BIZMANDU
www.bizmandu.com

तीन युवाको मिसन ‘डेलिस डेरी’: ग्रीक योगर्टले एकवर्षमै लोकप्रिय, अब नेपालको दही विश्वलाई चखाउँदै

२०७९ जेठ २९

काठमाडौं। चितवनका दुई युवाको भेटको संयोग जुर्‍यो भारत पुगेर। विनय बोगटी र सन्दीप पौडेल दुवै चितवनबाट अध्ययनका लागि दिल्ली गएका थिए। दिल्ली विश्वविद्यालयमा अध्ययनरत विनय र दिल्लीमै चार्टर्ड अकाउन्टेन्ट (सीए) पढिरहेका सन्दीपको त्यहाँ बनेको ‘दिल्लीवाला दोस्ती’ बलियो बन्दै गयो।

Tata
GBIME
Nepal Life

उच्च शिक्षाका लागि भारत पुगेका दुवैजना नेपालमै केही गर्ने अठोटले फर्किए। अमेरिकाबाट फर्किएका संखुवासभाका सूर्य कार्की पनि नेपालमै केही गर्ने भोकका साथ आइपुगेका थिए। सूर्य दिल्लीवाले दोस्तीमा त्रिवेणी बनेर मिसिन पुगे। उनी विनयका स्कुले साथी थिए, जसलाई जोडेको थियो बुढानिलकण्ठको स्कुले जीवनले। 

आफ्नै केही थाल्ने सोचमा रहेका तीन जनाको ‘वेभ लेन्थ’ मिल्‍यो। तीनैजना उही उमेरका हुनु सोचमा यो वेभ लेन्थको एउटा कारण थियो। नतिजा – ३० वर्षे यी तीन युवाले  जन्माए डेरी स्टार्टअप ‘डेलिस’। यो नेपालकै पहिलो ग्रीक योगर्ट कम्पनी हो।

डेलिस ग्रीक योगर्ट एक किसिमको दही हो। यसमा प्रोटिन र क्याल्सियमको मात्र बढी र फ्याट तथा चिनीको मात्रा निकै कम हुन्छ। यसलाई धेरैले ओट्स, कर्नफ्लेक्स लगायत ब्रेकफास्टको कम्बिनेसनमा निकै रुचाएको विनयको भनाइ छ। साथै, बच्चाहरूका लागि यो आइसक्रिमको स्वस्थकर विकल्प भएको पनि उनी बताउँछन्।

नेपालमै केही गर्ने भोकले जन्मियो ‘डेलिस’ 
नेपाल फर्किएपछि सन्दिप सीएको रुपमा काम गर्दै थिए। सूर्य नेपालको दूर्गममा विद्यालय पूर्वाधार विकासमा सक्रिय संस्था ‘युनाइटेड वर्ल्ड स्कुल्स नेपाल’ मा आबद्ध थिए। विनय संयुक्त राष्ट्रसंघमा काम गर्दै थिए। 

तीनै जनालाई एक ठाउँमा जोड्ने सेतु थिए विनय। विदेशबाट फर्केपछि विनयले आफ्ना दुई मिल्ने साथीलाई चिनजान गराउन २०७५ मा एउटा जमघट आयोजना गरे। 

विनय भन्छन्, ‘हामीसँगै भएपछि नेपालमा नै केही गर्ने भोकले विदेशको सुखसुविधा त्यागेर फर्किएको तीनै जनालाई अनुभूति भयो। कृषि, नवीनतम सोच र खाद्यवस्तुलाई जोडेर नेपालमा केही गर्ने व्यापार दृष्टि पनि मिल्यो।’

सूर्यले अमेरिकाबाट सस्टेनेबल बिजनेसमा स्नातक गरेका हुन्। त्यसअघि उनले भेनेजुएलामा तीन वर्ष कृषि विज्ञान अध्ययन गरेका थिए। कृषिमा गहिरो रुचि भएका सूर्य थप्छन्, ‘हामीले सुरु सुरुका भेटमा नै नेपालको कृषि क्षेत्रलाई प्रवर्द्धन गर्ने नवीनतम फुड प्रडक्टमा काम गर्ने निधो गरेका थियौं। हामीले डेरीसम्बन्धी केही गर्न सकिन्छ कि भनेर पनि सोच्यौँ। तर त्यो खाद्य उत्पादन के हुनेछ भन्ने टुंगो लगाउन बाँकी नै थियो।’

भौतिक रूपमा भेट नहुँदा पनि उनीहरूले भर्चुअल माध्यमबाट समेत सम्भाव्य विभिन्न प्रडक्टबारे छलफल जारी राखे। तीनैजनाले कृषिसँग निकट कुन खाद्य उत्पादनमा काम गर्न सकिन्छ भनेर तीनैजनाले आ-आफ्नो स्तरबाट अध्ययन पनि गरे। 

डेलिस जन्मनुअघिलाई सूर्य सम्झन्छन्, ‘हाम्रो उत्पादन नेपालका लागि नयाँ साथै पोषणयुक्त र स्वादिष्ट पनि हुनुपर्‍यो भन्नेमा एकमत थियो। विश्वसमुदायमा कृषिसम्बन्धी यस्तो उत्पादन के छ भनेर अध्ययन गर्दा युरोप र अमेरिकामा निकै प्रचलित ग्रीक योगर्ट छ भन्ने थाहा पायौं। यसलाई  विश्व खाद्य संघले सुपरफुडको संज्ञा पनि दिएको छ। ग्रीक योगर्टमा हाम्रो विशेष रुचि भयो र पाँच महिनापछि भएको हाम्रो दोस्रो भेटमा हामीले यसैमा काम गर्ने निधो गर्‍यौं। त्यही भेटमा नै हामीले लगानी, सेयरदेखिका वित्तीय योजना समेत बनायौं।’

नेपालीले सधैं विदेशबाट आयातित उत्पादन मात्रै गुणस्तरीय हुन्छ भन्ने सोचलाई बदल्न पनि यो क्षेत्रमा हात हालेको उनीहरू बताउँछन्। सूर्य थप्छन् ‘हामीमाझ बलियो विश्वासले छुट्टै माहोल बन्यो र त्यो आजसम्म पनि कायम नै छ। जुन हाम्रो टिमको तागत बनेको छ।’

डेलिस डेरीका सहसंस्थापकहरुले कार्यविभाजनमा पनि विचार पुर्‍याएर तीन जनाले फरक फरक जिम्मेवारी लिएका छन्। जसमा विनयले डेरीको उत्पादन हेर्छन् भने सन्दीप अपरेसन र सूर्य मार्केटिङ।

करिब तीन करोड रुपैयाँबाट सुरू भएको डेलिस डेरीमा अहिलेसम्म लगानी १५ करोडको पुगिसकेको सन्दीप बताउँछन्। कम्पनीले अहिलेसम्ममा ९ करोडको व्यापार गरिसकेको पनि उनी बताउँछन्। 

लगानी जुटेपछि सुरु भयो वास्तविक संघर्ष 
ग्रीक योगर्ट प्रडक्टमा काम गर्ने निर्क्यौल भएर लगानी जुटाएपछि बल्ल वास्तविक संघर्ष सुरु भएको उनीहरू बताउँछन्। 

प्रडक्ट निर्क्यौल भए पनि कहाँबाट कसरी काम थाल्ने भन्ने ज्ञान थिएन। विनय राष्ट्रिय दुग्ध विकास बोर्ड पुगे, थुप्रै डेरी प्राविधिकहरूसँग कुरा गरे, इन्टरनेटबाट पनि अध्ययन गरे। 

यसै क्रममा उनीहरू भारतको पुणे र मुम्बईसम्म पनि पुगे। त्यहाँ उनीहरूले ग्रीक योगर्ट बनाउने प्रविधि बुझे, सिके, मेसिनको बारेमा पनि बुझे र नेपाल फर्किए। 

२०७६ असारमा व्यवसायको नाम जुराए – डेलिस डेरी। सो नामको कम्पनी दर्ता गरेर आंशिक पुँजी जम्मा गरेपछि उनीहरू उद्योग स्थापनाका लागि ठाउँ खोज्नतिर लागे। दूधको उपलब्धता तथा आपूर्ति र बजारको केन्द्रमा पहुँचका दृष्टिले उपयुक्त ठाउँ देखे – चितवन, जुन डेलिस डेरीका तीनमध्ये दुई संस्थापकको घरबाट नजिकसमेत थियो। यसैले चितवनमा नै एक बिघा जमिन खरिद गरे। 

त्यसैबीच, डेरी प्लान्ट कत्रो र कस्तो लिने, संरचना कस्तो बनाउनेदेखि प्रडक्टको प्याकेजिङ, डिजाइनिङ, मार्केटिङ लगायतका कामहरू पनि सँगसँगै गरेको सन्दिप बताउँछन्। उनी सम्झन्छन्, ‘हामी प्याकेजिङको बारेमा बुझ्न चीन पनि गयौं र हामीले ‘पीपी ५’ फुड ग्रेड प्लास्टिक प्याकेजिङका लागि प्रयोग गर्ने निष्कर्षमा पुग्यौं।’

पुँजी जुटाउन पनि उत्तिकै गाह्रो भएको उनीहरू सम्झन्छन्। सूर्य भन्छन्, ‘डेलिस नेपालको पहिलो ग्रीक योगर्ट भएकोले त्यसको मार्केट बैंकलाई पनि थाहा नभएको र हामीमा पनि विवेकी अनुमान मात्रै थियो। त्यसैले पनि  बैंकसँग डिल गरेर विश्वास दिलाउनु निकै कठिन भएको थियो।’

उद्योग दर्ता भएको करिब एक वर्षपछि २०७७ असारबाट उद्योगको संरचना बनाउन प्राविधिक तथा कामदारसहित उनीहरू आफैं फिल्डमा खटे। सन्दिप भन्छन्, ‘त्यतिबेला कोभिडको आतंक फैलिएको थियो र वर्षाको सिजन पनि थियो। तैपनि हामी दिन रात खटिएर ६ महिनामा उद्योगको पूरा संरचना खडा गर्‍यौं।’

२०७७ मंसिरमा सबै प्लान्ट (मेसिनहरू) फिट गरेपछि डेलिसको प्रडक्ट जर्नी बल्ल सुरु भयो। विनय सम्झन्छन्, ‘योगर्ट बनाउन विशेषखाले वातावरण र रेसिपी चाहिन्छ। थोरै पनि समाग्रीहरू तल-माथि हुनेबित्तिकै बन्दैन। हामीलाई पर्फेक्ट योगर्ट उत्पादन गर्न ६ महिना लाग्यो। त्यसबीच एक समय त यस्तो पनि आयो कि अब हामीबाट यो हुँदैन भनेर निराश भएका थियौं। तर हार मानेनौं। बरु विज्ञहरूको सहायतासमेत लिँदै अन्ततः केही महिनाको कोसिसपछि ग्रीक योगर्ट उत्पादनमा सफल भयौं।’

यसैक्रममा उनीहरूले उद्योगलाई चलायमान बनाउन पञ्चमी ब्रान्डमा दही, मोही, घ्यू, पनिर, चिज लगायतका डेरी प्रडक्ट उत्पादन गरेर चितवन र नवलपरासीका विभिन्न ठाउँमा बिक्री गर्न थालेका छन्। 

आफूमध्ये कोही पनि व्यावसायिक घरानाबाट नभएको र पहिलोपटक व्यवसाय गर्दै गरेकाले निकै कठिनाइको सामना गर्नु परेको उनीहरू बताउँछन्। 

‘कयौं चुनौतीमध्ये डेलिस ग्रीक योगर्टलाई नेपाली बजारमा स्थापित गर्नु सबैभन्दा कठिन थियो। हामीले २०७८ को वैशाखमा नमुनाका लागि ८०० कप योगर्ट बनायौं र त्यसलाई परीक्षण गर्न काठमाडौं आयौं,’ सूर्य भन्छन्, ‘राजधानीका ठूला र नाम चलेका  मार्ट तथा सुपरमार्केटहरुमा योगर्ट टेस्ट गराउँदै राखिदिन अनुरोध पनि गर्‍यौं। तर कुनै पनि सुपरमार्टले त्यति सहजै राखिदिन रुचि देखाएनन्।’

अन्ततः ललितपुरको ‘निना एन्ड ह्यागर’ ले उनीहरुको निराशा मेट्यो। विशेषगरी गुणस्तरीय र स्वस्थकर प्रडक्ट मात्र राख्ने सो मार्टले डेलिसको ग्रीक योगर्ट आफ्नो मापदण्डअनुसार उपयुक्त भएको पाएपछि राख्न स्थान दिएको सूर्य सम्झन्छन्। ‘निना एन्ड ह्यागर’ बाट पाएको त्यो ग्रीन सिग्नल उनीहरुको यो जर्नीमा खास र यादगार छ। त्यसलाई उनीहरु आफ्नो उत्पादनको सही मूल्यांकन भएर बजार प्रवेशको प्रस्थान विन्दु मान्छन्। 

त्यसपछि भने डेलिस ग्रीक योगर्ट  भाटभटेनी, बिगमार्ट, सेल्सबेरी लगायत स्टोरमा पनि पुग्न थाल्यो। र, अहिले डेलिस छोटो समयमा नै नेपाली ग्रीक योगर्टको परिचित ब्रान्ड बन्न सफल भइसकेको छ।

डेलिसको ग्रीक योगर्ट अहिले क्लासिक, स्ट्रबेरी, मिक्सबेरी र आँप गरी चारथरी स्वादमा बजारमा उपलब्ध छ। यसको मूल्य १२५ ग्रामको १३५ रूपैयाँ राखिएको छ। प्राकृतिक स्वाद मात्र प्रयोग गरेर डेलिस ग्रीक योगर्ट बनाउने गरेको उनीहरूको दाबी छ। 

यस्तै, डेलिसले ४०० ग्राममा क्लासिक सुगर-फ्रीको फ्यामिली प्याक पनि ल्याएको छ। सबै उत्पादनको प्रयोग अवधि १५ दिनको हुने बताइएको छ। निकट भविष्यमा डेलिस ग्रीक योगर्टमा नयाँ स्वाद र प्रडक्ट लाइनहरु पनि थप्ने योजनामा काम गरिरहेको यसका संस्थापकत्रय बताउँछन्।
सामान्य दहीभन्दा किन निक्कै महँगो भन्ने प्रश्नमा विनय भन्छन्, ‘यसमा करिब ६ ओटा अण्डामा हुनेभन्दा बढी प्रोटिन हुन्छ। त्यति बराबरको प्रोटिनका लागि सामान्य ब्रेकफास्ट गर्न पनि १५० रुपैयाँभन्दा माथि नै पर्छ र त्यो पनि स्वस्थकर  हुन्छ भन्ने छैन। तर डेलिस ग्रीक योगर्ट एउटै प्रोडक्टबाट स्वाद, पोषण पनि पाइन्छ र पेट पनि भरिन्छ।’

ठूला घरानाका उद्योगीबाट लगानी प्रस्ताव
१५ जना कर्मचारीबाट सुरु गरेको डेलिस ग्रीक योगर्टमा अहिले ५० जनाको टिम पुगिसकेको छ। यसले अहिले दैनिक चार हजार लिटर दूध प्रशोधन गरेर योगर्ट उत्पादन गर्छ। हाल सातामा १० हजार कप ग्रीक योगर्ट उत्पादन गर्दै आएको छ।

डेलिसको ग्रीक योगर्टले परीक्षण उत्पादन थालेको एक वर्ष हाराहारीमै काठमाडौं, पोखरा, बुटवल, चितवन, हेटौंडा लगायत विभिन्न शहरमा आफ्नो बजार बनाइसकेको छ। यी शहरका सुपरमार्केट, मार्ट र स्टोरहरूमा डेलिस ग्रीक योगर्ट मजाले पाइन थालिसकेको छ। यही महिना ललितपुरमा ‘डेलिस ग्रीक योगर्टको पार्लर’ आउटलेट खोल्ने तयारी पनि अन्तिम चरणमा पुगेको छ।

कम समयमै बजारमा राम्रो भिजिबिलिटी बनाएकाले अहिले डेलिस डेरीमा लगानीका लागि नेपालका ठूला व्यवसायिक घरानाका व्यक्तिहरुले पनि लगानी प्रस्ताव गरिरहेको यसका संचालकत्रय बताउँछन्। 

सूर्य, विनय र सन्दीपको जो समूहको ऊर्जा, भिजन, समर्पण र छोटो अवधिमै हासिल गरेर देखाएको नतिजाबाट ठुला लगानीकर्तालाई समेत आकर्षिक गरेको हो। सूर्य भन्छन्, ‘हामीसँग मिलेर काम गर्न ठुला व्यावसायिक घरानाका उद्योगीहरू पनि जोडिन अत्यन्त रुचि देखाइराख्नु भएको छ। यो हाम्रो लागि सकारात्मक कुरा हो, तर यसबारे हामीले अहिले कुनै पनि निष्कर्ष बनाएका छैनौं।’

कम समयमै हासिल गरेको यो सफलताबाट यसका संचालकहरु सन्तुष्ट भने छैनन्। बजारमा अझ फैलिने भोक यति गाढा छ कि लक्ष्य चाँडै डेलिसको उत्पादनलाई विश्व बजारसम्म पुर्‍याउने रहेको सुनाउँछन् सूर्य।  

उत्साहित हुँदै उनले योजना सेयर गरे, ‘डेलिसको उत्पादनलाई चाँडै विश्व बजारमा पुर्‍याउनका लागि केबल लक्ष्य मात्र राखेका छैनौं, यसमा हामीले काम समेत गरिरहेका छौं।’