BIZMANDU
www.bizmandu.com

देशभर स्थानीय तहको निर्वाचन जारी, कतै शान्तिपूर्ण रुपमा मतदान हुँदै त कहीँ भने विवाद

२०७९ बैशाख ३०

देशभर स्थानीय तहको निर्वाचन जारी, कतै शान्तिपूर्ण रुपमा मतदान हुँदै त कहीँ भने विवाद
देशभर स्थानीय तहको निर्वाचन जारी, कतै शान्तिपूर्ण रुपमा मतदान हुँदै त कहीँ भने विवाद



काठमाडौं। देशका धेरै स्थानहरुमा शान्तिपूर्ण रुपमा मतदान भइरहे पनि केही स्थानमा भने विवाद देखिएको छ।

Tata
GBIME
Nepal Life

महोत्तरीको बलवा नगरपालिकाको एक मतदान स्थलमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ। शुक्रबार जारी स्थानीय तहको निर्वाचन अन्तर्गत मतदानको क्रममा महोत्तरीको बलवा नगरपालिका वडा नम्बर ५ को मतदान स्थलमा विवाद भएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बलवा नगरपालिका-५ स्थित मनसिव महाविर आधारभुत विद्यालयमा रहेको मतदान स्थलमा जनता समाजवादी पार्टीबाट वडा नम्बर ५ का उम्मेदवार धमेन्द्र यादवले रुजु गर्नका लागि राखिएको मतदाता नामावली केही सुधार भएर च्यातिएपछि होहल्ला गरेको जानकारी दिए। भिडलाई तितरबितर गर्नका लागि त्यहाँ खटेका सुरक्षाकर्मीले एक राउण्ड हवाई फायर गरेको बताए।

विवाद अहिले समाधान भएर मतदान भइरहेको उनले बताए। यस्तै, जिल्लाको बाँकी मतदानस्थलहरुमा अहिलेसम्म शान्तिपूर्ण रुपले मतदान भइरहेको उनले जानकारी दिए। 

यस्तै, स्थानीय तह निर्वाचनको क्रममा अवस्था तनावग्रस्त बनेपछि सर्लाहीको धनकौल गाउँपालिकामा प्रहरीले ६ राउन्ड हवाई फायर गरेका छन्।
राजनीतिक दलका नेता कार्यकर्ताबिच झडप हुन थालेपछि प्रहरीले हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए।

धनकौल गाउँपालिका-२ पशु सेवा केन्द्र मतदान स्थलमा सुरक्षाकर्मीले हवाई फायर गरेका हुन्। प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले धनकौलमा स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको जानकारी दिए।

राजनीतिक दलका कार्यकर्ताहरुबिच ढुंगा हानाहान समेत भएको छ। विवाद भएको मतदान स्थलमा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन। राजनीतिक दलहरूबिच छलफल चलिरहेको प्रवक्ता बुढाथोकीले जानकारी दिए।

सिन्धुपाल्चोकको मेलम्ची ४ स्थित ज्यामिरेमा मतदानको क्रममा विवाद भएको छ। आधिकारिक व्यक्तिले मत नहालेर अशक्त र अपांगको नाममा अरुले नै मत प्रभावित गर्ने गरी मतदान गर्ने विषय उत्कर्षमा पुगेपछि सुरक्षाकर्मी परिचालन गरिएको छ।

नेपाली सेना र प्रहरीलाई बाक्लो सङ्ख्यामा परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए।

'विवाद भएपछि सेना र प्रहरी परिचालन भइसकेको छ। अहिले अवस्था सामान्य भइसकेर निर्वाचन भइरहेको छ,' सीडीओ खनालले भने।
अहिले त्यहाँको अवस्था सामान्य रहेको छ। बिहान ७ बजेदेखि देशका ७ सय ५० स्थानमा स्थानमा निर्वाचन भइरहेको छ।

केही स्थानमा झडप भए पनि निर्वाचन स्थगित भएको बारे गृह प्रशासनले आधिकारिक जानकारी दिएको छैन। 

यस्तै धनुषाको शहीदनगर नगरपालिकाको एक मतदान स्थलमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ। शुक्रवार जारी स्थानीय तहको निर्वाचन अन्तर्गत मतदानको क्रममा धनुषाको शहीदनगर नगरपालिका-१ स्थित कुम्भकरण मतदान स्थलमा विवाद भएको हो।

एक जना दृष्टिविहीन वृद्धालाई मतदानमा सहयोग गर्न प्रतिनिधि जाँदा दलहरुबिच विवाद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए। विवादपछि भिडलाई तितरबितर गर्नका लागि त्यहाँ खटेका सुरक्षाकर्मीले एक राउण्ड हवाई फायर गरेको उनले बताए।