BIZMANDU
www.bizmandu.com

नेक्सन इभी म्याक्स बुधबार लञ्च हुँदै, फुल चार्जमा काठमाडौं-पोखरा आउजाउ गर्न पुग्ने, मुल्य कति?

२०७९ बैशाख २७

नेक्सन इभी म्याक्स बुधबार लञ्च हुँदै, फुल चार्जमा काठमाडौं-पोखरा आउजाउ गर्न पुग्ने, मुल्य कति?
नेक्सन इभी म्याक्स बुधबार लञ्च हुँदै, फुल चार्जमा काठमाडौं-पोखरा आउजाउ गर्न पुग्ने, मुल्य कति?

काठमाडौं। विद्युतीय सवारीमा लामो दुरीको यात्रालाई लक्षित गरेर टाटा मोटर्सले ल्याउन लागेको नयाँ कार 'नेक्सन इभी म्याक्स' बुधबार लन्च हुने भएको छ।

Tata
GBIME
Nepal Life

यसमा नेक्सन इभीको यसअघिको मोडेलको तुलनामा ३० प्रतिशत ठूलो ब्याट्री राखिएको छ जसले एकपटक फुल चार्ज गर्दा करिब ४३७ किलोमिटर दुरी पार गर्ने दाबी कम्पनीले गरेको छ।

कम्पनीले दाबी गरेअनुसारको माइलेजले काठमाडौं-पोखरा बराबरको दुरी आउजाउ गर्न सकिनेछ। काठमाडौं-पोखराको दुरी सडकमार्गबाट करिब २०५ किलोमिटर हो। यसकारण टाटाको यो इभी विद्युतीय गाडीमै लामो दुरीको यात्रा गर्ने इच्छा राख्नेका लागि उपयुक्त सवारी बन्न सक्ने देखिन्छ।

यसलाई पुरानो नेक्सन इभीको जस्तै जीपट्रोन टेक्नोलोजी प्लेटफर्ममा निर्माण गरेको टाटा मोटर्सले जनाएको छ। 

टाटाले नेक्सन इभी म्याक्स मोडल दुई भेरियन्टमा आउने जनाएको छ। यसमा जेडएक्स प्लस र जेडएक्स प्लस लग्जरी भेरियन्ट छन्।

यसअघि अप्रिल २० मा लन्च हुने भनिएको यो इलेक्ट्रिक एसयुभीमा ठूलो ब्याट्री प्याक जडान गरिएको छ। साथै अरु केही नयाँ फिचरहरु पनि थप गरिएका छन्। वायरलेस मोबाइल चार्जिङको सुविधा पनि यसमा रहनेछ। 

यसमा सबैभन्दा ठूलो परिवर्तन भनेको ४०.५ किलोवाट क्षमताको ब्याट्री प्याक छ। जुन पहिलेको मोडेलमा ३०.२ किलोवाट क्षमताको थियो। लामो दुरीको यात्रामैत्री बनाउनका लागि डिजाइन गरिएको यस गाडीमा ठूलो क्षमताको ब्याट्री जडानका लागि कम्पनीले गाडीको स्पेसमा पनि परिमार्जन गरेको छ।

हालको नेक्सन इभीको माइलेज फुल चार्जमा ३१२ किलोमिटरसम्मको रहेको दाबी गरिएको थियो।  तर नेपालमा परीक्षण गर्दा यसले फुल चार्जमा २०० देखि २२० किलोमिटरको माइलेज दिएको थियो।

त्यसकारण टाटाको नेक्सन इभीले वास्तविक प्रयोगमा लगभग ४०० किलोमिटरसम्मको मात्र माइलेज दिने आकलन गरिएको छ।

यसमा पहिलेको भन्दा शक्तिशाली क्षमताको ६.६ किलोवाट एसी चार्जर विकल्प पनि उपलब्ध हुनेछ। जसले ब्याट्री चार्ज गर्न लगभग १० घण्टा लाग्छ। तर फास्ट चार्जिङको अप्सन पनि यसमा छ जसले ३० मिनेटमै ब्याट्री फुल चार्ज हुनेछ।

यो नयाँ नेक्सन इभीमा हालको मोडलभन्दा बढी फिचर्स हुने गरी अपडेट गरिएको जनाइएको छ। अपडेटेड आईसीई इन्जिन, एयर प्युरिफायर, भेन्टिलेटेड फ्रन्ट सिट लगायत पनि यसमा हुने बताइएको छ। हालको नेक्सन इभीमा रहेको क्रूज कन्ट्रोल, पार्किङ मोड र इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम (ईएसपी) पनि यसमा समावेश हुने अपेक्षा गरिएको छ।

नयाँ टाटा नेक्सन इभी म्याक्सको मूल्य हालको नेक्सन इभीको भन्दा भारतमै भारु ३ लाखदेखि ४ लाख रुपैयाँसम्म बढी पर्ने बताइएको छ। हाल बजारमा उपलब्ध नेक्सन इभीको मूल्य भारतमा १६-१७ लाख भारु छ भने नेपालमा यसको मोल ३५ लाख रुपैयाँ छ। नयाँ नेक्सन इभी म्याक्सको मूल्य भारतमै २० लाख भारु हाराहारी हुने अनुमान गरिएको छ। यसकारणमा नेपालमा आउँदा ४५ लाख रुपैयाँको आसपास पर्नेसक्ने देखिन्छ।

टाटाको अहिलेको नेक्सन इभी पनि विद्युतीय सवारी साधनमा भारतका साथै नेपालमा पनि उपभोक्ताले असाध्यै रुचाएका छन्। यसकारण नयाँ संस्करण नेक्सन इभी म्याक्स बजारमा पठाउने थालेपछि पनि टाटाले विद्यमान नेक्‍सन इभीको उत्पादन तथा बिक्री जारी नै राख्ने बताएको छ। ग्राहकलाई मूल्य र छनोटको अवसर दिइराख्नका लागि अहिलेको मोडेललाई पनि जारी राख्ने कम्पनीको भनाइ छ।

लामो दुरीका लागि उपयुक्त हुने दाबी गरिएको नयाँ नेक्सन इभी म्याक्स बुधबार मे ११ का दिन भारतमा लञ्च गर्न लागिएको हो। नेपालमा भने कहिलेबाट यो उपलब्ध हुन्छ भन्ने खुलाइएको छैन।

बहुप्रतिक्षित यस गाडीले अन्य मास-मार्केट इलेक्ट्रिक एसयूभीहरू- हुन्डाई कोना इलेक्ट्रिक र एमजी जेडएस इभीलाई कडा प्रतिस्पर्धा पेश गर्ने दाबी गरिएको छ।