BIZMANDU
www.bizmandu.com

भारतमा पाँच दिनमै तयार भयो ७५ किलोमिटर लामो कालोपत्रे राजमार्ग, तोडियो कतारको विश्व कीर्तिमान

२०७९ जेठ २५

भारतमा पाँच दिनमै तयार भयो ७५ किलोमिटर लामो कालोपत्रे राजमार्ग, तोडियो कतारको विश्व कीर्तिमान
भारतमा पाँच दिनमै तयार भयो ७५ किलोमिटर लामो कालोपत्रे राजमार्ग, तोडियो कतारको विश्व कीर्तिमान

काठमाडौं। भारतले ७५ किलोमिटर लामो कालोपत्रे सहितको राजमार्ग पाँच दिनमै तयार पारेको छ। यससँगै सबैभन्दा कम अवधिमा सडकको लामो दुरी निर्माण गर्ने रेकर्डमा भारतले कतारलाई उछिनेको छ।

Tata
GBIME
Nepal Life

भारतका केन्द्रीय मन्त्री नितिन गडकरीले भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण (एनएजएआई) ले १०५ घण्टा ३३ मिनेट अर्थात् पाँ दिनमै एउटै लेनमा ७५ किलोमिटर लामो दुरीको कालोपत्रे सडक बनाएर नयाँ गिनिज वर्ल्ड रेकर्ड बनाएको खुलासा गरेका छन्।

ट्विटरमा अपलोड गरिएको एक भिडियो सन्देशमा गडकरीले भारतको स्वतन्त्रताको ७५ वर्षको सम्झना र प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको 'आजादीका अमृत महोत्सव'को औचित्यमा एनएजएआईले विश्व कीर्तिमान बनाएको बताएका छन्। यसलाई गिनिज वर्ल्ड रेकर्ड्सले प्रमाणित समेत गरेको उनले उल्लेख गरेका छन्।

अमरावती र अकोला जिल्लाबीचको राष्ट्रिय राजमार्ग नं ५३ मा एउटै लेनमा उक्त राजमार्गको ७५ किलोमिटर पाँच दिनमा कालोपत्रे गरेर नयाँ कीर्तिमान बनेको हो।

यसअघि गिनिज वर्ल्ड रेकर्डमा सबैभन्दा लामो लगातार निर्माण गरिएको कालोपत्रे सडक २५.२७५ किलोमिटरको थियो। २०१९ फेब्रुअरीमा कतारको दोहामा निर्माण भएको उक्त सडको काम पूरा हुन १० दिन लागेको थियो।

७५ किलोमिटर सिंगल-लेन निरन्तर कालोपत्रे गरिएको सडक दुई लेनको पक्की सडकको ३७.५ किलोमिटर मान्न सकिन्छ। यसको निर्माण कार्य जुन ३, २०२२ मा बिहान ७:२७ मा सुरु भएको थियो भने २०२२ जुन ७ को साँझ ५ बजे समाप्त भएको हो।

यो दुरीको सडक तयार पार्न २ हजार ७० मेट्रिक टन बिटुमिनसहित ३६ हजार ६३४ मेट्रिक टन बिटुमिनस मिक्सको प्रयोग गरिएको बताइएको छ।आयोजनामा ​​७२० जनाले काम गरेको र स्वतन्त्र परामर्शदाताको टोलीले अहोरात्र खटेर काम सम्पन्न गरेको गडकरीले बताएका छन्।

राष्ट्रिय राजमार्गको ५३ नम्बर खण्डलाई उनले अमरावतीलाई अकोला खण्डमा विस्तार गरेका छन्, जुन कोलकात्ता, रायपुर, नागपुर र सूरत जस्ता प्रमुख शहरहरू जोड्ने महत्त्वपूर्ण पूर्व-पश्चिम करिडोर हो। यो सडकले यस रुटमा ट्राफिक र मालवस्तु ढुवानीको समय कम गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

गडकरीले एनएजएआई र राज पाथ इन्फारकन प्रालि लगायतका इन्जिनियरहरू, ठेकेदारहरू, सल्लाहकारहरू र कामदारहरूलाई परियोजनाको कुशल कार्यान्वयनका लागि प्रशंसा सहित विश्व रेकर्डको कायम गर्न सफल योगदान पुर्याएकोमा धन्यवाद समेत दिएका छन्।