BIZMANDU
www.bizmandu.com

फेसबुकको माउ कम्पनी मेटामा १४ वर्ष बिताएकी सीओओले पद त्यागिन्, ‘अब अर्को अध्यायतर्फ’

२०७९ जेठ २०

फेसबुकको प्यारेन्ट कम्पनी मेटा प्लाटफर्मको प्रमुख संचालन अधिकृत शेरिल स्यान्डबर्गले आफ्नो पदबाट राजीनामा दिएकी छन्। फेसबुकबाट गत वर्ष मेटामा रिब्रान्डिङ भएको कम्पनीमा शेरिल दोस्रो कार्यकारी पदमा थिइन्।

Tata
GBIME
Nepal Life

फेसबुकलाई एउटा सानो स्टार्टअपबाट सोसल मिडिया तथा डिजिटल विज्ञापन जायन्टमा परिणत गर्न महत्वपूर्ण भूमिका खेलेकी शेरिलले कम्पनीका केही ठूला गल्तीहरूको लागि जिम्मेवारी लिँदै आफ्नो पद त्यागेकी छन्।

मेटामा १४ वर्षदेखि प्रमुख संचालन अधिकृतको रुपमा काम गरिरहेकी स्यान्डबर्गले यस अघि गूगलमा पनि काम गरेकी छन् । शेरिलले बुधबार आफ्नो फेसबुक पेजमार्फत पदबाट राजीनामा दिएको कुरा खुलाउँदै लेखेकी छन्, ‘जब मैले २००८ मा यो कामको जिम्मेवारी लिएँ, मलाई आशा थियो कि म यो भूमिकामा पाँच वर्षसम्म रहनेछु। १४ वर्षपछि, मेरो जीवनको अर्को अध्याय लेख्ने समय आएको छ।’

फेसबुकको (अहिले मेटा) विज्ञापन व्यवसायको नेतृत्व गरेकी स्यान्डबर्गले यसलाई वार्षिक १०० बिलियन डलरको पावरहाउसको रूपमा उभ्याएकी छन्।

यद्यपि उनले फेसबुकका लागि गरेका केही व्यावसायिक निर्णयले गलत/मिथ्या सूचना र हेट स्पीचलाई बढावा दिएको खुलासाहरू पनि भएका छन्। साथै उनी टेक उद्योगमा सबैभन्दा प्रख्यात महिला कार्यकारीहरू मध्ये एक भए तापनि उनले प्रायः महिला र फेसबुकका प्रोडक्टहरूबाट हानि भएकाहरूका लागि पर्याप्त काम नगरेको भन्दै निकै आलोचना पनि खेप्नु परेको थियो।

उनको बोल्ने शैली, प्रविधि, व्यवसाय र राजनीतिको क्षेत्रलाई जोड्ने उनको सहज क्षमताले विशेष गरी फेसबुकको प्रारम्भिक वर्षहरूमा निकै महत्वपूर्ण भूमिका खेलेको थियो।

स्यान्डबर्ग र जुकरबर्ग दुवैले स्यान्डबर्गको राजीनामा उनको आफ्नो निर्णय भए/नभएको कुनै संकेत दिएका छैनन्। तर केही वर्ष यता उनलाई केही हदसम्म बेवास्ता गरिएको पनि देखिएको छ। कम्पनीबाट एक वर्ष लामो ब्रेकपछि २०२० मा मुख्य उत्पादन अधिकृतको रूपमा फर्केका क्रिस कक्स जस्ता जुकरबर्ग नजिकका अन्य अधिकारीहरूलाई बढी महत्त्व दिइएको जस्तो देखिएको थियो।

'शेरिल स्यान्डबर्गले फेसबुक, मेटा र बृहत व्यावसाहिक जगतमा ठूलो प्रभाव पारेकी छन्। उनले फेसबुकलाई विश्व-स्तरीय विज्ञापन-खरिद प्लेटफर्म निर्माण गर्न र ग्राउन्ड ब्रेकिङ विज्ञापन ढाँचाहरू विकास गर्न मद्दत गरिन्,' इनसाइडर इन्टेलिजेन्सका विश्लेषक डेब्रा अहो विलियमसनले बताउँछन्।

तर स्यान्डबर्गको मातहतमा फेसबुकले सन् २०१६ को अमेरिकी राष्ट्रपतिको चुनाव, २०१८ मा क्याम्ब्रिज एनालिटिका गोपनीयता डेबाकल, र २०२१मा यूएस क्यापिटलमा भएको दंगा लगायतका ठूला ठूला स्क्यान्डलहरू सामना गर्न परेको पनि उनी बताउँछिन्।

र अब, मेटाले 'प्रयोगकर्ताको वृद्धि र विज्ञापन राजस्वमा मन्दीको सामना गरिरहेको छ जसले अब कम्पनीले निर्माण गरेको व्यवसायिक आधारको परीक्षण गरिरहेको छ। कम्पनीले अब नयाँ बाटो खोज्नुपर्छ, र सायद स्यान्डबर्गको लागि प्रस्थान गर्नेयो उत्तम समय थियो,' विश्लेषक डेब्राको भनाई छ।

स्यान्डबर्गले आगामी हिउँदमा मेटा छोड्दै छिन्। यद्यपि उनी कम्पनीको बोर्डमा भने आबद्ध रहने छिन् । यसै बीच जुकरबर्गले आफ्नो फेसबुक पोस्टद्वारा इन्स्टाग्राम, व्हाट्सएप र मेसेन्जरको मूल कामहरू हेरिरहेका जेभियर मेटाको नयाँ सीओओको रूपमा काम गर्ने जानकारी दिएका छन् ।

जुकरबर्गले लेखेका छन्, 'जेभियर एक परम्परागत सीओओको भूमिकामा हुनेछन् जहाँ उनलाई आन्तरिक र संचालनमा बढी केन्द्रित हुने जिम्मेवारी दिइएको छ। यसले गर्दा हाम्रो कार्यक्षमता अझ प्रभावकारी हुनेछ।'