BIZMANDU
www.bizmandu.com

सडकमा सवारी चाप कम, ट्राफिक प्रहरीको संख्या थोरै, उपत्यकाका ट्राफिक चुनावी सुरक्षामा

२०७९ बैशाख २८

सडकमा सवारी चाप कम, ट्राफिक प्रहरीको संख्या थोरै, उपत्यकाका ट्राफिक चुनावी सुरक्षामा
सडकमा सवारी चाप कम, ट्राफिक प्रहरीको संख्या थोरै, उपत्यकाका ट्राफिक चुनावी सुरक्षामा

काठमाडौं। तपाईँले आजभोलि काठमाडौंका सडकमा सवारी र मानिसको उपस्थिति कम भएको महशुस गर्नु भएको छ ? दशैं तिहारको जस्तो सुनसान त पकै होइन तर पनि केही सडकमा भने सवारी र मानिसको भिड भने पातलिएको छ।

Tata
GBIME
Nepal Life

काठमाडौं उपत्यकामा विभिन्न कामका सिलसिलमा बस्दै आएका मानिसहरु स्थानीय तहको निर्वाचनका लागि आफ्नो थातथलोतिर फर्किन थालेकाले सडकमा तुलनात्मक हिसाबले भिड कम भएको हो।

अहिले काठमाडौं उपत्यकाभित्रका विभिन्न नाकाबाट साविक भन्दा धेरै सवारी साधनबाट मानिस बाहिरिने गरेका छन्। काठमाडौंबाट बाहिरिनेको सङ्ख्या दैनिक भित्रिनेको तुलनामा धेरै भएकाले पनि काठमाडौं उपत्यकाको सडकमा केही खुकुलो सवारी साधन देखिएको हो।

अहिले दैनिक काठमाडौं उपत्यकाबाट ५० हजार भन्दा धेरै यात्रु बाहिरिएको महानगरीय ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ। निर्वाचनको कारणले गर्दा पनि तुलनात्मक रुपमा सडकमा कम सवारी भएको हुनसक्ने महाशाखाका एसएसपी उमेशराज जोशीले बताए।

'अहिले पहिलेको तुलनामा सडकमा कम सवारी देखिन्छ। औशत दैनिक ५० हजार भन्दा धेरै मानिस काठमाडौं उपत्यकाबाट बाहिरिएको देखिन्छ,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी उमेशराज जोशीले भने।

५/६ दिनको अवधिमा काठमाडौंबाट करिब ४ लाख मानिस बाहिरिएको प्रहरीको तथ्याङ्कले देखाएको छ। त्यस्तै, निर्वाचनको महोल सुरु भएपछि दैनिक गाउँ फर्किनेक्रम बढेको देखिन्थ्यो।

सरकारले निर्वाचनको लागि वैशाख ३० गते सार्वजनिक बिदा दिएको छ। त्यसपछि पनि लगातार ४ दिनसम्म सार्वजनिक बिदा परेको छ। निर्वाचन र सार्वजनिक बिदा लगातार परेकाले सरकारी तथा निजी कार्यालयमा काम गर्ने कर्मचारीका लागि पनि निर्वाचनमा घर फर्किने वातावारण बनेको छ।

त्यसो त विभिन्न राजनीतिक दलले आफ्ना भोटर तथा कार्यकर्ताहरुलाई काठमाडौंबाट गाडी रिजर्भ गरेरका छन्। यसरी गाडी रिजर्भ गर्नेको सङ्ख्या पनि ह्वात्तै बढेको छ। केही दिनदेखि ३० प्रतिशतले साना तथा ठुला सवारीको बुकिङ बढेको नेपाल यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौंलाले जानकारी दिए।

'अरु बेलाभन्दा ३० प्रतिशत बढीले बुकिङ भइरहेको छ। सबैजसो मतदातालाई गाउँ लैजान बुकिङ भइरहेको हो,' उनले भने। बुकिङ गर्नेहरुमा दलको नाम उल्लेख नभए पनि उम्मेदवारले जिम्मा दिएका कार्यकर्ताले गाडी ठिक्क पारेको अनुमान गर्न सकिने उनले बताए।

'व्यक्तिगतरूपमा टिकट काटेर घर जानेको संख्या पनि बढेको छ,' उनले भने, 'एउटै पार्टीबाट १० देखि १५ वटासम्म गाडीको बुकिङ आउन थालेको छ। आगामी मंगलबार, बुधबार र बिहीबारका लागि गाडी बुकिङ गर्नेहरु धेरै भएको उनले बताए।

काठमाडौं उपत्यकाका ट्राफिक चुनावी सुरक्षामा

शुक्रवार स्थानीय तहको निर्वाचन हुँदैछ। सरकारले आफ्ना अधिकांश कर्मचारीलाई चुनावका लागि खटाएको छ। त्यस्तै, निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत परिचालन गरिएको छ। त्यतिमात्र होइन, सरकारले १ लाख म्यादी प्रहरी समेत परिचालन गरेको छ। प्रहरीका विभिन्न युनिट र व्यूरोमा खटिने प्रहरीलाई समेत यतिखेर चुनावी सुरक्षामा परिचालन गरिएको छ।

काठमाडौं उपत्यकाभित्रको ट्राफिक व्यवस्थापन हेर्ने ट्राफिक प्रहरी पनि यतिखेर देशका विभिन्न जिल्लामा खटिएका छन्। महाशाखामा दरवन्दी भएर खटिएका १ हजार भन्दा धेरै ट्राफिक प्रहरीलाई विभिन्न जिल्लाहरुमा खटाइएको छ। महाशाखाका एसपीदेखि जवानसम्म बाहिरी जिल्लामा खटाइएका छन्।

'काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई असर नपर्ने गरी १ हजार भन्दा धेरै ट्राफिक प्रहरीलाई बाहिर खटाइएको छ,' महाशाखाका एसएसपी उमेशराज जोशीले भने।

सामान्य समयमा काठमाडौं उपत्यकाभित्र ११ सय जना ट्राफिक प्रहरी सडकमा खट्ने गरेका थिए। अहिले भने करिब ५ सय ट्राफिक प्रहरी खटाइएको छ। चुनावी सुरक्षामा ट्राफिक प्रहरीलाई बाहिर खटाइएपछि महाशामा कार्यरत कार्यलय सहयोगी, प्रहरीको नाई लगायत अन्यलाई समेत परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ।

'खाना पकाउनेदेखि अन्य काममा खटिने कर्मचारीलाई समेत एक महिना अगाडि प्रशिक्षण गरेर ड्युटीमा खटाइएको छ। अहिले उनीहरु पनि खटिएका छन्,' महाशाखाका एसएसपी जोशीले भने।

सडकमा साविक अनुसार ट्राफिक प्रहरीको सङ्ख्या नभए पनि नियमित कामहरुमा कुनै असर नपरेको एसएसपी जोशीको दावी छ। सडकमा चालकले गरेको लापरबाहीदेखि मापसे लगायतका घटनामा नियमित काम भइरहेको छ।