BIZMANDU
www.bizmandu.com

दाना उद्योग नेपाल वेलहोप एग्रिटेकको कारोबार ४ अर्ब नाघ्यो, ब्रोइलर दानाको योगदान ७५%

२०७९ जेठ ४

दाना उद्योग नेपाल वेलहोप एग्रिटेकको कारोबार ४ अर्ब नाघ्यो, ब्रोइलर दानाको योगदान ७५%
दाना उद्योग नेपाल वेलहोप एग्रिटेकको कारोबार ४ अर्ब नाघ्यो, ब्रोइलर दानाको योगदान ७५%

काठमाडौं। नेपाल वेलहोप एग्रिटेक प्रालिले २०२१ मा चार अर्ब २७ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ। कम्पनीको कारोबार २०२१ मा २३.२० प्रतिशतले बढेको छ। 

Tata
GBIME
Nepal Life

दानाको माग बढ्दा कम्पनीको व्यापार बढेको रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले जनाएको छ। २०२० मा तीन अर्ब ४६ करोड ७० लाख रुपैयाँ र २०१९ मा तीन अर्ब २४ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो। कम्पनीले कुखुराको दानाका साथै माछा, सुङ्गुर, गिरिराज, खसीको आहार उत्पादन गर्दै आएको छ। विजया पेलेट दानाको ब्राण्ड कम्पनीले बजारमा बिक्री गर्दै आएको केयरले जनाएको छ। 

दाना उत्पादन गर्न आवश्यक कच्चा पदार्थ भारत र चीनबाट कम्पनीले आयात गर्दै आएको छ। मकै, धान, दाल तथा गेडागुडी र सोया केक, सोया तेल र मस्टार्ड डीओसी दाना उत्पादनका मुख्य कच्चा पदार्थ हुन्। कुल कच्चा पदार्थमा यी सामग्रीको हिस्सा ८० देखि ८५ प्रतिशत रहेको बताइएको छ।

गाईवस्तु, ब्रोइलर, सुङ्गुर, माछा, लेयर्स र गिरिराजको दानाबाट कम्पनीले आम्दानी गर्ने गरेको छ। त्यसमध्ये कुल आम्दानीमा ब्रोइलरको दानाको योगदान ७५ प्रतिशत र लेयर्सको १५ प्रतिशत रहेको केयरले जनाएको छ।    

नेपालको वैद्य समूह र चीनको वेलहोप फुड्स कम्पनी लिमिटेड (यसअघि लियोनिङ वेलहोप एग्रिटेक लिमिटेड) को संयुक्त कम्पनी हो नेपाल वेलहोप एग्रिटेक। कम्पनीमा वैद्य समूह र वेलहोप ग्रुपको ५०/५० प्रतिशत सेयर स्वामित्व छ। चिनियाँ वेलहोप फुड्सले चीनको ३२ प्रान्तसँगै २२ देशहरुमा दानासँगै त्यस सम्बन्धी प्रडक्टको उत्पादनसँगै मार्केटिङ गर्दै आएको छ। 

कम्पनीको प्लान्ट चितवनको भरतपुर, मोरङको विराटनगर र बाँकेको कोहलपुरमा छ। कम्पनीले विराटनगरको फ्याक्ट्री पूर्ण स्वचालित बनाउँदै प्रति घण्टा १५ टन क्षमतामा विस्तार गर्ने योजनामा छ।

राष्ट्रिय आर्थिक सर्वेक्षण २०२०/२१ का अनुसार २०२० मा मासु उत्पादन ५४.६ प्रतिशतले बढेर पाँच लाख ५२ हजार टन पुगेको बताइएको छ। २०२१ मा कुल बिक्रीको ८८.५८ प्रतिशत पोल्ट्री दाना (ब्रोइलर र लेयर्स) बाट आर्जन गरेको केयर रेटिङ्स नेपालले जनाएको छ। 

कम्पनीको अध्यक्ष सुरेश वैद्य हुन् भने अन्य दुईजना चिनियाँ व्यक्तिहरु निर्देशक छन्। कम्पनीका देशभर ६ सय हाराहारी डिलर नेटवर्क छ।