BIZMANDU
www.bizmandu.com

गौतम बुद्ध विमानस्थल जाने वायुसेवालाई १००% सहुलियतको प्रस्ताव पारित, छुट जेठ १४ बाट लागू हुने


गौतम बुद्ध विमानस्थल जाने वायुसेवालाई १००% सहुलियतको प्रस्ताव पारित, छुट जेठ १४ बाट लागू हुने
गौतम बुद्ध विमानस्थल जाने वायुसेवालाई १००% सहुलियतको प्रस्ताव पारित, छुट जेठ १४ बाट लागू हुने

काठमाडौं। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीआईए) मा उडान अवतरण गर्ने अन्तरराष्ट्रिय वायुसेवा कम्पनीहरुलाई सेवा सुविधामा शतप्रतिशत छुट दिने प्रस्ताव पारित भएको छ।

Tata
GBIME
Nepal Life

नागरिक उड्डयन प्राधिकरण (क्यान) ले गरेको उक्त प्रस्ताव पर्यटन मन्त्रालयले मन्त्रीस्तरीय बैठकबाट पारित गरेको हो। 

गत सोमबारबाट संचालनमा आएको यो विमानस्थलको व्यवसायिक संचालन सफल बनाउनका लागि क्यानले वायुसेवा कम्पनीहरुलाई विभिन्न किसिमका सहुलियत दिन लागेको हो।

प्राधिकरणले आफ्नो सेवा जीआईएमा पनि थाल्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई ल्याण्डिङ, पार्किङ, सेक्युरिटी, उड्डयन सहायता सेवा लगायतमा एक वर्षसम्म शतप्रतिशत सहुलियत दिने प्रस्ताव चार दिनअघि मन्त्रालयमा पठाएको थियो। विभागीय मन्त्रालयले  निर्णय गरेसँगै अब यो १४ जेठबाट कार्यान्वयनमा आउने प्राधिकरण स्रोतले जानकारी दिएको छ।

वायुसेवा कम्पनीहरुले माथिका सुविधाहरुबाहेक आफ्नो कार्यालय राख्नका लागि लिएको क्षेत्रका लागि भने भाडा तिर्नुपर्ने प्राधिकरणले जनाएको छ।

गत चैत ३० मा बसेको मन्त्री परिषदको बैठकले प्राधिकरणको नयाँ विमानस्थल सेवा शुल्क नियमावली स्वीकृत गरेको थियो। सोही नियमावलीअनुसार प्राधिकरणले हाल लिँदै आएको सेवा शुल्कमा जीआईएको हकमा एक वर्षका लागि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई सबै छुट दिन खोजिएको हो।

यो विमानस्थललाई व्यवसायिकरुपमा सफल संचालनका लागि प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई विभिन्न सेवामा विशेष छुटको योजना अघि सारेको बताइएको छ।

वायुसेवाको एउटै उडानबाट सवा दुई लाख रुपैयाँसम्म जोगिने
प्राधिकरणका अनुसार ल्याण्डिङ , नेभिगेशन सेक्युरिटीका लागि ८३ हजार किलो क्षमताको जहाजलाई छ सय ९३ अमेरिकी डलर शुल्क निर्धारण गरिएको छ। यसैगरी, एयरबसको ए३३० सेरिजको जहाजका लागि १५ सय ५५ अमेरिकी डलर शुल्क तय छ।

यसअघि यो विमानस्थलमा उडान संचालन गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुका लागि यो रकममा ५० प्रतिशत छुट दिने प्रावधानलाई क्यानले अगाडि बढाएको थियो। तर नेपालमा अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीहरु जीआईएमा सेवा थाल्नका लागि मागको अवस्था र विमानस्थलको व्यवसाय विस्तारका लागि समेतलाई दृष्टिगत गरेर क्यानले तत्कालका लागि सतप्रतिशत नै छुट योजना अगाडी बढाइएको जनाइएको छ।

प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय उडान गर्दै आएका ८३ हजार किलो क्षमताको जहाजले एकपटक पार्किङ गर्दा ८३.६५ डलर शुल्क तिर्नपर्ने प्रावधान गरिएको छ। यसैगरी एक लाख ८१ हजार किलो क्षमताको जहाजका लागि एकपटकको पार्किङका लागि दुई सय ८० अमेरिकी डलर तोकिएको छ। यसमा पनि क्यानले छुट दिन खोजेको हो।

यस हिसाबले हेर्दा ल्याण्डिङ , नेभिगेशन सेक्युरिटी र पार्किङ शुल्क समेत गर्दा ए३३० सेरिजको वा एक लाख ८१ हजार किलो क्षमताका जहाजले हरेक उडानवापत तिर्नुपर्ने कुल १८३५ अमेरिकी डलर (१५५०+२८० डलर) अर्थात् अहिलेको प्रचलित विनिमय दरअनुसार दुई लाख २५ हजार रुपैयाँहाराहारी सम्मको छुट पाउनेछन्। 

जेठ २ बाट जजिराले उडान संचालन सुरु गरिसकेको यो विमानस्थलमा फ्लाइ दुबई, एयर अरेबिया, श्रीलंकन एयरलाइन्स लगायत वायुसेवा कम्पनीले तत्काल व्यवसायिक उडानका लागि चासो देखाएको जनाइएको छ।