काठमाडौं। सरकारले आगामी बर्षको बजेट ल्याएदेखि सेयर बजार निरन्तर घटिरहेको छ। बजारमा पैसा उपलब्ध हुने खालको कार्यक्रम नआएको बरु स्रोत बीनाको महत्वकांक्षा मात्र ल्याएको अवस्थामा लगानीकर्ता निरास भएका छन्।
बाह्य क्षेत्र असन्तुलन कायम रहिरहेका कारण राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउने विश्लेषण लगानीकर्ताको छ। एकातिर नयाँ पैसा नआउने र अर्कोतिर कसिलो नीतिको चेपुले बजार निरन्तर घटेको हो।
तरलता संकटले गर्दा अहिले हरेक महिना ऋणको ब्याज बढिरहेको छ। उत्पादनमूलक क्षेत्रम ऋण उपलब्ध नभइरहेका बेला सेयर बजारले पैसा पाउने अवस्था पनि छैन। चौतर्फी कारणले बजार घटेको हो।
गत साताको पहिलो कारोबारी दिन सोमबारदेखि निरन्तर घट्दै आएको नेप्से यो साताको पहिलो कारोबार दिन पनि निरन्तरता पाएको छ।
गत साता मात्र नेप्से १४५ अंक भन्दा बढिले घटेको थियो। यसरी निरनतर घट्ने क्रमलाई सेयर बजारको भाषामा ‘वियरिस ट्रेण्ड’ भनिन्छ।
यसरी निरन्तर बजार घटेपछि सोमबार बजार करेक्सन हुने आशमा बसेका लगानीकर्ता खुसी हुन सकेनन्। दिनभर लामो समय करेक्सन हुँदै कारोबार भएको बजार अन्तमा दोहोरो अंकले घटेर बन्द भएको हो।
सोमबार नेप्से १२.९२ अंकले घटेर २०६५.७८ बिन्दुमा पुगेको छ। आज सेन्सेटिभ पनि ३.१२ अंकले घटेर ४००.३६ बिनदुमा पुगेको छ।
कारोबारमा आएका १३ उपमुहमध्ये ७ उपसमुहको घटेका छन्। आज वाणिज्य बैंक उपसमुह १ प्रतिशतभन्दा धेरै र जीवन बीमा उपसमुह २ प्रतिशतभन्दा धेरै अंकले घटेका छन् भने कारोबारमा आएका ६ उपसमुह सामान्य अंकले बढेका छन्।
सोमबार कारोबारमा आएका २२८ कम्पनीको ४४ लाख ९ हजार ६९१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २७६ रुपैयाँको कारोबार भएको छ। यसैगरी कारोबारमा आएका कम्पनीमध्ये ९७ कम्पनीको सेयर मूल्य घटेको छ। ८७ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको मूल्य स्थीर छ।
बजार घटेपनि उपकार लघुवित्त र बलेफी हाइड्रोपावरका लगानीकर्ता आज मालामाल भएका छन्। यि दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेसँगै लगानीकर्ताले १० प्रतिशत मुनाफा हात पारेका हुन्।
यसैगरी करिब एक वर्षपछि कारोबारमा आएको हिमालयन बैंक लिमिटेडेडको सेयर मूल्यमा सोमबार नकारात्मक सर्किट लागेको छ। यस्तै एसिएन लाइफ इन्स्योरेन्स कम्पनीको सोमबार सर्वाधिक कारोबार भएको छ। कम्पनीको ८ करोड २४ लाख ७७ हजार बढीको कारोबार भएको हो।