BIZMANDU
www.bizmandu.com

एनसीएचएलको विद्युतीय चेक क्लियरिङ र अन्तरबैंक भुक्तानी प्रणालीको कारोबार समय फेरियो

२०७९ बैशाख ३०

एनसीएचएलको विद्युतीय चेक क्लियरिङ र अन्तरबैंक भुक्तानी प्रणालीको कारोबार समय फेरियो
एनसीएचएलको विद्युतीय चेक क्लियरिङ र अन्तरबैंक भुक्तानी प्रणालीको कारोबार समय फेरियो


काठमाडौं। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बाट संचालित विद्युतीय चेक क्लियरिङ प्रणाली (एनसीएचएल- इसीसी) र अन्तरबैंक भुक्तानी प्रणालीको कारोबार समय परिवर्तन भएको छ। 

Tata
GBIME
Nepal Life

जेठबाट शनिबार र आइतबारको सार्वजनिक बिदालाई समेत मध्यनजर गर्दै एनसीएचएलले सो प्रणाली शुक्रबार समेत पूर्ण रुपमा सञ्चालनमा रहने जनाएको छ। संशोधित तथा थप नयाँ सत्रहरुको व्यवस्था जेठ ३ गतेदेखि लागु हुने कम्पनीले जनाएको छ। 

एनसीएचएल- इसीसी प्रणालीको रेगुलर सत्रमा दिउँसो ३ बजेसम्म र एक्सप्रेस सत्रमा दिउँसो ४ बजेसम्म पेश हुन आएमा चेकहरु सोही दिन नै राफसाफ गर्ने बताइएको छ। अन्तिम सेटलमेन्ट ५:१५ पछि हुने व्यवस्था गरिएको एनसीएचएलले जनाएको छ। 

हरेक २–२ घण्टा भित्र चेकको राफसाफ गर्न मिल्ने एक्सप्रेस क्लियरिङ दिउँसो ४ बजेसम्म चेक पेश गर्न मिल्ने गरी जम्मा ४ वटा एक्सप्रेस क्लियरिङ सत्र संचालन हुने बताइएको छ। त्यस्तै २०—३० करोड रुपैयाँसम्मको चेक राफसाफको लागि हाई भ्यालू चेक क्लियरिङको सत्र पनि थप गरी दिउँसो ३ बजेसम्म चेक पेश गर्न मिल्ने व्यवस्था गरिएको एनसीएचएलले जनाएको छ। 

त्यसैगरी एनसीएचएल आइपीएस प्रणालीमा साँझको ५ बजेसम्म प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिन (टी+०) नै राफसाफ हुने एनसीएचएलले जनाएको छ। 

साथै बिहान ९ बजेदेखि ५ बजेसम्म प्राप्त भुक्तानी आदेशहरु हरेक २—२ घण्टामा नै राफसाफ हुने गरी छोटो अवधिका सत्रहरु पनि थप गरिएको बताइएको छ। 

हरेक कार्यदिनको ५:३० बजेसम्म प्राप्त भएका बैंकको आफ्नो ट्रेजरी फण्डिङ्ग सम्बन्धी भुक्तानी आदेशहरु समेत सोही दिनमा फर्छ्यौट हुने एनसीएचएलले जनाएको छ। तोकिएको समयसीमा पछि प्रणालीमा पेश हुन आएका कारोबारहरु अर्को कार्य दिनमा राफसाफ हुने व्यवस्था यथावत् रहने बताइएको छ।

जाडो महिनामा (कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म) आरटीजीएसको समय सीमासँग मिल्ने गरी एनसीएचएल आइपीएस समय सीमा एक घण्टा कम हुने एनसीएचएलले जनाएको छ। 

त्यसैगरी रिटेल पेमेन्ट स्वीच (आरपीएस/कनेक्ट आइपीएस) मार्फत हुने रियल टाइम भुक्तानीलाई थप टेवा पुर्‍याउन बैंकहरुबीच हुने सेटलमेन्टलाई हरेक एक घण्टामा साँझको ६ बजेसम्म (दिनमा १० पटकसम्म) गर्ने व्यवस्था गरिएको बताइएको छ। ग्राहकको खातामा भने उक्त कारोबार रियल टाईममा नै हुने व्यवस्था यथावत रहेको एनसीएचएलले जनाएको छ।