BIZMANDU
www.bizmandu.com

नलिन्चोकको ३३ रोपनीमा सुविधासम्पन्न स्थायी हेलिप्याड बन्दै, एकसाथ २७ हेलिकोप्टर अट्ने


नलिन्चोकको ३३ रोपनीमा सुविधासम्पन्न स्थायी हेलिप्याड बन्दै, एकसाथ २७ हेलिकोप्टर अट्ने
नलिन्चोकको ३३ रोपनीमा सुविधासम्पन्न स्थायी हेलिप्याड बन्दै, एकसाथ २७ हेलिकोप्टर अट्ने


काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले रोटर विङ्स (हेलिकोप्टर) उडान-अवतरण सहज बनाउनका लागि भक्तपुरको नलिन्चोकमा हेलिकोप्टर मात्रका लागि अलग्गै स्टेशन बनाउने भएको छ।

Tata
GBIME
Nepal Life

हेलिप्याड करिब ३३ रोपनी क्षेत्रफलमा रहने र यो कम्तिमा २७ वटा हेलिकोप्टर स्थायी रुपमा पार्किङ गर्न सक्ने क्षमताको हुने क्यानका प्रमुख इन्जिनियर मुराहरि भण्डारीले बताए। 

यसको लागत करिब ३० करोड रुपैयाँ अनुमान गरिएको छ। सुरुआती चरणमा हेलिप्याड तयार पार्नका लागि १५ करोड रुपैयाँ खर्च गरिनेछ भने भवन संरचनाका लागि कम्तिमा थप १५ करोड रुपैयाँ लाग्ने अनुमान छ।

नलिन्चोकमा बन्ने हेलिप्याड हेलिकोप्टर सेवा संचालनका लागि आवश्यक सम्पूर्ण सुविधा सहितको हुने भण्डारीले जानकारी दिए। यो हेलिप्याड संचालनमा आएसँगै नेपालका कुनै पनि गन्तव्यमा हेलिकोप्टर सेवा संचालनका लागि सहज र सुविधा हुने उनको भनाइ छ। 

भण्डारीका अनुसार उक्त हेलिप्याड एरियामा इन्धनका लागि एउटा स्थायी ट्याङ्क, फायर फाइटिङका लागि आवश्यक छुट्टै कक्ष, यात्रुका लागि सानो टर्मिनल भवन, हेलिकोप्टर कम्पनीहरुका लागि कार्यालय, कन्फेक्सनरी सप, मर्मत संभारका लागि ह्याङ्गर लगायतका सम्पूर्ण संरचनाहरु तयार हुनेछन्। यस हिसाबले यो 'मिनि एयरपोर्ट'को सुविधासहितको हुनेछ।

हेलिप्याड निर्माणको योजना बनाइएको क्षेत्रमा अहिले क्यानले हवाईजहाजका लागि लोकेटर स्टेशन संचालन गरिरहेको छ। सोही क्षेत्रको ३३ रोपनीमा हेलिप्याड निर्माण गरेर अबको एक वर्षभित्रै संचालनमा ल्याउने योजना रहेको छ। 

यातायातका हिसाबले पनि काठमाडौंबाट नजिकै भएका कारण नलिन्चोकमा नयाँ हेलिप्याड निर्माणको गर्ने योजना क्यानले बनाएको हो। 

हेलिप्याड स्थान्तरण गरिएसँगै प्राधिकरणले हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको पार्किङ क्षेत्रमा ठूला जहाजका लागि ह्याङ्गर क्षेत्र संचालनमा ल्याउने योजना बनाएको छ।

हाल रहेको हेलिकोप्टरको पार्किङ क्षेत्रनजिकै बुद्ध एयरले आफ्नो ह्याङ्गर संचालनमा ल्याइसकेको छ। अब यससँगै एयरबस ३२०, ३३० सिरिजका लगायत जहाज अट्ने ह्याङ्गरका लागि ठाउँ दिने तयारी रहेको भण्डारीले बताए।

'काठमाडौं विमानस्थल एकदम व्यस्त हुँदै आएको अवस्था हो। अहिले भएको हेलिप्याडमा ह्याङ्गर एरिया बनाउने योजना रहेको छ। अहिले एउटा ह्याङ्गर त बुद्धको रहेको छ। यो सँगै एयर बस ३३० र एयरबस ३२० सिरिजका ठूला जहाज अट्ने ह्याङ्गरका लागि स्पेस डेभलप गर्ने योजना रहेको छ,' भण्डारीले भने।

यसअन्तर्गत प्राधिकरणले ट्यासी वे, लाइटिङ लगायतको व्यवस्था गरिदिने उनले जानकरी दिए। ह्याङ्गर भने वायुसेवा कम्पनी आफैंले तयार गर्नुपर्ने प्रावधान छ। भण्डारीका अनुसार नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले आफ्नै ह्याङ्गर निर्माणका लागि चासो देखाइसकेका छन्।

हाल सिम्रिक, एयर डाइनेष्टी, कैलाश, मुस्ताङ, मनाङ, हेली एभरेष्ट, श्री, प्रभु, अल्टिच्युड, माउन्टेन, फिस्टेल लगायत हेलिकोप्टर कम्पनीका करिब तीन दर्जन हेलिकोप्टरहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै संचालन भइरहेका छन्।

यो एउटै विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडानसँगै हेलिकोप्टर पनि संचालन भइरहँदा एयर ट्राफिक कन्जेशन अत्यधिक हुने गरेको छ। एकै ठाउँबाट हुँदै आएका सबै किसिमका उडानका कारण यतिखेर फ्लाइट डिले, जहाज होल्ड हुने लगायत समस्या देखिँदै आएको छ। हेलिप्याड नलिन्चोकमा सारेपछि यो अवस्था केही हदसम्म घट्ने व्यवसायीले जनाएका छन्।