BIZMANDU
www.bizmandu.com

मारुती-सुजुकीले हरियाणामा ११० अर्ब भारु लगानीमा नयाँ प्लान्ट राख्दै, पहिलो इभी यही प्लान्टबाट

२०७९ जेठ २

मारुती-सुजुकीले हरियाणामा ११० अर्ब भारु लगानीमा नयाँ प्लान्ट राख्दै, पहिलो इभी यही प्लान्टबाट
मारुती-सुजुकीले हरियाणामा ११० अर्ब भारु लगानीमा नयाँ प्लान्ट राख्दै, पहिलो इभी यही प्लान्टबाट

काठमाडौं। भारतीय अटो मेकर मारुती सुजुकीले हरियाणामा नयाँ प्लान्ट निर्माण गर्ने भएको छ। यसका लागि कम्पनीले ११० अर्ब भारु लगानी गर्ने जनाएको छ।

Tata
GBIME
Nepal Life

हरियाणाको खारखोडामा हुने उक्त नयाँ प्लान्टको वार्षिक क्षमता साढे २ लाख एकाइ सवारी  उत्‍पादन गर्न सक्ने हुनेछ।

यो प्लान्टबाट मारुती सुजुकीको पहिलो मोडल सन् २०२५ बाट उत्पादन सुरु हुने कम्पनीले जनाएको छ। प्लान्ट स्थापनाका लागि हरियाणामा ८०० एकर जग्गाको प्राप्ति प्रक्रिया पूरा गरेको पनि मारुतीले घोषणा गरेको छ।

कम्पनीले राज्य सरकारसँग लामो समयदेखिको वार्ता सफल निष्कर्षमा पुगेपछि जग्गा प्राप्त गरेको हो। भारतको सोनीपत जिल्लामा अवस्थित औद्योगिक मोडेल टाउनशिप (आईएमटी) खरखोडामा रहेको जग्गा मारुतीलाई उपलब्ध गराउनका लागि गत वर्ष नोभेम्बरमा राज्य सरकारले स्वीकृत गरेको थियो।

यस भारतीय कार निर्माताले नयाँ प्लान्ट  संचालनमा आएपछि बजार माग अनुसार उत्पादन गर्न सक्ने क्षमतामा कम्पनी पुग्ने जनाएको छ।

हाल मागअनुसार समयमा आपूर्ति दिन नसक्दा अप्रिलको अन्त्यसम्म नै मारुतीका  तीन लाख २५ हजार युनिटको अर्डर ब्याकलगमा छ। आर्थिक वर्ष २०२२ मा भारतीय बजारमा नै मारुती सुजुकीको बिक्रीमा ३ प्रतिशतको वार्षिक वृद्धि भएको छ। यसैले भविष्यमा पनि बढ्न सक्ने मागको सम्भावनाहरुलाई विश्लेषण गरेर यसले नयाँ निर्माण फ्याक्ट्रीहरू राख्दै जाने बताएको छ।

यसबाहेक कम्पनीले मिडसाइज एसयूभी ल्याउने पनि तयारी गरिरहेको छ। समग्र एसयूभी सेग्मेन्टमा रहेको हालको आफ्नो १० प्रतिशत बजार हिस्सालाई बढाएर बजारमा उपस्थिति बलियो बनाउने लक्ष्य मारुती सुजुकीले राखेको छ।

यसबाहेक, मारुतीले पनि आफ्नो पहिलो इभी पनि ल्याउने अपेक्षा गरिएको छ। यो सेगमन्टमा कम्पनीले एक मिडसाइज क्रसओभर सन् २०२५ मा सार्वजनिक गर्ने आकलन भारतीय अटो बजार विश्लेषकहरुको छ।

हरियाणामा हाल दुईवटा प्लान्ट भएको मारुतीले सम्पूर्ण गुरुग्राम-मानेसर बेल्टलाई भारतको प्रमुख अटोमोटिभ हब बनाउनमा ठूलो भूमिका खेलेको छ। मारुतीको गुरुग्राम प्लान्टको वार्षिक उत्पादन क्षमता सात लाख एकाइ छ। त्यस्तै, मानेसरमा आठ लाख कार उत्पादन क्षमताको प्लान्ट छ। यसले गुजरातमा रहेको प्यारेन्ट कम्पनी सुजुकीको पूर्ण स्वामित्वमा रहेको सात लाख ५० हजार युनिट वार्षिक क्षमताको प्लान्टबाट पनि कार सोर्सिङ गर्ने फाइदा लिन सक्छ।