BIZMANDU
www.bizmandu.com

सञ्चार प्लाटफर्मको विकास गर्दै भक्स-क्रो, आयातित महँगा सफ्टवेयरको विकल्प बन्दै नेपाली कम्पनी

२०७९ बैशाख २२

काठमाडौं । कुनै पनि संस्थालाई आफ्नो ग्राहक तथा स्टाफहरूसँग जोडेर राख्न सञ्चार प्रविधि अत्यन्तै आवश्यक पर्दछ। नेपालमा  सञ्चार प्रविधि तथा कल सेन्टरका लागि चाहिने सफ्टवेयर विदेशबाट ठूलो मूल्य तिरेर आयात गर्नु परिरहेको अवस्था छ। सोही अवस्थालाई चिर्ने प्रयासमा छ भक्स-क्रो।

Tata
GBIME
Nepal Life

भक्स-क्रो एक प्रविधि संस्था हो, जसले नेपालमा सञ्चार प्लाटफर्महरू विकास गर्दछ। यसले उपभोक्ताहरूले प्रयोग गर्ने कुनै पनि मोबाइलहरू, बोल्ने भाषा वा उनीहरूको शैक्षिक स्तरको बाबजुद हरेक व्यवसायलाई उपभोक्ताहरूसँग जोड्दछ। यो भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भीओआइपी) प्रविधिमा आधारित कम्पनी ३७ वर्षका सुशान्त राई र ३१ वर्षका दीपेश रेग्मीको दिमागको उपज हो।

सूचनाप्रविधिको रुचिले जन्मिएको व्यवसाय 
सुर्खेतमा जन्मे हुर्केका  सुशान्त सानैदेखि इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमा निकै रुचि राख्थे। आठ कक्षासम्म सुर्खेतमै पढेका सुशान्तले  बाँकी पढाई काठमाडौँमा नै पूरा गरे। बीबीएसमा स्नातक  गरेका सुशान्तको भ्वाइस ओभर इन्टरनेट प्रोटोकल  (भीओआइपी)सँग  पहिलोपटक परिचय सन् २००३ मा नै भएको थियो।

त्यतिबेला भीओआइपीलाई ‘कल पासिङ’का नामले चिनिन्थ्यो र  यो अवैध थियो।  त्यसैले आफ्नो प्रविधिप्रतिको रुचिलाई पछ्याउँदै सुशान्तले  सिंगापुर र मलेसियाको आईटी कम्पनीमा काम गर्न पुगे। साथै इन्टरनेटमा जेजति कन्टेन्टहरू थियो त्यसैबाट नै उनले सूचना प्रविधि तथा भीओआइपीको बारेमा पढ्ने बुझ्ने गर्थे।

सुशान्तले २००६ मा सिस्कोबाट भीओआइपीको सर्टिफिकेसन पनि हासिल गरे। विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थामा तथा आइटी सपोर्टको व्यवसायमा समेत आबद्ध रहेका सुशान्तलाई सन् २०१५ मा अमेरिकी  वित्तीय कम्पनीको लागि काम गर्दा, भीओआइपीलाई ग्राहक सेवा र सपोर्टलाई अझ राम्रो बनाउन प्रयोग गर्न सकिन्छ भन्ने कुराले ट्रिगर गर्यो।

‘मलाई त्यतिबेला नै नेपाली कम्पनीहरूलाई कस्टमर सर्भिस किन अफर नगर्ने भन्ने आइडिया आइसकेको थियो। तर, मैले यसमा काम सुरु गर्न सकिन किनकी भीओआइपी खुलेर प्रयोग गर्न पाइएको थिएन,’ उनी सुनाउँछन्।

तर उनी निरन्तर यसमा केही गर्न सकिन्छ भनेर रिसर्च अघि बढाउँदै थिए।  त्यति नै बेला नेपालमा लोडसेडिङको अन्त्य भएको थियो। यो सन् २०१८ को कुरा हो जब सुशान्त पीपल इन नीड (पिन) आइएनजीओमा काम गर्थे। त्यहाँ उनको भेट पेसाले वकिल रहेका दीपेश रेग्मीसँग भयो र उनीहरु धेरै मिल्ने साथी पनि  बने।

सुशान्त सम्झन्छन्, ‘दीपेशसँग आफ्नो मेरो जीवनको यात्राहरू सेयर गर्थे। ऊ मलाई सधैं  मेरो टेक्नोलोजीको समझलाई व्यवसायमा परिणत गर्न सक्छौं भनिराख्थ्यो।’

सँगसँगै उनी सन् २०१३ देखि नै रूस, अमेरिका, क्यानडाका अन्तर्राष्ट्रिय ग्राहकहरूको लागि पनि भीओआइपी बनाउने काम गर्दै आएका थिए। त्यही समयमा उनीबाट सेवा लिने ग्राहककै माध्यमबाट  सारथी ट्याक्सीका  सह-संस्थापक, प्रकाश न्यौपानेसँग जोडिने मौका मिल्यो।  

व्यवसायिक संयोग  
‘त्यसपछि प्रकाशले मलाई फोन गर्नुभयो। त्यो बेला मलाई नेपालमा पनि भ्वाइस ओभर इन्टरनेट प्रोटोकल नर्मलाइज भएको मैले महसुस गरे। मैले तुरुन्तै दीपेशलाई पनि  प्रकाशसँगको कुराकानीमा सहभागी गरे। कुरा अघि बढ्दै जाँदा दीपेशले मलाई यही आइडियालाई नै किन अगाडि लिएर नजाने भनेर भन्यो,’ सुशान्तले बताए। 

उनीहरूले २०१७ नोभेम्बरसम्म कल सेन्टर स्थापना गरे। र केही महिनाको छलफल र रिसर्चपछि दीपेश र सुशान्त मिलेर २०१८ फेब्रुअरीबाट २५ लाख रुपैयाँको लगानीमा भक्स-क्रोको सुरुवात गरे। उनीहरू दिनभरी कोल्ड सर्चिङ गरेर  फुडमाण्डु, बुद्ध एयर जस्ता विभिन्न नेपाली कम्पनीहरूलाई कल गर्थे।

सुशान्त भन्छन्, ‘भक्सक्रो हामीले ल्याटिन शब्द ‘भक्स’ अर्थात आवाज र  अंग्रेजी शब्द ‘क्रो’ अर्थात काग, जोडेर बनाएका हौं। कम्पनीले गर्ने कामको सार झल्काउने हुँदा भक्स-क्रो नाम राखेका हौं।’

सुशान्त थप्छन्, ‘हामीले उनीहरूलाई हाम्रो सफ्टवेयर किनिदिनु भनेर पिच गर्दैन थियौं। बरु हामी उनीहरूको पेनपोइन्टमा हिट गर्द थियौं, जसकारण उहाँहरूले हामीलाई सहजै समय दिनु हुन्थ्यो।’

तर समय पाए जस्तो सजिलो भएन व्यवसाय भित्र्याउन। सुशान्त  बताउँछन्, ‘हाम्रो सुरुवाती मोडेल भनेको कम्पनीहरूकोमा गएर बीपीओ (बिजनेस प्रोसेसिङ आउटसोर्सिङ) पिच गर्ने थियो। हामीले तपाईंको कम्पनीको कल सेन्टर हामी बनाइदिन्छौं भन्दा हामी  सुरुवाती अवस्थामा नै भएको भएर हाम्रो विश्वास गर्नु भएन।’

स्थापनाको करिब ४ महिनासम्म त उनीहरू खाली हात नै बस्नुपर्‍यो। अब यो हुँदैन भनेर हार मान्नै आँटेका दीपेश र सुशान्तलाई फूडमारियोका सीइओ रोहित तिवारीको कलले केही आशाको किरण देखायो। यो मे २०१८ को कुरा हो, जब रोहितले उनीहरुलाई फूडमारियोमा आएर कस्टमर सर्भिस सफ्टवेयर राख्दिन मिल्छ कि भनेर प्रस्ताव गरे। 

सुशान्त  बताउँछन्, ‘त्यतिबेला हाम्रो आफ्नो सफ्टवेयर थिएन, हामीले ओपन सोर्सबाट किन्ने गर्दथ्यौं। रोहितको आग्रह अनुसार हामीले उनको काम गर्यौं।’

उतारचढाव सामना गर्दै अघि बढ्दा  
यो काम गर्नुभन्दा अघि भक्स-क्रोले मेरो टीभीको लागि काम गर्यो। त्यसलगत्तै  भक्सक्रोले फुडमाण्डु, ई-सेवा, बुद्ध एयरजस्ता सातवटा बलियो नेपाली कम्पनीका लागि कल सेन्टर सफ्टवेयर स्थापना गरेको सुशान्तले बताए। 

‘त्यस चरणपछि, कुनै कम्पनीले पनि हाम्रो प्रविधि किनिरहेका थिएनन् किनभने त्यो हाम्रो सफ्टवेयर थिएन। जति पनि कम्पनीहरूलाई हामीले अप्रोच गरिरहेका थियौं, उहाँहरूबाट सफ्टवेयरमा अझै धेरै फिचरहरू थप्न अनुरोध आउँथ्यो। हामीले अन्य स्रोतहरूबाट ल्याइएको सफ्टवेयरबाट उनीहरूको अनुरोधलाई सम्बोधन गर्न सकेनौं’ उनले भने। 

करिब एक वर्षसम्म उनीहरू खाली हात नै बस्नु पर्यो। त्यसपछि भने उनीहरूले आफ्नै सफ्टवेयर बनाउने  निर्णय गरे। सोहीअनुसार उनीहरूले पहिलो कल सेन्टर सफ्टवेयर ‘गेट डेस्क’ अगस्ट २०१९ बाट सुरु गरे। सुशान्तका अनुसार उक्त  सफ्टवेयर केही रिपोर्टिङ फिचरहरू साथको सामान्य सफ्टवेयर मात्र थियो। यसको लन्चको लगत्तै उनीहरूको ग्राहक सातबाट २४ सम्म पुग्यो। 

तर भक्स-क्रोलाई पनि कोरोना महामारीको आँखा लाग्यो। तर त्यस अनिश्चित समयलाई पनि उनीहरूले अवसरको रूपमा लिए र सुरुवाती चरणमा रहेको गेटडेस्कलाई अपग्रेड गरे। यसका साथै भक्स-क्रोले आइएनजीओहरूलाई लक्षित गर्दै  ब्लेजन नामक सफ्टवेयर पनि ल्यायो। 

‘ब्लेजन एउटा यस्तो सफ्टवेयर हो जसबाट कुनै पनि फोन नम्बरमा कल गरेर सर्वेक्षण लिन वा प्रतिक्रिया रेकर्ड गर्नका लागि प्रयोग गर्न सकिन्छ। यो सफ्टवेयरबाट जुनसुकै भाषा बोल्ने र जस्तोसुकै सामान्य फोन प्रयोग गर्नेमा पनि सर्वेक्षण लिन वा प्रतिक्रिया रेकर्ड गर्न सकिन्छ,’ उनले जानकारी दिए। 

उनीहरुले आइएनजीओतिर काम गर्दा  सर्वेक्षण लिन वा प्रतिक्रिया लिन डेटा संकलकहरुले म्यानुअल सर्वेक्षण गर्ने गरेको देखेका थिए। यो काममा धेरै समय र ठूलो रकम खर्च हुने कुरा बोध भएका सुशान्त र दीपेशले सो समस्यालाई सम्बोधन गर्दै ब्लेजनको अवधारणा ल्याएका हुन्।

‘पहिलो लकडाउनको लगत्तै हामीले धेरै आइएनजीओहरूलाई पिच गर्यौ। यो आइडिया मन पराउने पहिलो आइएनजीओ केयर नेपाल थियो। र सन् २०२० जुलाईमा हामी सफ्टवेयर बनायौं,’ उनले भने।

१०० भन्दा बढी कर्पोरेट हाउस, अस्पताल तथा संस्थाहरुमा प्रयोग
सुशान्तका अनुसार उक्त सफ्टवेयर सेभ द चिल्ड्रेन जस्ता आइएनजीओ साथै स्वास्थ्य मन्त्रालयसँग मिलेर ‘मास्क खोई !’ अभियानमा समेत प्रयोग  गरे। 

लकडाउन खुल्नेबित्तिकै  भक्स-क्रोको सेल्स पनि बढ्न थाल्यो । हाल भक्स-क्रोको सफ्टवेयरहरू फुडमान्डु, भोज, उपाय सिटी कार्गो, रोजगारी सर्भिसेज, अल्का अस्पताल, बुद्ध एयर, पठाओ, ग्यापु तथा मर्सी कर्प्स, नर्भिक अस्पताल, तिलगंगा आँखा केन्द्र, फोनपे, केयर नेपाल लगायतका १०० भन्दा बढी कर्पोरेट हाउस, अस्पताल तथा संस्थाहरुले प्रयोग गरिरहेका छन्।

पछिल्लो समय चुनाव लक्षित गरेर विभिन्न प्राथमिक वितरकले भक्सक्रो इन्जिन भोट अपिल, निर्वाचन साक्षरताका लागि प्रयोग गरिरहेको सुशान्त बताउँछन्। तीनजनाबाट सुरु भएको भक्स-क्रोको बालुवाटारस्थित कार्यालयमा हाल  ६२ जना कार्यरत छन्।  

सुशान्त बताउँछन्, ‘हामी बैंकिङ क्षेत्रमा पनि छिर्दै छौं, जसमा आवाजमार्फतबाट  रिचार्ज गर्न मिल्ने, ओटीपीहरु लिन मिल्ने, मिसकलबाट नै एप प्रमाणीकरण हुने फिचरहरू हुनेछ।’ यस बाहेक भक्स-क्रोको कस्टमर सर्भिसलाई कोर क्लाउडमा लिएर जाने योजनामा छन् सुशान्त।