BIZMANDU
www.bizmandu.com

फलाम उद्योगलाई संरक्षण हुने बजेट बनाउन पूर्वका उद्योगीको आग्रह, ३० भन्दा बढी उद्योग बन्द हुने


विराटनगर। आर्थिक वर्ष २०७९/८० को बजेट आउन  तीन दिनमात्र बाँकी रहँदा फलामका केही सामाग्रीका उद्योगलाई संरक्षण गर्न पूर्वका उद्योगीहरुले माग गरेका छन्।  

Tata
GBIME
Nepal Life

बजेट भाषणले फलामका केही सामग्रीका उद्योगलाई संरक्षण हुने गरी राजस्व संरचना तयार नगरे नेपालका साना–ठूला गरी ३० भन्दा बढी फलामे उद्योगमा ताल्चा लगाउनु पर्ने उनीहरुको दावी छ। भारत सरकारले गत शनिबार फलामका केही कच्चा पदार्थको निर्यातमा १५ प्रतिशत शुल्क तोकेपछि नेपालका उद्योगलाई संरक्षण गर्नुपर्ने अवस्था उत्पन्न भएको हो ।

शारडा ग्रुपअन्तर्गतको प्रिमियर वायरका सञ्चालक सौरभ शारडाले एमएस वायरबाट उत्पादन गरिने जिआई वायर, ग्याभियन बक्स, काँटी, टोरकारी, पिसी वायरको आयातमा सरकारले २० प्रतिशत अतिरिक्त एन्टी डम्पिङ ड्युटी वा अन्तःशुल्क निर्धारण गर्नुपर्ने माग गरे ।

उद्यमी शारडाका अनुसार भारत सरकारले गत शनिबारदेखि अत्यन्त चलाखी गरेर एमएस वायर, एचआर सिट र सिआर सिटजस्ता कच्चा पदार्थको निर्यात शुल्कलाई १५ प्रतिशत बनाएको छ । तर तयारी वस्तुको निर्यात शुल्कमा भारतले केही वृद्धि नगरी आफ्ना उद्योग र त्यहाँको रोजगारी बचाउने काम गरेको छ। यसले गर्दा ती कच्चा पदार्थबाट नेपालमा उत्पादन गरिने वस्तुहरूको लागत बढ्ने भएको छ।

एचआर सिट र सिआर सिटबाट कर्कट पाता र पाइपको उत्पादन गरिन्छ। तयारी वस्तुको निर्यात शुल्कलाई भारतले शून्य प्रतिशत नै कायम राखेको हुँदा त्यस्ता वस्तुको नेपालमा उत्पादनभन्दा आयात गर्नै सस्तो पर्ने भएको छ।

शारडाले एमएस वायर, एचआर र सीआरबाट उत्पादन गरिने अधिकांश वस्तु नेपालमा पैठारी गर्दा साफ्टाअन्तर्गत ६.२५ देखि ७.२५ प्रतिशतमात्र भन्सार महसुल तिरे पुग्ने स्पष्ट पारे।

उनले सरकारले ३ दिनपछि गर्ने बजेट भाषणमै फलामे उद्योगलाई संरक्षण हुने गरी नीति ल्याउनु पर्ने र कच्चा सामग्रीको निर्यात शुल्क घटाउन भारतसित पहल गर्न आग्रह गरे।

विशाल ग्रुप अन्तर्गतको कमला स्टिलका सञ्चालक जगदीशप्रसाद अग्रवालले अब जिआई वायर लगायतका सबै मालवस्तु भारतबाट आयात हुने र नेपालका उद्योग एक महिनाभित्र बन्द हुने दाबी गरे।

उद्योगी अग्रवालले उद्योगीको पीडा उद्योगीलाई नै अनुभव हुने बताए। उनले  अर्थमन्त्री शर्माले चाहेमा नेपालका उद्योग बन्द हुनबाट बच्ने जिकिर गरे।

हुलास वायर इन्डस्ट्रिजकी सञ्चालक युक्ति गोल्छाले आफ्नो उद्योगले जिआई वायर, गेभियन बक्स, टोरबारी, पिसी वायर लगायतका सामग्रीमा ४० करोडको उधारो बोकिरहेको जानकारी दिइन् । उनले धेरै फलामे उद्योगहरू बन्दको मुखमा परेको स्पष्ट पारिन्।

उद्यमी गोल्छाले कथंकदाचित् उद्योग बन्द भएमा बजारमा भएको रकम जोखिममा पर्ने, ठूलो जनशक्ति बेरोजगार हुने र धेरै उद्योगीहरू बैंकको डिफल्टर हुने बताइन्।