काठमाडौं। रसुवागढी हाइड्रोवापर कम्पनी लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सेयर निष्काशन (आईपीओ) गरेको तीन वर्षपछि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर जारी गर्ने भएको छ।
कम्पनीले रसुवा जिल्लाका स्थानीयबासीका लागि ६८ करोड रुपैयाँभन्दा बढीको आईपीओ जारी गर्ने भएको हो।
कम्पनी नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट कम्पनीले जेठ ३१ मा स्थानीयका लागि आईपीओको अनुमति पाएको हो। यससँगै अब निकट भविष्यमै हाइड्रोपावरले स्थानीयका लागि अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ जारी गर्ने जनाएको छ।
रसुवागढीले जारी पुँजीको १० प्रतिशतले हुन आउने ६८ करोड ४२ लाख १० हजार रुपैयाँबराबरको ६८ लाख ४२ हजार १०० कित्ता सेयर स्थानीयलाई जारी गर्नेछ। यसका लागि सिद्धार्थ क्यापिटललाई कम्पनीले बिक्री प्रबन्धक नियुक्त गरेको छ।
यसअघि कम्पनीले सर्वसाधरणका लागि २०७६ वैशाख ६ मा अंकित मूल्य १०० का दरले १ करोड २ लाख ६३ हजार १५० कित्ता सेयर जारी गरेको थियो।
त्यसमध्ये चार लाख १० हजार ५२६ कित्ता कम्पनीका कर्मचारीलाई, पाँच लाख १३ हजार १५७ कित्ता सेयर सामुहिक लगानी कोषलाई र बाँकी रहेको ९३ लाख ३९ हजार ४६७ कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो।