BIZMANDU
www.bizmandu.com

कोरियाली कम्पनीले रासायनिक मल कारखाना र एमोनिया इनर्जी उत्पादनको सम्भाव्यता अध्ययन थाल्ने

२०७९ जेठ १०

कोरियाली कम्पनीले रासायनिक मल कारखाना र एमोनिया इनर्जी उत्पादनको सम्भाव्यता अध्ययन थाल्ने
कोरियाली कम्पनीले रासायनिक मल कारखाना र एमोनिया इनर्जी उत्पादनको सम्भाव्यता अध्ययन थाल्ने

काठमाडौं। नेपाल विद्युत प्राधिकरण र दक्षिण कोरियाली कम्पनी ग्लोबल ग्रीन ग्रोथ इन्स्ट्रिच्युट (कोरिया) बीच हरित ऊर्जामार्फत हाइड्रोजन, एमोनियाको उत्पादन र युरिया मल उत्पादनका लागि मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको छ। 

Tata
GBIME
Nepal Life

मंगलबार प्राधिकरण र इन्टिच्युटबीच यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। इन्स्टिच्युटले संसारका थुप्रै देशमा हरित हाइड्रोजनलगायतका क्षेत्रमा काम गर्दै आएको छ।

नेपालका जलविद्युत आयोजनाबाट उत्पादित हरित ऊर्जाको प्रयोग गरी हरित हाइड्रोजन, एमोनिया लगायतका ऊर्जा उत्पादन गर्ने र मल कारखाना स्थापनाका लागि एउटा नमुना परियोजनाको डिजाइन, विकासका लागि सम्भाव्यता अध्ययन गर्ने सम्झौतामा उल्लेख छ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालको उपस्थितिमा मंगलबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र इन्स्टिच्युटका महानिर्देशक फ्रयाङ्क रिज्सवरम्यानले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

कार्यक्रममा ऊर्जामन्त्री भुसालले नेपालका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत देशभित्रै खपतका लागि हरित हाइड्रोजन ऊर्जा उत्पादन नयाँ क्षेत्र र प्रविधि हुने बताइन्।

‘देशभित्र खपत गरी बाँकी रहेको अतिरिक्त ऊर्जा खपतका लागि यो महत्त्वपूर्ण परियोजना बन्न सक्छ,’ उनले भनिन्,‘यस्तो महत्त्वपूर्ण परियोजना अगाडि बढाउन सकिएमा देशभित्रको जलविद्युतबाट उत्पादित हरित ऊर्जा खपतका लागि महत्त्वपूर्ण योगदान पुग्नेछ, यसले ऊर्जा खपतको नयाँ ढोका खोल्ने छ।’

दुई संस्थाबीच भएको समझदारीमा उल्लेखित व्यवस्थाहरु इमान्दारीपूर्वक कार्यान्वयन गरी सफलताको चरणमा पुर्‍याउन पनि मन्त्री भुसालले आग्रह गरिन्।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत खपतका लागि हरित हाइड्रोजन, एमोनिया ऊर्जा उत्पादन र त्यसैमार्फत मल कारखाना स्थापना राम्रो विकल्प र क्षेत्र भएको बताए।