BIZMANDU
www.bizmandu.com

२ महिनापछि हट्दै कन्स्ट्रक्सन होलिडे, अब निर्माणको काम सुरु हुने


काठमाडौं। निर्माण व्यवसायीले २ महिनादेखि गर्दै आएको कन्स्ट्रक्सन होलिडे हट्ने भएको छ। निर्माण व्यवसायी महासंघले निर्माण सामाग्रीमा भएको अत्यधिक मूल्यवृद्धि, ३५०० आयोजनाको म्याद थप, सार्वजनिक खरिद नियमावलीको ११औं संशोधनका केही त्रुटिहरु सच्याउनुपर्ने लगायतको माग राख्दै गत वैशाख ८ गतेदेखि आन्दोलन गर्न शुरु गरेको थियो।

Tata
GBIME
Nepal Life

उक्त आन्दोलनका क्रममा निर्माणका काम ठप्प पारेर सरकारलाई दबाब दिन कन्स्ट्रक्सन होलिडे थालिएको थियो। निर्माण व्यवसायीका मागमा सरकारले सकारात्मक जवाफ दिएको र सरकारले सम्झौता गरे अनुसार समस्या संबोधन भए आन्दोलनका कार्यक्रम फिर्ता लिने बताए। यी सबै विषयमा लिखित सहमति भएको महासंघका अध्यक्ष रवि सिंहले बताए।

यसै बारेमा लामो समयदेखि छलफल चलिरहेको थियो। सरकार र निर्माण व्यवसायीबीच २ महिनासम्म कुरा मिल्न सकेको थिएन। निर्माण व्यवसायी महासंघ र सरकारबीचको यस अघि बसेका बैठकहरु निष्कर्ष बिना टुंगिएका थिए।

महासंघले राखेको निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि, ३५०० आयोजनाको म्याद थप, सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधनका केही त्रुटिहरु सच्याउनुपर्ने लगायतको सबै माग लिखितरुपमा सम्झौता भएको सिंहले बताए। सबै ठेक्काको म्याद पनि थपिने भएको छ। साना ठेकेदारलाई सहुलियत दिने र मूल्य समायोजन हुने प्रक्रिया अगाडि बढाइने भएको उनले बताए।

यो सबै कुरा संबोधन भएमा अर्को हप्ताबाट लागु हुने उनको भनाइ छ।

सरकारले माग पुरा गर्ने प्रतिबद्धता जनाएपछि निर्माण व्यवसायी काममा फर्किन सक्ने वातावरण बनेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले बताएका छन्। 'हामीले माग पुरा गर्ने भनेका छौं। त्यही अनुसार अगाडि बढ्न निर्माण व्यवसायी पनि तयार भएका हुन,' उनले भने।

यतिबेला निर्माण कार्य तीव्र गतिमा हुने समय हो। मौसमको अनुकूलता र आर्थिक वर्षको अन्त्यसँगै जतिसक्दो पुँजीगत खर्च बढाउनुपर्ने समयमा नै अधिकांश निर्माण कार्य रोकिएका थिए। तर, अब भने निर्माण कार्य सञ्चालन हुने भएको छ। यसले विकास निर्माणका साथै देशको अर्थतन्त्रलाई समेत चलायमान बनाइरहने छ।