BIZMANDU
www.bizmandu.com

उद्योग संरक्षणका लागि भन्सार बढाउने तयारी, निजीक्षेत्रले दियो ७७ वस्तुको सूची, केमा कति बढ्ला?

२०७९ बैशाख २९

उद्योग संरक्षणका लागि भन्सार बढाउने तयारी, निजीक्षेत्रले दियो ७७ वस्तुको सूची, केमा कति बढ्ला?
उद्योग संरक्षणका लागि भन्सार बढाउने तयारी, निजीक्षेत्रले दियो ७७ वस्तुको सूची, केमा कति बढ्ला?


काठमाडौं। स्वदेशी उद्योग संरक्षणका लागि नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई सूचीसहित सुझाव दिएको छ। कच्चा पदार्थ र तयारी वस्तुको भन्सार अन्तर धेरै नभएपछि अन्तर बढाउन महासंघले सुझाव दिएको हो। 

Tata
GBIME
Nepal Life

आर्थिक वर्ष २०७६/७७ मा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सेन्थेटिक जुसमा आयात प्रतिबन्ध तथा भन्सार महसुल वृद्धि गर्दा यस किसिमका उद्योगमा स्वदेशी लगानी थपिएको थियो।

यस्तै, आगामी आर्थिक वर्षको बजेटमा पनि भन्सार महसुल अन्तर गरी स्वदेशी उद्योग संरक्षणका लागि तयारी गरिएको छ। अर्थमन्त्री जनार्दन शर्माले कुन-कुन वस्तुमा भन्सार अन्तर गर्न आवश्यक छ भन्ने सुझाव लिखितरुपमै मागेपछि महासंघले सोहीबमोजिम तयारी वस्तु र कच्चा पदार्थको महसुल अन्तरको सूची तयार पारेको हो। 

स्वदेशी उद्योग संरक्षणका लागि तयारी वस्तु र कच्चा पदार्थको महसुल अन्तर हुनैपर्ने भएकोले लिखितरुपमै कुन वस्तुमा कति महसुल लगाउने भनि सुझाव तयार गरेको महासंघका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले बताए। 

यस्ता छन् महसुल अन्तर बढाउनुपर्ने वस्तुहरु 

महासंघले ७७ प्रकारका वस्तुका लागि भन्सार महसुलमा अन्तर कायम गर्नुपर्ने सुझाएको छ।

अहिले मुसुरो, मास र रहरको दालमा भन्सार १० प्रतिशत लाग्दै आएको छ। यसलाई २० प्रतिशत बनाउनुपर्ने सुझाव महासंघको छ। नेपालमा थुप्रै दाल उद्योग भएकाले यी उद्योगहरुको संरक्षणका लागि भन्सार महसुल वृद्धि गर्न भनिएको हो।

चना आयातमा अहिले १० प्रतिशत भन्सार महसुल तिर्नुपर्ने व्यवस्था छ। तर बेसनको पिठो आयात गर्दा भने ५ प्रतिशत मात्रै भन्सार तिरे पुग्छ। यसलाई बढाएर चनाको भन्दा बढी हुने गरी १५ प्रतिशत पुर्‍याउन भनिएको छ। 

यस्तै, तयारी स्टेशनरी सामाग्रीहरु कापी, रजिष्टर, डे-बुक, डायरी इत्यादि आयात गर्दा हाल २० प्रतिशत भन्सार लाग्दै आएको छ। यसलाई बढाएर ३५ प्रतिशत पुर्‍याउन भनिएको छ।  तयारी इन्डेक्स फाइल अहिले प्रतिगोटा ०.६ का दरले आयात हुन्छ यसमा ०.९ प्रतिशत भन्सार लगाउन भनिएको छ। यस्तै तयारी कापी रजिष्टार डेबुक डायरीमा प्रतिगोटा १.७५ डलर लाग्दै आएकोमा ४ डलर लगाउन सुझाइएको छ।

कोका मिसिएको वा नमिसिएको तयारी आइसक्रिम आयात गर्दा लाग्दै आएको साढे ९ प्रतिशत भन्साल महसुललाई बढाएर ४० प्रतिशत पुर्‍याउन सुझाइएको छ। यस्तै आइसक्रिम कोनको भन्सार भने अहिलेको ४० प्रतिशतबाट घटाएर १५ प्रतिशतमा ल्याउन भनिएको छ। 

यस्तै, बेबी डाइपर, सेनिटरी प्याडहरु उत्पादन गर्न नेपालमै उद्योगहरु खुलिसकेकाले यी वस्तु आयातमा अहिले कायम १५ प्रतिशत भन्सारलाई दोब्बर (३० प्रतिशत)  पुर्‍याउन भनिएको छ।  

महासंघले दिएको अर्को सुझावमा अहिले नेपालको निर्यात रकममा उल्लेख्य भूमिका देखिँदै आएको सनफ्लावर, पाम, सोयाबिन, भेजिटेबल इत्यादि तेलको निर्यात लाग्दै आएको भन्सार झन्डै दोब्बरले बढाउनुपर्ने औंल्याइएको छ। तेस्रो देशबाट आयात गरेर भारत निर्यात हुने यी वस्तुहरुमा स्वदेशी उद्योगको मूल्य अभिवृद्धिका लागि अहिले १५ प्रतिशत महसुललाई २५ प्रतिशत पुर्याउन भनिएको हो। 

थोपा सिं‌चाईंको पाइप मल्चिङ प्लास्टिक आयात गर्दा अहिले सरकारले एक प्रतिशत मात्र भन्सार लिँदै आएको छ। यो वस्तु नेपालमै उत्पादन हुने भएकाले यसको भन्सारलाई बढाएर ३० बनाउनुपर्ने भनाइ महासंघको छ। सिमेन्ट उद्योगमा प्रयोग गरिने फ्लाई एस आयातमा हाल लाग्दै आएको प्रतिटन एक हजार भन्सारलाई शुन्यमा झार्न भनिएको छ।

लुब्रिकेन्ट बनाउन प्रयोग गरिने बेस आयलमा भने ३० प्रतिशत भन्सार महसुल घटाउन भनिएको छ। यस्तै, तयारी फुटवेयर, अप्पर मेटेरियल र सम्पूर्ण कच्चा पदार्थमा क्रमशः ३०, १५  र ५ प्रतिशत भन्सार लगाउन भनिएको छ। यारी जुत्ता चप्पलको भन्सार महसुल भने वृद्धि गर्न सुझाइएको छ।     

स्लिपर चप्पलहरुमा प्रतिजोर ३ सय ५०, फेन्सी चप्पलमा ५ सय, स्पोर्ट जुत्ताहरुमा १२ सय, लेडिज चप्पलमा ७ सय, पार्टी जुत्तामा २ हजार, गमबुटमा ४ सय ५० लेडिज जुत्तामा ८ सय, क्यानभास जुत्ताहरुमा ८ सय भन्सार महसुल लगाउन भनिएको छ।

यी वस्तुहरुमा भन्सार महसुल वृद्धि गर्दा  सरकारको राजस्वमा समेत वृद्धि हुने अनुमान गरिएको छ। यसैगरी, कम भन्सार मूल्यांकन भएका वस्तुमा भन्सार बढाउन भनिएको छ।