काठमाडौं। नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषण (रेमिटेन्स) भुक्तानी विप्रेषण सेवा प्रदायकहरुको प्रणाली मार्फत नै हुनुपर्ने निर्देशन जारी गरेको छ।
आन्तरिक विप्रेषणको दैनिक प्रतिव्यक्ति प्रतिकारोबार भुक्तानीको सीमा भने राष्ट्र बैंकले यथावत राखेको छ। यो सीमा अहिले २५ हजार रुपैयाँ छ।
गत फागुन १८ मा राष्ट्र बैंकले अनुमतिप्राप्त विप्रेषण कम्पनी तथा उक्त कम्पनीका सब-एजेण्ट वा सबरिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्दा एकजनाले एउटा कारोबारवापत दिनमा बढीमा २५ हजार रुपैयाँसम्म मात्र स्थानन्तरण गर्न पाउने व्यवस्था गरेको थियो। त्यसअघि यो सीमा एक लाख रुपैयाँ थियो।
केन्द्रिय बैंकले सोमबार जारी गरेको निर्देशनमा भनिएको छ – 'हाल विप्रेषण कम्पनी तथा उक्त कम्पनीका सब-एजेण्ट वा सबरिप्रिजेन्टेटिभहरुले आन्तरिक विप्रेषणको कारोबार नगद भुक्तानी/बैंक खाता/विद्युतीय वालेट लगायत जुनसुकै माध्यमबाट गर्दा सम्बन्धित विप्रेषण कम्पनीको प्रणाली अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने छ।'