BIZMANDU
www.bizmandu.com

गौतम बुद्ध विमानस्थल जाने वायुसेवालाई १००% सहुलियतको तयारी, हरेक उडानमा सवा दुई लाखसम्म छुट 


गौतम बुद्ध विमानस्थल जाने वायुसेवालाई १००% सहुलियतको तयारी, हरेक उडानमा सवा दुई लाखसम्म छुट 
गौतम बुद्ध विमानस्थल जाने वायुसेवालाई १००% सहुलियतको तयारी, हरेक उडानमा सवा दुई लाखसम्म छुट 


काठमाडौं। गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल (जीबीआईए) को व्यवसायिक संचालन सफल बनाउनका लागि नागरिक उड्डयन प्राधिकरण (क्यान) ले वायुसेवा कम्पनीहरुलाई विभिन्न किसिमका सहुलियतहरु दिने भएको छ। 

Tata
GBIME
Nepal Life

क्यानले आफ्नो सेवा जीबीआईएमा पनि थाल्ने अन्तरराष्ट्रिय वायुसेवा कम्पनीहरुलाई ल्याण्डिङ, पार्किङ, सेक्युरिटी, उड्डयन सहायता सेवा लगायतमा शतप्रतिशत सहुलियत दिने निर्णय गरेको छ। यस्तो सहुलियत एक वर्षसम्मका लागि दिने गरी पर्यटन मन्त्रालयलाई क्यानले प्रस्ताव बुझाएको छ।

क्यानका कर्पोरेट डाइरेक्टर जगन्नाथ निरौलाले भने, 'मन्त्रालयलाई एक वर्षसम्मका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा कम्पनीहरुलाई सम्पूर्ण सेवा शुल्कमा सतप्रतिशत छुटको प्रस्ताव पत्र बुझाएका छौं।'

यो प्रस्ताव स्विकृत भएसँगै प्राधिकरणले हालै संशोधन गरेको विमानस्थल सेवा शुल्क नियमावली लागू हुने मितिदेखि योजना कार्यन्वयनमा ल्याउने उनले जानकारी दिए। 

वायुसेवा कम्पनीहरुले यीबाहेक आफ्नो कार्यालय राख्नका लागि लिएको क्षेत्रका लागि भने भाडा तिर्नुपर्ने प्राधिकरणले जनाएको छ।

गत चैत ३० मा बसेको मन्त्री परिषदको बैठकले प्राधिकरणको नयाँ विमानस्थल सेवा शुल्क नियमावली स्वीकृत गरेको थियो। सोही नियमावलीअनुसार प्राधिकरणले हाल लिँदै आएको सेवा शुल्कमा जीबीआईएको हकमा एक वर्षका लागि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई सबै छुट दिन खोजिएको हो।

यो विमानस्थललाई व्यवसायिकरुपमा सफल संचालनका लागि प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई विभिन्न सेवामा विशेष छुटको योजना अघि सारेको पनि निरौलाले बताए।

एउटा वायुसेवालाई हरेक उडानमा सवा दुई लाखसम्म छुट
प्राधिकरणका अनुसार ल्याण्डिङ , नेभिगेशन सेक्युरिटीका लागि ८३ हजार किलो क्षमताको जहाजलाई छ सय ९३ अमेरिकी डलर शुल्क निर्धारण गरिएको छ। यसैगरी, एयरबसको ए३३० सेरिजको जहाजका लागि १५ सय ५५ अमेरिकी डलर शुल्क तय छ।

यसअघि यो विमानस्थलमा उडान संचालन गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुका लागि यो रकममा ५० प्रतिशत छुट दिने प्रावधानलाई क्यानले अगाडि बढाएको थियो। तर नेपालमा अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीहरु जीबीआईएमा सेवा थाल्नका लागि मागको अवस्था र विमानस्थलको व्यवसाय विस्तारका लागि समेतलाई दृष्टिगत गरेर क्यानले तत्कालका लागि सतप्रतिशत नै छुट योजना अगाडी बढाइएको जनाइएको छ।

प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय उडान गर्दै आएका ८३ हजार किलो क्षमताको जहाजले एकपटक पार्किङ गर्दा ८३.६५ डलर शुल्क तिर्नपर्ने प्रावधान गरिएको छ। यसैगरी एक लाख ८१ हजार किलो क्षमताको जहाजका लागि एकपटकको पार्किङका लागि दुई सय ८० अमेरिकी डलर तोकिएको छ। यसमा पनि क्यानले छुट दिन खोजेको हो।

यस हिसाबले हेर्दा ल्याण्डिङ , नेभिगेशन सेक्युरिटी र पार्किङ शुल्क समेत गर्दा ए३३० सेरिजको वा एक लाख ८१ हजार किलो क्षमताका जहाजले हरेक उडानवापत तिर्नुपर्ने कुल १८३५ अमेरिकी डलर (१५५०+२८० डलर) अर्थात् अहिलेको प्रचलित विनिमय दरअनुसार दुई लाख २५ हजार रुपैयाँहाराहारी सम्मको छुट पाउनेछन्। 

यसअनुसार एक हिसाबले वार्षिक रुपमा यस विमानस्थल भएर संचालन हुने वायुसेवा कम्पनीहरुबाट आर्जन गर्न सक्ने ठूलो धनराशी क्यानले गुमाउनेछ। तथापि, यसबाट वायुसेवा कम्पनीहरुलाई जीआईएमा आकर्षित गर्न सक्दा यसबाट दीर्घकालिन लाभ र यस विमानस्थलको व्यापारिक सफलता दुवै बलियो हुन सक्नेछ। 

क्यानले अन्तरराष्ट्रिय वायुसेवाका लागि प्रस्ताव गरेका यी सहुलियतहरु पर्यटन मन्त्रालयले स्वीकृति दिएसँगै कार्यन्वयनमा आउने जनाइएको छ।
आउँदो जेठ १४ बाट सेवा शुल्कअन्तर्गत नयाँ प्रावधान लागू हुने जनाइएको छ। जसअनुसार मुलुकको कुनै पनि अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि वायुसेवा कम्पनीले अवतरण भएको दुई घण्टाभन्दा बढी पार्किङ गरेबापत शुल्क तिर्नुपर्ने प्रावधान रहेको छ।

बोर्ड अफ एयरलाइन्स रेप्रिजेन्टेटिभ नेपाल (बार्न) सँग आवद्ध विभिन्न मुलुकका अन्तर्राष्ट्रिय वायुसेवा कम्पानीले माग राखेसँगै यो विषयमा कायम मुद्‍दा सम्बोधन गर्न क्यानले सुरु गरेको हो।

गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि बार्नले गत साता अवलोकन गरेको थियो।

यो विमानस्थल संचालन तथा व्यवस्थापनका लागि प्राधिकरणका उपमहानिर्देशक देवचन्द्र लाल कर्णको मूल समिति र विमानस्थल प्रमुख गोविन्द दाहालको उपसमिति खडा गरिसकेको जनाइएको छ।

जेठ २ पछि विभिन्न वायुसेवा कम्पनीले आफ्नो तालिका पेश गर्ने योजना रहेको विमानस्थल प्रमुख दाहालले बताए। यसबाहेक फ्लाइ दुबई, एयर अरेबिया, श्रीलंकन एयरलाइन्स लगायत वायुसेवा कम्पनीले तत्काल व्यवसायिक उडानका लागि चासो देखाएको जनाइएको छ।

यो विमानस्थलमा जजिरा एयरवेजले जेठ २ बाटै नियमित व्यवसायिक उडान गर्ने तालिका सार्वजनिक गरिसकेको छ। संगठनका अनुसार यतिखेर फ्लाइ दुवई र एयर अरेबियाले पनि छिट्टै उडान गर्ने योजना बनाएका छन्।

आउँदो जेठ २ मा प्रधानमन्त्री शेरबहादुर देउवाले यो विमानस्थलको औपचारिक उद्घाटन गर्ने तयारी रहेको छ। यो विमानस्थलमा नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले प्रदर्शनी उडान गरिसकेको छ भने अहिले हुँदै आएका विभिन्न गन्तव्यका आन्तरिक उडानहरु पनि यस विमानस्थलबाट सुरु भइसकेको छ।