BIZMANDU
www.bizmandu.com

ग्राहक संख्या नबढाए टिक्न मुस्किल छ साना आईएसपीहरुलाई, ६० जना ग्राहक भएका पनि सेवा दिँदै


ग्राहक संख्या नबढाए टिक्न मुस्किल छ साना आईएसपीहरुलाई, ६० जना ग्राहक भएका पनि सेवा दिँदै
ग्राहक संख्या नबढाए टिक्न मुस्किल छ साना आईएसपीहरुलाई, ६० जना ग्राहक भएका पनि सेवा दिँदै

काठमाडौं। देशका शहरी क्षेत्रसँगै पछिल्लो समय ग्रामीण क्षेत्रहरुमा पनि नाम चलेका सेवा प्रदायकहरुले इन्टरनेट सेवा विस्तार गरेका छन्। तर, यसरी इन्टरनेट पुर्‍याइएका कतिपय ठाउँ यस्ता छन्, जहाँ साना इन्टरनेट सेवा प्रदायकहरुले सयभन्दा कम ग्राहकका लागि पनि सेवा दिएर बसेका छन्। केहीले भने एक-दुई हजारको हाराहारीमा ग्राहकलाई पनि सेवा दिँदै आएका छन्। 

Tata
GBIME
Nepal Life

ठुला आईएसपीसहित पछिल्लो समय  ठूलो लगानीमा सञ्चालनमा आएका आईएसपीहरुले ल्याएका प्याकेज र आक्रामक रणनीतिका कारण साना तथा मझौला आईएसपीहरु भने ग्राहक जोगाउन र विस्तार गर्न मुस्किलमा परेका छन्। 

नेपाल दूरसञ्चार प्राधिकरणमा अहिले देशभरका करिब एक सय ३० हाराहारी इन्टरनेट सेवा प्रदायक दर्ता छन्। ६ लाखमाथि ग्राहक संख्या रहेका जायन्ट कम्पनीदेखि जम्मा ६० जना मात्र ग्राहक भएका इन्टरनेट कम्पनीहरु बजार प्रतिस्पर्धामा छन्। 

प्राधिकरणले मासिक रुपमा सार्वजनिक गर्ने एमआईएस रिपोर्टमा जम्मा ५७ वटा इन्टरनेट सेवा प्रदायकहरुको ग्राहक संख्या उल्लेख छ। दर्ता भएका अन्य आईएसपीहरुले प्राधिकरणलाई विवरण उपलब्ध गराएका छैनन्। 

दर्ता भएकामध्ये जम्मा पाँचवटा इन्टरनेट सेवा प्रदायकहरुसँग एक लाखमाथि ग्राहक छन्। वर्ल्डलिंक, क्लासिक टेक, भायनेट, नेपाल टेलिकम र सुबिसुसँग मात्रै लाखमाथि ग्राहक छन्। बाँकी ५२ सेवा प्रदायकमध्ये टेकमाइन्ड्स नेटवर्कको सबैभन्दा धेरै ८६ हजार ५७५ ग्राहक भएका छन् भने जिसान नेटवर्क प्रालि नामको आईएसपीका ग्राहक मात्र ६० रहेको प्राधिकरणको तथ्या‌ंक छ। 

ठुला आईएसपीहरु शहरदेखि ग्रामीण क्षेत्रहरुमा आक्रामक ढंगले अघि बढ्दा साना तथा मझौला आईएसपीहरु भने आफ्नो बजार खोसिने अवस्था र त्रासमा छन्। प्रतिस्पर्धामा टिकिरहन ग्राहक बढाउन साना तथा मझौला आईएसपीहरु अक्वायरको प्रक्रियामासमेत गएका छन्। मझौला आईएसपीले आफूलाई खरिद गरिदिउन् भन्ने चाहना केही साना इन्टरनेट सेवा प्रदायकहरुमा देखिएको छ।

साना तथा मझौला इन्टरनेट सेवा प्रदायकलाई ठुला आईएसपीबाट अर्को चुनौती भनेको आफैं ल्याउने ब्यान्डविथ पनि हो। ठुला आईएसपीहरुले आफैं ब्यान्डविथ आयात गरेर बिक्री गरिरहेका छन् भने साना आईएसपीहरु भने नेटवर्क सेवा प्रदायकसँग ब्यान्डविथ खरिद गर्दै आएका छन्। 

नेटवर्क सेवा प्रदायकसँग ब्यान्डविथ किन्नुभन्दा आफैंले ब्यान्डविथ ल्याएर इन्टरनेट बिक्री गर्दा केही सस्तो पर्न आउँछ। जसका कारण ब्यान्डविथ आफैं आयात गर्ने आईएसपीले तुलनात्मक रूपमा सस्तोमा सेवा बिक्री गर्ने भएकाले उनीहरुको प्रतिस्पर्धी क्षमता अरुबाट ब्याडन्विथ किन्ने साना कम्पनीको भन्दा निक्कै बलियो छ। यसले साना आईएसपीलाई इन्टरनेट सेवा क्षेत्रमा देखिएको चर्को बजार प्रतिस्पर्धामा टिक्नै हम्मे हम्मे पर्ने प्रष्ट देखिन्छ। 

दूरसंचार प्राधिकरणमा नेटवर्क सेवा प्रदायक (एनएसपी) को लाइसेन्स लिनेको संख्या २१ छ। एनएसपीको अनुमति पाएका कम्पनीहरुले मात्रै ब्यान्डविथ आयात गर्न पाउँछन्। अनुमति नपाएका अन्य आईएसपीहरुले यिनै ठुला कम्पनीहरुबाट ब्यान्डविथ खरिद गरेर ग्राहक विस्तार गर्दै लगेका छन्। 

मर्कन्टाइल कम्युनिकेसन्स, कम्युनिकेन्सन्स एण्ड कम्युनिकेट, वर्ल्डलिंक, वेबसर्फर नेपाल, सुबिसु केबलनेट, सीता बीभी, ब्रोडलिंक नेटवर्क, क्लासिक टेक, टेकमाइन्ड्स, नेपाल डिजिटल सर्भिस, एनसेल, भायनेट, नेपाल इन्फ्र एण्ड कम्युनिकेसनले एनएसपीको लाइसेन्स पाएका छन्। 

यस्तै, पर्सा टेलिकम्युनिकेसन, बाराही इन्टरनेट, फर्स्टलिंक कम्युनिकेसन्स, डिस मिडिया नेटवर्क, सीजी कम्युनिकेसन्स, फाइबर वर्ल्ड कम्युनिकेसन, स्पेस लिंक र आइटेल नेटवर्कले पनि एनएसपीको अनुमति लिएका छन्। 

इन्टरनेट बजारमा बढ्दो प्रतिस्पर्धाका कारण साना तथा मझौला सेवा प्रदायकहरुलाई अप्ठ्यारो पर्दै गएको बताउँछन् लुप नेटवर्क लिमिटेडका कार्यकारी अध्यक्ष सतीश पोखरेल। 

लुप नेटवर्क गतवर्ष मात्रै पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो। लुपले केही वर्षभित्रै सर्वसाधारणलाई आईपीओ जारी गर्ने योजनासमेत बनाएको छ। कम्पनीले काठमाडौंसहित नवलपरासी, धनुषा लगायतका क्षेत्रमा इन्टरनेट सेवा दिँदै आएको छ। लुपसँग अहिले नौ हजार हाराहारी इन्टरनेट प्रयोगकर्ता रहेको प्राधिकरणको तथ्यांक छ। 

‘साना तथा मझौला आईएसपीहरुले अब ग्राहकदेखि ब्यान्डविथ बढाएनन् भने टिक्न सम्भव छैन। दूरसंचार प्राधिकरणले सेवाको गुणस्तरमा एकदमै कडाई गर्दै लगेको छ। पहिला दुई सय, पाँच सय, हजार ग्राहक लिएर बसेर, नाफा कमाए पनि अहिले भने ग्राहकले किन्ने इन्टरनेटको मूल्य निकै घट्यो तर माग अधिक बढ्यो। अब प्रतिस्पर्धामा टिक्न हामीलाई ठूलो स्केलमा नगइ सुखै छैन,’ पोखरेलले भने।

साना तथा मझौला आईएसपीहरुलाई अहिलेको कटथ्रोट प्रतिस्पर्धामा टिकिरहन ग्राहक संख्या बढाउनुको विकल्प नभएको उनीहरु आफैं बताउँछन्। ग्राहक संख्या कम भएकाले अहिले नै आफैंले ब्यान्डविथ किनेर खपत गर्न सक्ने क्षमता नभएको भन्दै पोखरेलले प्रतिस्पर्धी आईएसपीहरुसँग आफूहरुले ब्यान्डविथ नकिन्ने  बताए। 

‘वर्ल्डलिंक, सुबिसु भनौं वा भायनेट, उनीहरुसँग ब्यान्डविथ खरिद गर्दैनौं। हामीले ब्यान्डविथ खरिद गर्न कम्पनीहरु विशुद्ध व्यान्डविथ बेच्ने कम्पनी हुन्। प्रतिस्पर्धी कम्पनीहरुबाट किन्यौं भने त कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुन्छ नि,’ पोखरेलले भने। 

बढ्दो प्रतिस्पर्धामा टिक्न लुप नेटवर्क अहिले मझौला तथा साना आईएसपीहरु खरिद गर्ने बाटोमा आक्रामक देखिएको छ। कम्पनीका कार्यकारी अध्यक्ष पोखरेलका अनुसार यसले तीनवटा आईएसपी अक्वायर गरिसकेको छ। साना इन्टरनेट रिसेलरहरु पनि करिब सातवटा प्राप्ति गरिसकेको पनि उनले बताए। 

यस्तो छ आईएसपीहरुको ग्राहक संख्या