BIZMANDU
www.bizmandu.com

नयाँ अनलाइन लाइसेन्स फारममा समस्या, राजस्व भुक्तानी प्रणालीदेखि सर्भर डाउन हुनेसम्म

२०७९ जेठ १८

काठमाडौं। यातायात विभागले साढे दुई महिनापछि लाइसेन्सका लागि नयाँ अनलाइन फारम सोमबारदेखि खुलाए पनि फेरि समस्या उत्पन्न भएको छ।

Tata
GBIME
Nepal Life

विभागले उक्त अनलाइन फारम भर्दा राजस्व पनि अनलाइन प्रणालीबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको बताएको थियो। तर नयाँ फारम भर्नेले अनलाइन प्रणालीबाट राजश्व तिर्न आवश्यक पर्ने ओटीपी कोड नै नआएको गुनासो गरेका हुन्।

सुरुमा नयाँ सर्भरलाई राजस्व भुक्तानीका लागि महालेखा नियन्त्रक कार्यालयको सर्भरसँग जोड्नका लागि प्राविधिक समस्या थियो। उक्त समस्या समाधन भएको भन्दै विभागले हिजोबाट नयाँ अनलाइन फारम खुलाएको थियो। अब फेरि त्यही समस्या दोहोरिएको छ।

विभागका अनुसार त्यो समस्या समाधन हुन महालेखा नियन्त्रकको कार्यालयले सिस्टमको सुविधा प्रदान गर्नुपर्ने हुन्छ। विभागको योजना अनुरुप हालका लागि राजस्व भुक्तानी अनलाइन प्रणाली गर्न समस्या भएको सूचना जारी समेत गरिएको छ। यसका लागि विभाग र महालेखा नियन्त्रक कार्यालयका आईटी इन्जिनियरहरुले मिलेर काम गरिरहेका छन्।

तर विभागका एक आइटी इन्जिनियरका अनुसार अनलाइन प्रणालीबाट गरिने राजस्व भुक्तानीको सुविधा भने महालेखाले दिने सुविधा रहेको बताए। त्यस कार्यालयले जहिले हाम्रो लागि सिस्टम हाम्रोसँग कनेक्ट गर्छ त्यही समयमा यो समस्या समाधन हुने इन्जिनियरको भनाइ छ।

'हामीले धेरै कोसिस गरेका हौं। हामी पनि अरुसँग भर पर्नुपर्ने भएकाले यो समस्या भएको हो,' ती इन्जिनियरले भने, 'जस्तै ई-सेवाले पेमेन्ट गेटवे कुमारी बैंकसँग मात्र गर्नु भएको छ तर हाम्रो पेमेन्ट गेटवे राष्ट्रिय बैंकदेखि लिएर अरु सबै प्रकारका बैंकसँग छन्। यो सबैसँग पेमेन्ट गेटवे सुविधा महालेखाले हाम्रो सिस्टमसँग कनेक्ट गर्दिनु पर्‍यो।'

अनलाइन राजस्व भुक्तानी प्रणाली विकास गरिएको भए पनि यो प्रणाली अनुसार तत्कालका लागि गभर्न्मेन्ट पेमार्फत अनलाइन भुक्तानी गर्दा विभागको ईडीएल प्रणालीमा तथ्यांक पठाउन प्राविधिक तयारीमा समस्या भएको छ।

विभागले महालेखा नियन्त्रक कार्यालयसँग समन्वयको प्रक्रिया चलिरहेकोले अनलाइन भुक्तानी नगरी भौचर डाउनलोड गरी सम्बन्धित कार्यालयमा नै गई शुल्क बुझाउन समेत विभागले एक सूचना जारी गरी अनुरोध गरेको छ।

सर्भर डाउनको समस्या लगायत ओटीपी कोड आउनै गाह्रो

हाल अनलाइन आवेदन प्रक्रिया पनि नयाँ भएको र लामो समय रोकिएको प्रणालीमा सेवाग्राहीले सुरुमा आफ्नो व्यक्तिगत विवरणसहित विस्तृत प्रोफाइल बनाएर मात्र फारम भर्न सकिने व्यवस्था छ।

यसका लागि आफ्नो सामान्य विवरण राखेपछि प्रणालीबाट सेवाग्राहीको युजर नेम र पासवर्ड क्रिएट गर्नु अघि प्रमाणीकरणस्वरूप उपलब्ध गराइएको मोबाइल नम्बरमा एउटा ओटीपी कोड आउँछ। उक्त ओटीपी कोड बिना आवेदन प्रणालीमा अगाडिको प्रक्रिया थाल्न सकिँदैन।

सेवाग्राहीलाई भने यही ओटीपी कोड पाउन सास्ती भइरहेको छ। विभागले भने नयाँ प्रणाली सुरुवाती चरणमा रहेको र धेरै आवेदन एकैपटक आउँदा यस्तो समस्या आएको बताएको छ।

साथै दुई महिनादेखि अनलाइन फारम बन्द भएका कारण अनलाइन फारम भर्ने सेवाग्राहीहरुको चाप बढी भई विभागको नयाँ सर्भर पनि डाउन हुने समस्या फेरि देखिएको छ। यसको समाधनको कार्य पनि भइरहेको ती इन्जिनियरले बताए। विभागको सफ्टवयर मात्रै नयाँ भएको छ। काम गर्ने र समस्या भने पुरानै लयमा सिमित भएको छ। पहिले पनि सेवाग्रहीहरुले चाप कै कारण सर्भर डाउन हुने लगाएका समस्या भोग्दै आएका थिए।