BIZMANDU
www.bizmandu.com

वृद्ध भत्ता अब ६८ वर्षदेखि नै, राज्यलाई १२ अर्बको अतिरिक्त भार थपिने, भत्ता नलिनेलाई सम्मान

२०७९ जेठ १५

वृद्ध भत्ता अब ६८ वर्षदेखि नै, राज्यलाई १२ अर्बको अतिरिक्त भार थपिने, भत्ता नलिनेलाई सम्मान
वृद्ध भत्ता अब ६८ वर्षदेखि नै, राज्यलाई १२ अर्बको अतिरिक्त भार थपिने, भत्ता नलिनेलाई सम्मान


काठमाडौं। गठबन्धन सरकारको बजेटले वृद्ध भत्ता पाउने नेपालीको उमेर समूह २ वर्षले घटाएको छ। हाल ७० वर्ष रहेको वृद्ध भत्ता पाउने उमेरलाई ६८ वर्षमा झारिएको हो। 

Tata
GBIME
Nepal Life

अर्थमन्त्री जनार्दन शर्माले आइतबार प्रस्तुत गरेको आव २०७९/८० को बजेटबाट वृद् भत्ता पाउने व्यक्‍तिको उमेर समूह घटाएका हुन्। यससँगै अब ६८ वर्ष पुगेका जेष्ठ नागरिकले मासिक चार हजार रुपैयाँ भत्ता पाउनेछन्। 

साथै, वृद्ध भत्ता नलिने भनि स्वेच्छिक घोषणा गर्ने नागरिकलाई राज्यले सम्मान गर्ने समेत मन्त्री शर्माले बजेटमार्फत उल्लेख गरेका छन्। 

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले वृद्ध भत्ता पाउने जेष्ठ नागरिकको उमेर ६५ वर्षमा झार्ने बताउँदै आएका थिए। एकैपटक ५ वर्षले तल उमेर समूह झार्दा राज्यलाई वृद्ध भत्तामा मात्र करिब २७ अर्ब रुपैयाँको अतिरिक्त भार थपिने देखिएको थियो। 

चार वर्षअघि १० लाख रहेको सामाजिक सुरक्षा भत्ताका लाभग्राहीको संख्या अहिले १३ लाख नाघिसकेको छ।  

ताजा जनगणनाअनुसारको ६५ देखि ६९ वर्ष पुगेका नागरिकको यकिन तथ्यांक केन्द्रिय तथ्यांक विभागले अझै तयार पारिसकेको नभए पनि १० वर्षअघि (२०६८) कै आँकडालाई आधार मान्दा पनि यो ५ लाख ६० हजारको हाराहारीमा छ। 

यसमध्ये साढे दुई लाख हाराहारी मात्र ६८ देखि ७० वर्षबीचको उमेर समूहका नागरिकको संख्या छ भन्ने मान्ने हो भने पनि अब राज्यले वृद्ध भत्ताको दायित्व बोक्नुपर्ने जनसंख्या मात्र कम्तिमा साढे १५ लाख हाराहारी पुग्नेछ। 

यसको अर्थ राज्यले यो संख्यालाई मासिक अहिलेकै ४ हजारको दरले दिँदा पनि वृद्धभत्तामा मात्र वार्षिक झन्डै ६२ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ।

यो अतिरिक्त जनसंख्या (२ लाख ५० हजार) का लागि मात्र वर्षमा कम्तिमा झन्डै १२ अर्ब रुपैयाँ (मासिक थप एक अर्ब) को भार राज्यकोषमा पर्नेछ। अहिले संघीय सरकारलाई सामाजिक सुरक्षामा मात्र वार्षिक एक खर्ब ८८ अर्ब ३५ करोड रुपैयाँको दायित्व छ। यससहित सामाजिक सुरक्षामा सरकारले गर्नुपर्ने कुल खर्च २ खर्ब नाघ्ने देखिन्छ।