BIZMANDU
www.bizmandu.com

भारतले रुसी तेल खरिद रोक्ने देखाएन कुनै संकेत, मूल्य उकालो लागेपनि छुटको मजा लिँदै

२०७९ जेठ १८

पश्चिमा देशहरूले अभूतपूर्व प्रतिबन्धहरूबाट मस्कोलाई प्रहार जारी राख्दा भारतले भने सस्तो रुसी तेलको आयात कम गर्ने कुनै संकेत गरेको छैन।

Tata
GBIME
Nepal Life

भारतमा रुसी कच्चा तेलको प्रवाह मे महिनामा ३३ लाख ६० हजार मेट्रिक टन पुग्ने अपेक्षा गरिएको रेफिनिटिभको अनुमान छ। यो २०२१ को मासिक औसत ३ लाख ८२ हजार ५०० मेट्रिक टनभन्दा झण्डै ९ गुणा बढी हो।

समग्रमा युक्रेन युद्ध सुरु भएदेखि भारतले ४८ लाख मेट्रिक टन रुसी तेल छुटमा प्राप्त गरेको रेफिनिटिभले उल्लेख गरेको छ। रसियाको ‘युराल आयल’ले हाल करिब ९५ डलर प्रतिब्यारेलमा व्यापार गर्दछ। जबकि विश्वव्यापी मूल्य ११९ डलर प्रतिब्यारेल भन्दा माथि छ।

पेट्रोलियम पदार्थको यो मूल्य असमानताको एउटा कारण हो : पश्चिमा देशहरुले रुसी तेलको आयातमा भारी कटौती गर्नु। सोमवार युरोपेली संघ (ईयू)ले यस वर्षको अन्त्यसम्ममा रुसी तेल आयातमा ९० प्रतिशतले कटौती गर्ने निर्णय गरेको थियो। युरोप रुसी ऊर्जाको सबैभन्दा ठूलो खरिदकर्ता हो।

अमेरिका, क्यानडा, बेलायत र अष्ट्रेलियाले यसअघि नै आयातमा प्रतिबन्ध लगाइसकेका छन्। युरोपजस्तो ठूलो आयातकर्ताको नाकाबन्दीले रुसी अर्थतन्त्रलाई दबाब त दिनेछ, तर मस्कोले एसियामा अन्य खरिदकर्ताहरू फेला पारिसकेको छ।

आफ्नो मागको ८० प्रतिशत तेल आयात गर्ने भारतले सामान्यतया रसियाबाट करिब २ देखि ३ प्रतिशतमात्रै आयात गर्छ। तर, यस वर्ष तेलको मूल्य बढ्दै गएपछि भारतले भारी छुटको फाइदा उठाउँदै मस्कोबाट आफ्नो आयातलाई लगातार बढाएको छ।

रेफिनिटिभका अनुसार भारतमा रसियाको कच्चा तेलको प्रवाह मार्चमा ४ लाख ३० हजार मेट्रिक टन थियो। जुन अप्रिलमा बढेर ११ लाख मेट्रिक टन पुगेको छ।

भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले ईयूको आंशिक प्रतिबन्धले दक्षिण एसियाली अर्थतन्त्रको मस्कोसँगको तेल सम्बन्धमा पार्ने प्रभावबारे सोधिएको प्रश्नको कुनै जवाफ दिएको छैन।

यसअघि, मे महिनामा भारतले आयात घटाएको थियो। एक विज्ञप्तिमा पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले भारतले अमेरिकाबाट ठूलो मात्रासहित विश्वभरबाट तेल आयात गर्ने बताएको थियो।

‘रसियाबाट ऊर्जा खरिद भारतको कुल खपतको तुलनामा न्यून रहेको छ’, मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘भारतको वैध ऊर्जा कारोबारलाई राजनीतिकरण गर्न मिल्दैन।’

भारत युक्रेनमा भएको युद्धलाई लिएर मस्कोविरुद्ध कडा अडान लिनदेखि हच्किएको छ। रसिया र भारतको मित्रतापूर्ण सम्बन्धको सोभियत युगदेखिको लामो इतिहास छ। सन् १९७१ मा सोभियत संघले भारतलाई पाकिस्तानसँगको युद्ध जित्न मद्दत गरेको थियो।

रसियाको तेल खरिद गर्ने एसियाली विशाल राष्ट्र भारत मात्र होइन। ऐतिहासिक रूपमा रुसी तेलको सबैभन्दा ठूलो खरिदकर्ता रहेको चीनले पनि कारोबार तीव्र पार्ने अपेक्षा गरिएको छ।

औद्योगिक तथा स्याटेलाइट डेटाको प्रयोग गरेर तेल उत्पादन र प्रवाह ट्र्याक गर्ने ‘आयलएक्स’ले अप्रिलमा पाइपलाइन र समुद्रमार्फत रसियाबाट चीनको आयात प्रतिदिन १ लाख ७५ हजार ब्यारेलले बढेको पत्ता लगाएको छ। यो २०२१ को औसत मात्रा भन्दा लगभग ११ प्रतिशतले बढी हो। समुद्री आयात अझ तीव्र रुपमा बढ्दै गएको प्रारम्भिक तथ्यांकहरुले देखाएको छ।

प्रमुख सहरहरूमा कोभिडसम्बन्धि कडा प्रतिबन्धहरू खुकुलो पार्न थालिए विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनमा पेट्रोलियम पदार्थको माग ह्वात्तै बढ्ने अपेक्षा गरिएको छ।