने काम पनि ठप्प भएको छ। जसका कारण विगत तीन दिनदेखि घरजग्गा क्षेत्रमा बैंकहरुले दिने ऋण बन्द छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार जेठमा घरजग्गाको लिखत पारित बढेर ५४ हजार ५ सय १४ पुगेको छ। वैशाखमा भने देशभर घरजग्गा कारोबार ह्वात्तै घटेको थियो। वैशाखमा २६ हजार २७ ले लिखत पारित घटेर ४४ हजार ८ सय ३ मा आइपुगेको थियो। जेठमा भने लिखत पारित ९ हजार ७ सय ११ ले बढेको छ।
चैतमा ३२ सय ६ लिखत पारित घटेर ७० हजार ८३० मा झरेको थियो। गत फागुनमा देशभरका मालपोत कार्यालयहरुबाट ७४ हजार ३६ लिखत पारित भएको थियो। फागुनमा तरलता संकट र ब्याजदर बढ्दासमेत घरजग्गा कारोबार बढेकोमा चैतयता वैशाखमा भने घटेको थियो। गत पुस र माघ महिनामा पनि कारोबार घटेको थियो। फागुनमा कारोबारले लय सामात्दा चैत र वैशाखमा भने घरजग्गा कारोबारसँगै राजस्व संकलन पनि घटेको थियो।
गत पुसमा ७० हजार १६८ रहेको लिखत पारित माघमा घटेर ५९ हजार ५१६ पुगेको थियो। फागुनमा लिखत पारित ह्वात्तै बढेको थियो। फागुनमा बढेर ७४ हजार ३६ पुगेको थियो। माघको तुलनामा फागुनमा लिखत पारित १४ हजार ५२० ले बढेको थियो।
पुसमा ७० हजार १६८ रहेको लिखत पारित माघमा घटेर ५९ हजार ५१६ पुगेको थियो। फागुनमा बढेर ७४ हजार ३६ पुगेको विभागले जनाएको छ। अधिकांश मालपोत कार्यालयबाट हुने लिखत पारित महिनैपिच्छे घट्दै गएकोमा फागुनमा भने उकालो लागेको थियो। पुसको तुलनामा माघमा घरजग्गाको लिखत पारित १० हजार ६ सय ५२ ले घटेको थियो।
भूमि व्यवस्थापन विभागका अनुसार जेठमा सबैभन्दा धेरै लिखत पारित इनरुवा मालपोत कार्यालयबाटै भएको छ। इनरुवाबाट २६४५ लिखत पारित भएको छ। वैशाखमा पनि इनरुवा मालपोत कार्यालयबाटै धेरै २०६४ लिखत पारित भएको थियो। चैतमा यो कार्यालयबाट ३५२३ लिखत पारित भएको थियो।
इनरुवा पछि बेलबारीबाट २२७४, भद्रपुरबाट २१५५, जनकपुरबाट १९७९, नेपालगञ्जबाट १७७६, लगनखेलबाट १४४५, भक्तपुरबाट १३१५, तौलिहवाबट १२२९, राजविराजबाट १२२०, विराटनगरबाट ११८९, पर्साबाट ११७३, चितवनबाट ११७०, तुलसीपुरबाट ११२०, दमकबाट ११०९, मकवानपुरबाट १०९७ लिखत पारित भएको छ।
कलैयाबाट १०७८, काभ्रेबाट १०४८, जलेश्वरबाट १०४८, मलंगवाबाट १०३७, घोराहीबाट १०३४, कलंकीबाट १०२४ र लाहानबाट १००० लिखत पारित भएको छ।
जेठमा ४.२४ अर्बमा झर्यो घरजग्गाबाट उठ्ने राजस्व
तरलता अभावसँगै घरजग्गाको अस्वाभाविक र अनियन्त्रित मूल्यका कारण जेठमा पनि सरकारले राजस्व कार्यालयहरुबाट उठाउने राजस्वमा पनि धक्का पुगेको छ। सरकारले जेठमा घरजग्गा कारोबारबाट देशभरका मालपोत कार्यालयहरुबाट जम्मा चार अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। वैशाखमा चार अर्ब ७८ करोड रुपैयाँ राजस्व उठेको थियो।
चैतमा सरकारले पाँच अर्ब ७६ करोड रुपैयाँ राजस्व उठाएको थियो। देशभरका अधिकांश मालपोत कार्यालयहरुले घरजग्गा कारोबारबाट संकलन गर्ने राजस्व जेठमा पनि घटेको छ।
गत माघमा सरकारले घरजग्गाबाट ५ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन गरेकोमा फागुनमा बढेर ६ अर्ब २६ करोड संकलन गरेको थियो। मंसिरमा घरजग्गा कारोबारबाट राज्यले ७ अर्ब ६ करोड ६५ लाख रुपैयाँ संकलन गरेकोमा पुसमा घटेर ६ अर्ब ७० करोड रुपैयाँमा थियो। माघमा फेरी घटेको राजस्व फागुनमा भने उकालो लागेको थियो। पुन: चैतयता भने घट्दै गएको छ।
जेठमा लगनखेल मालपोतबाट ३७ करोड २४ लाख, डिल्लीबजारबाट २७ करोड ४७ लाख, कलंकीबाट २३ करोड २० लाख, भक्तपुरबाट २२ करोड ४५ लाख, चाबहिलबाट २१ करोड ७८ लाख, चितवनबाट ११ करोड २४ लाख र कास्कीबाट १० करोड ७० लाख रुपैयाँ राजस्व संकलन भएको छ।
देशका सबै मालपोत कार्यालयलाई उछिन्दै भक्तपुर मालपोतले वैशाखमा धेरै राजस्व संकलन गरेको थियो। घरजग्गा कारोबारबाट भक्तपुर मालपोतले ८१ करोड २२ लाख रुपैयाँ उठाएको थियो। चैतमा भक्तपुर मालपोतले जम्मा ३२ करोड ४० लाख रुपैयाँ उठाएको थियो। भक्तपुरपछि लगनखेल मालपोतले ४२ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। चैतमा लगनखेलले ५८ करोड ४५ लाख रुपैयाँ उठाएको थियो।
डिल्लीबजारले २७ करोड ७१ लाख, कलंकीले २७ करोड १५ लाख, चाबहिलले २४ करोड ८८ लाख, कास्कीले ११ करोड १४ लाख, चितवनले १० करोड ४५ लाख, मनमैजुले १० करोड ३४ लाख, साँखुले १० करो २५ लाख रुपैयाँ राजस्व उठेको थियो।
चैतमा डिल्लीबजारले ४० करोड ५० लाख रुपैयाँ संकलन गरेको थियो। चैतमा चाबहिलले ३० करोड ३६ लाख रुपैयाँ, मनमैजुले १४ करोड ६८ लाख, चितवनले १३ करोड ७६ लाख रुपैयाँ, साँखुले ११ करोड ५८ लाख रुपैयाँ, कास्कीले ११ करोड ५६ लाख रुपैयाँ राजस्व संकलन गरेका थिए।