
काठमाडौं। सजिलो साथीले बजारमा नयाँ राइड सेयरिङ एप ‘सजिलो’ ल्याएको छ। वैशाख १ गतेदेखि सजिलो साथीले तत्कालका लागि काठमाडौं उपत्यकाका तीन जिल्लामा सेवा दिने गरी नयाँ राइड सेयरिङ एप संचालनमा ल्याएको हो।
वैशाखबाट तीन महिनाका लागि बेटा भर्सनमा सजिलो ल्याएको कम्पनीले तीन महिनापछि पूर्ण भर्सनमा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
पछिल्लो समय नेपाली बजारमा धेरै विदेशी कम्पनीले विभिन्न राइड सेयररिङ एप संचालन गरिरहेका बेला सजिलो साथी भने विशुद्ध नेपाली कम्पनीको सेवा हो।
सजिलो साथीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमिर लामाका अनुसार सजिलोले अहिले उपभोक्ताहरुलाई मोटरसाइकल, ट्याक्सी र सामान बोक्ने हात्ती गाडी को सेवा उपलब्ध गराउँदै आएको बताए।
सीईओ लामाका अनुसार सजिलो साथीले हालका लागि ६ महिनासम्म राइडरहरुलाई कमिसन फ्री गर्ने घोषणा गरेको छ। जसअनुसार आगामी असोज मसान्तसम्म ‘सजिलो’ मा आबद्ध हुने राइडरहरुले कम्पनीलाई कुनै पनि शुल्क बुझाउनु पर्दैन। ६ महिनापछि पनि राइडरहरुलाई फाइदा पुग्ने गरी सेवा दिने योजना तय भएको कम्पनीले जनाएको छ।
लामाका अनुसार सेवाग्राहीले राइड अनुरोध गरेको २.५ मिनेटभित्र कुनै पनि राइडरले अनुरोध स्वीकार नगरेको खण्डमा सेवाग्राहीले सिधै एडमिनलाई फोन गरेर निःशुल्क राइडर बोलाउन सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ। तर त्यस्तो परिस्थितिमा भने राइडर आउन केही समयमा लाग्ने छ।
‘राइडरले अनुरोध स्वीकार नगरेर ग्राहकले सिधै हाम्रो एडमिनलाई खबर गर्दा अर्को राइडर ग्राहकसम्म पुग्न भने लोकेसन हेरेर २० देखि २५ मिनेटसम्म लाग्न सक्छ,’ लामाले भने।
लामाका अनुसार सेवाग्राहीले प्रत्येक राइड प्रयोग गरेबापत २० रुपैयाँ छुट हुने र प्रत्येक १० राइड लिए बापत १५ प्रतिशत क्यासब्याक पाउनेछन्।
सजिलो साथीको सेवा लिन सेवाग्राहीले गुगल प्ले स्टोर र एप स्टोरमा गएर सजिलो साथी सर्च गरी डाउनलोड गरेर सेवा लिन सकिने बताइएको छ।