BIZMANDU
www.bizmandu.com

ठमेलको एलओडीको भीभीआइपी टेबलमा राहुल गान्धीको पार्टी, एक रातमा कति गरे खर्च?

२०७९ बैशाख २०

ठमेलको एलओडीको भीभीआइपी टेबलमा राहुल गान्धीको पार्टी, एक रातमा कति गरे खर्च?
ठमेलको एलओडीको भीभीआइपी टेबलमा राहुल गान्धीको पार्टी, एक रातमा कति गरे खर्च?

काठमाडौं। भारतीय राष्ट्रिय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी सोमबार राति ठमेलको लर्ड अफ ड्रिङ्क्स (एलओडी) पुगेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ।

Tata
GBIME
Nepal Life

राहुल गान्धी काठमाडौंको क्लबमा गएको विषयलाई लिएर भारतमा चर्को बहस सुरु भइसकेको छ।

सोमबार दिउँसो भिस्तारा एयरलाइन्सको विमान मार्फत् राहुल काठमाडौं ओर्लिएका थिए। निजी भ्रमणका सिलसिलामा उनी सोमबार दिउँसो पौने ५ बजेतिर काठमाडौं ओर्लिए। राति साढे १० बजेतिर भने उनी एलओडी पुगे।

होटलमा केही बेर बसेर फ्रेस भएपछि उनी ठमेलको एलओडी पुगेका थिए। साथी सुम्‍निमा उदासको विवाहमा सहभागी हुन राहुल काठमाडौं आएका थिए। त्यसैक्रममा उनी काठमाडौंको रात्री जीवन हेर्न ठमेल पुगेका थिए। रोचक त के भने भारतका हाइ प्रोफाइल राजनीतिक व्यक्तित्व क्लबमा पुग्दा एलओडीका सञ्चालक नै आश्चर्यमा परेका थिए।

'साढे १० बजेतिर आउनु भएको थियो। १२/१५ जना साथीसँग आउनु भएको थियो,' क्लवका एक सञ्चालकले भने। उनीसँगै केही विदेशी पाहुना समेत थिए। राहुल एलओडी पुगेपछि क्लवले नै उनको सुरक्षा व्यवस्था मिलाएको थियो।

राहुलको समूहले क्लबको भीभीआइपी टेबल नै बुक गरेको थियो। टेबल गान्धीको नाममा नभएर अरु नै साथीको नाममा बुक भएको क्लबका ती संचालकले जानकारी दिए। गान्धी बसेको टेबुलको औसत मूल्य साढे १ लाख रुपैयाँ पर्छ। त्यसबाहेक बसेर खाएको खर्च थप हुने सञ्चालकले बताए। उनका अनुसार राहुल र उनका साथीहरुले करिब २ देखि ३ लाख रुपैयाँ खर्च गरेका छन्।

राहुल आफ्ना साथीभाइसँग क्लबमा बसेको भिडियो सार्वजनिक भएपछि हामीले सोधेका थियौं उनको सुरक्षा व्यवस्थाबारे। राहुल एलओडी पुग्दा उनीसँग कुनै पनि सुरक्षाकर्मी थिएनन्।

'हामीलाई कुनै पनि सुरक्षा मिलाउनु भनेर जानकारी आएको छैन। हेडक्वाटरबाट नै सुरक्षा व्यवस्था मिलाएको हो भने थाहा भएन,' काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एक उच्च प्रहरी अधिकृतले भने।

२०७५ भदौमा पनि उनी सुटुक्क नेपाल भ्रमणमा आएका थिए। त्यतिखेर पनि उनी अनौपचारिक रुपमा विभिन्न स्थानमा देखिएका थिए। यसपाला पनि उनको शैली पहिलेकै जस्तो देखिएको छ। राहुल ४/५ दिन नेपाल बस्‍ने बताइएको छ। यस अवधिमा उनले नेपालका पर्यटकीय क्षेत्रमा घुमफिर गर्नेछन्।