BIZMANDU
www.bizmandu.com

चुनाव अघि सेयर कारोबारमा बिक्रेताको नियन्त्रण, अन्तिम प्रहरको सेलिङ प्रेसरले कारोबार उच्च

२०७९ बैशाख २९

काठमाडौं। चुनावभन्दा अघिल्लो कारोबार क्रेता र बिक्रेता माझ बजार निर्णायक मतभेद देखिएको छ। कारोबार अवधिभर उतार चढावको शृंखला निरन्तर चलेको बजार गतिविधिले देखाउँछ । यद्यपि अन्तिम प्रहरमा बिक्रेता बजारमा हावी हुँदा परिसूचकले १८.६४ अंक गुमाएर बन्द भएको छ।

Tata
GBIME
Nepal Life

साताको अन्तिम कारोबारपछि परिसूचक पुन: २३५०.४२ को विन्दुमा ओर्लिएको छ । साताको सुरुवातदेखि बजार खरिदकर्ताले नियन्त्रण गर्दै आएका थिए। ‘सर्ट टर्म बुलिस’ प्रवृत्ति हावी हुँदा बुधबारसम्म परिसूचकले १२७ अंकको पुनरागमन समेत लिइसकेको थियो। 

तर, साताको अन्तिम कारोबारमा बिक्रेता निर्णायक बनेका छन्। पछिल्लो चार दिनदेखि लगातार बढेका कम्पनीहरुको मूल्यलाई लगानीकर्ताले ‘प्रोफिट बुकिङ्ग’को अवसर सरह लिए। अन्तिम प्रहरमा बिक्रि चाप थप बढ्न गएको थियो। ‘सेलिङ प्रेसर’को सहायतामा कारोबार रकमले पनि करिब २३ कारोबार दिन यता कै ठूलो आकार पाएको छ। तर परिसूचक भने खुम्चियो।

आज सेयर बजारमा २ अर्ब २३ करोड रुपैयाँ अधिकको सेयर खरिद बिक्री भएको छ। सो बराबरका ५२ लाख २७ हजार कित्ता कारोबारमा आए। 

बजारको बढ्दा पछिल्लो चार कारोबार क्रेताको विशेष आकर्षण पाएका विकास बैंक, जलविद्युत र बीमा अन्तर्गतका कम्पनी नै आज सबै भन्दा बढी घटे । यी उपसमूहमा २ प्रतिशत अधिकको गिरावट देखिन्छ। होटल तथा पर्यटन, लगानी, लघुवित्त, व्यापार र सामूहिक लगानी कोष समेत एक प्रतिशत अधिक घटेका छन्। 

उत्पादन तथा प्रसोधन र अन्य उपसमूह अन्तर्गतका कम्पनीमा भने लगानीकर्ता अझै आकर्षित देखिए। प्रमुख सूचक घट्दा समेत उत्पादन तथा प्रसोधन उपसमूह आज डेढ प्रतिशत बढेको छ। 

उत्पादन तथा प्रसोधन वर्ग अन्तर्गतको शिवम सिमेन्ट आज कारोबारको शिर्ष स्थानमा छन्। सिमेन्ट कम्पनीको मात्र ११ करोड अधिकको सेयर किनबेच भयो। कम्पनीको सेयर मूल्य पनि ५.१७ प्रतिशत बढेको छ।

राधि विद्युत र अरुण भ्याली हाइड्रोका सेयर पनि टप कारोबार भएका कम्पनी मध्ये छन्। दुवैको ८ करोड अधिकको सेयर कारोबार भएको छ। यद्दपी राधि विद्युतको सेयर मूल्य झन्डै डेढ प्रतिशत बढ्दा अरुण भ्यालीको ३.२२ प्रतिशत घटेको छ।  

बिहीबार पनि जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्यमा सर्किट लाग्ने क्रम कायमै छ। निरन्तर सकारात्मक सर्किट लाग्दै गएको लघुवित्तको २४४८.६० रुपैयाँमा अन्तिम कारोबार भएको छ। जलविद्युत उपसमूह घटेपनि तेह्रथुम पावर र युनियन हाइड्रोपावरको सेयर मूल्य भने बढेको छ।

आज कुल ३४ वटा कम्पनीको सेयर मूल्य बढेको छ। १५१ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ। ९ यस्ता कम्पनीको मूल्य अघिल्लो दिनको तुलनामा स्थिर भएको पाइयो। 

सूर्योदय वोमी लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक गुमाए। लघुवित्तको सेयर मूल्य नकारात्मक सर्किटका साथ घटेको हो। प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफको सेयर मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ।