BIZMANDU
www.bizmandu.com

गौतम बुद्धबाट वैदेशिक रोजगारीमा जानेलाई सहज बनाइँदै, श्रम स्वीकृतिको व्यवस्था भैरहवाबाटै हुने

२०७९ जेठ ५

काठमाडौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ‘जिआइए’ बाट श्रम मुलुकमा जाने नेपालीका लागि श्रम स्वीकृति प्रकृया सहज हुने भएको छ। अनलाइनमार्फत श्रम स्वीकृति दिँदै आएको वैदेशिक रोजगार विभागले म्यानपावरमार्फत जाने कामदारलाई काठमाडौं आउन नपर्ने गरि प्रक्रिया अगाडि बढाउन लागिएको हो। 

Tata
GBIME
NLIC

ताहाचलस्थित वैदेशीक रोजगार कार्यालयका प्रमुख रमेश अर्यालले बुटवलमा रहेको श्रम तथा रोजगार कार्यालयबाट पुन: श्रम स्वीकृति दिने काम भइरहेको बताउँदै म्यानपावरमार्फत जाने कामदारका लागि पनि स्वीकृति दिने गरि प्रक्रिया अगाडि बढाउन लागिएको जानकारी दिए। उनले त्यसका लागि म्यानपावरको शाखा कार्यालय खोल्न आग्रह गरिने जानकारी दिए।

‘अहिले काठमाडौं आइरहेका यात्रुहरु प्राय: म्यानपावरका लागि काठमाडौं आइरहनुभएको छ। यसका लागि हाम्रो कार्यालयमै आउनु पर्ने अवस्था छ। अन्तर्वार्ताकै लागि पनि काठमाडौं आउनुपर्ने हुनसक्छ,’ प्रमुख अर्यालले भने,’सहजताका लागि भैरहवामै म्यानपावर कम्पनीको शाखा राख्न सकियो भने समस्या समाधान हुन्छ।’

गौतमबुद्ध विमानस्थल संचालनमा आएपछि कुवेतको जजिरा एयरवेजले उडान थालेको छ। उडान थालेपनि जजिराले श्रम स्वीकृतिको व्यवस्था नहुँदा काठमाडौंबाट यात्रु बसमा राखेर भैरहवा लगिरहेको छ। भैरहवामा श्रम स्वीकृतिको व्यवस्थाको अध्ययन गर्न शुक्रबार श्रममन्त्री कृष्णकुमार श्रेष्ठ भैरहवा जाँदैछन्। उनका अनुसार करिब सात सयले संस्थागत श्रम स्वीकृति लिँदै आएका छन् भने करिब डेढ सय जनाले व्यक्तिगत श्रम स्वीकृति लिँदै आएका छन्। 

‘अहिले हामीले आवेदकबाट पाएको इमेलका आधारमा क्युआर कोड सहितको पत्र आउँछ। प्रिन्ट गर्न र छाप लगाउन यहाँ आउनुपर्दैन। यही प्रणालीका आधारमा पासपोर्ड नम्बरका आधारमा सबै विवरण आउँछ,’ उनले भने,’भैरहवाको अकमा जनशक्तिको मेडिकल चेक अप र दुई दिने अभिमुखीकरण तालिमका लागि आवश्यक कक्ष विस्तार गर्न आवश्यक छ।’ गौतम बुद्धमा जजिराले साताको तीनवटा उडान गर्दै आएको छ। निकट भविष्यमा यो कम्पनीले सातवटा उडान गर्ने योजना बनाएको छ।