BIZMANDU
www.bizmandu.com

फोर्ब्सका १०१ महिला ‘सेल्फ मेड’ डलर अर्बपतिमध्येका यी हुन् उत्कृष्ट दश अर्बपतिहरु

२०७९ बैशाख १६

फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको २,६६८ डलर अर्बपतिहरुको ३६औं वार्षिक सूचीमा ३२७ मात्र महिलाहरू परेका छन्। यी महिलामध्ये पनि २२६ महिलाहरूले सम्पति विरासतमा प्राप्त गरेका हुन् भने १०१ जना महिलाहरू सेल्फमेड बिलेनियर हुन्।

Tata
GBIME
Nepal Life

समग्र अर्बपतिकै संख्या सँगसँगै महिला डलर अर्बपति र सेल्फमेड महिला डलर अर्बपतिहरूको संख्या पनि यस वर्ष पोहोरका तुलनामा ओरालो लागेको छ। यो वर्ष सेल्फ-मेड महिलाहरूको संख्या पनि सातले घटेको छ। 

यी महिला सेल्फमेड अर्बपतिहरू संयुक्त रूपमा कुल सम्पत्ति ३३१ अर्ब डलर छ। विश्वकै धनाढ्य सेल्फमेड बिलेनियर महिलाहरु पेट्रोकेमिकल, पिज्जा रेस्टुरेन्ट चेनदेखि लिएर क्यासिनोसम्मको व्यवसायमा आबद्ध छन्।

विश्वकै धनाढ्य सेल्फमेड महिलाहरुमध्ये टप टेन सूचीमा पहिलो नम्बरमा चीनको तेल प्रशोधन र रासायनिक फाइबर कम्पनी हेङ्गली पेट्रोकेमिकल, फान होङवेईको अध्यक्ष फ्यान होंगवेई रहेकी छन्। होंगवेईको कुल सम्पत्ति १८.२ अर्ब डलर छ। यसका साथै उनी विश्वको १३औं धनी महिला हुन् भने ५५ वर्षीया होंगवेई विश्वका समग्र अर्बपतिहरूको ३६औं वार्षिक सूचीमा ८८ नम्बरमा परेकी छन्।

त्यस्तै, विश्वकै दोस्रो धनी सेल्फमेड बिलेनियर महिला ८१ वर्षीया राफेला अपोन्टे हुन्। स्विस नागरिक राफेला र उनका पति जियानलुइगी मिलेर सन् १९७०मा मेडिटेरेनियन सिपिङ कम्पनी स्थापना गरेका थिए। उक्त कम्पनीको अहिले १५५ देशहरूमा ६०० ढुवानी भेसल/कन्टेनरहरू छन्। यो कम्पनी विश्वकै सबैभन्दा ठूलो सिपिङ कम्पनी हो, जसको कुल सम्पत्ति १६.८ अर्ब डलर छ। यो वर्षको विश्वका अर्बपतिहरूको सूचीमा उनी १०२औं स्थानमा परेकी छन्।

तेस्रो धनाढ्य सेल्फमेड बिलेनियर महिला बनेकी वु याजुन लङ्गफोर प्रोपर्टिजको सहसंस्थापक र अध्यक्ष हुन्। लङ्गफोर प्रोपर्टिज हङकङमा सूचीकृत रियल इस्टेट डेभलपर कम्पनी हो, जुन याजुनले आफ्नो पूर्वपति काई कुईसँग मिलेर सन् १९९३ मा स्थापना गरेकी थिइन्।

इन्जिनियरिङमा डिग्री गरेकी वुले घरजग्गा व्यवसायमा प्रवेश गर्नुअघि पत्रकारको रूपमा काम गरेकी थिइन्। उनको कम्पनीको चीनमा ६१ सपिङ सेन्टरहरू छन्। उनको कूल कुल सम्पत्ति १५.३ अर्ब डलर छ। सन् २०१८ मा, उनले छोरी काई सिन्यिलाई ४४ प्रतिशत स्वामित्व हस्तान्तरण गरेकी थिइन्। ५८ वर्षीया वु याजुन फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको ३६औं वार्षिक विश्वका अर्बपतिहरूको सूचीमा ११९ नम्बरमा परेकी छन्।

आफ्नै पौरखले विश्वका डलर अर्बपतिहरुको सूचीमा परेका १० अग्रणी महिलाहरुमध्ये चौथो नम्बरमा डियान हेन्ड्रिक्स रहेकी छन्। ७५ वर्षीया हेन्ड्रिक्स १०.७ अर्ब डलर कुल सम्पतिका साथ संयुक्त राज्य अमेरिकाकी सबैभन्दा धनी महिलासमेत हुन्। हेन्ड्रिक्सल एबीसी सप्लाई, संयुक्त राज्य अमेरिकामा रूफिङ सामग्रीको सबैभन्दा ठूलो वितरकको अध्यक्ष हुन्।

हेन्ड्रिक्सले सन् १९८२ मा आफ्नो स्वर्गीय श्रीमानसँग मिलेर यो व्यवसाय स्थापना गरेकी थिइन्। उनी फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको ३६ औं वार्षिक विश्वका अर्बपतिहरूको सूचीमा १८३ औं स्थानमा छिन्।

यो सूचीको पाँचौं स्थानमा छिन् जुडी लव, जो ‘लभ्स ट्राभल स्टप्स एण्ड कन्ट्री स्टोर्स’, रिटेल र ग्यास कम्पनीको कार्यकारी सेक्रेटरीका रूपमा आबद्ध छिन्। उनले उक्त कम्पनी आफ्नो पति टम लभसँग मिलेर सन् १९६४ मा स्थापना गरेकी थिइन्। उनको कुल सम्पति ९.७ अर्ब डलर छ। लभ्स ट्राभल स्टप्स एण्ड कन्ट्री स्टोर्सको संयुक्त राज्य अमेरिकाभर ४१ राज्यमा ५५० भन्दा बढी स्टोरहरू छन्। उनी विश्वका अर्बपतिहरुको सूचीमा २१३औं स्थानमा छिन्।

टप सिक्समा चीनको केबल र कनेक्टर्स उत्पादन गर्ने कम्पनी लक्ससेयर प्रेसिजन इन्डस्ट्रीकी अध्यक्ष र सहसंस्थापक वाङ लाइचुन परेकी छन्। उनको कम्पनीले इलेक्ट्रोनिक कम्पोनेन्टहरू बनाउँछ। उनका प्रमुख ग्राहकहरू मध्ये एक एप्पल कम्पनी पनि हो।

लक्ससेयरले आईफोन कनेक्टर केबलहरू आपूर्ति गर्नुका साथै एयरपड्स पनि निर्माण गर्दछ। वाङले आफ्नो भाइसँग मिलेर सन् २००४ मा व्यवसाय सुरु गरेकी थिइन् र उक्त कम्पनी सन् २०१० मा शेन्जेन स्टक एक्सचेन्जमा सूचीकृत भएको थियो। ५४ वर्षिया वाङ लाइचुन ९.५ अर्ब डलर कुल सम्पतिका साथ विश्वका अर्बपतिहरुको सूचीमा २१४औं स्थानमा छिन्।

यसैगरी, हङकङ स्टक एक्सचेन्जमा सूचीबद्ध ह्यान्सोह फर्मास्यूटिकल्सकी अध्यक्ष ज्होंग हुइजुआन सेल्फमेड उमन बिलेनियरको सातौं स्थानमा छिन्। रसायनशास्त्रको पूर्वशिक्षिका रहेकी उनले उक्त कम्पनी २०१५ मा स्थापना गरेकी हुन्। ६१ वर्षीया उनको यस कम्पनीमा तीन चौथाईभन्दा बढी सेयर स्वामित्व छ। चिनियाँ नागरिक उनी कुल सम्पति ८.१ अर्ब डलरसहित विश्वका धनाढ्यहरुको सूचीमा २७५औं स्थानमा छिन्।

सूचीको आठौं नम्बरमा संयुक्त राज्य अमेरिकाको वन्डरफुल कम्पनीकी उपाध्यक्ष लिन्डा रेस्निक परेकी छन्। उनको कुल सम्पत्ति ८ अर्ब डलर छ। वन्डरफुल कम्पनी वन्डरफुल पिस्ता, पोम वन्डरफुल, मन्डारिन हलोस र फिजी वाटर जस्ता लोकप्रिय खाद्य उत्पादनहरूको ग्रुप हो। उनी र उनका पति स्टीवर्टले १९७० को दशकको उत्तरार्धमा यो व्यवसाय स्थापना गरेका थिए। उनी विश्व अर्बपतिहरुको सूचीमा २८४औं स्थानमा छिन्।

यसैगरी नवौं नम्बरमा रहेकी ज्होउ कुन्फेई लेन्स टेक्नोलोजी कम्पनीकी संस्थापक र सीईओ हुन्। उनको कम्पनीले सामसङ, एलजी र माइक्रोसफ्ट जस्ता ठूला ब्रान्डहरूलाई स्मार्टफोन स्क्रिनहरू आपूर्ति गर्दछ। चिनियाँ नागरिक कुन्फेईको कुल सम्पति ७.१ अर्ब डलर छ। ५२ वर्षीया उनी विश्वका अर्बपतिहरूको सूचीमा ३३६औं नम्बरमा परेकी छन्।

दशौं स्थानमा एपिक सफ्टवेयरकी संस्थापक जुडी फकनर छिन्। उनले एपिकको स्थापना सन् १९७९ मा गरेकी हुन्। फकनरको एपिक सफ्टवेयर अमेरिकाका प्रमुख अस्पतालहरू र अन्य ग्राहकहरूद्वारा २ करोड २५  लाखभन्दा बढी बिरामीहरूको मेडिकल जानकारी रेकर्ड गर्न प्रयोग हुने गरेको छ। ७८ वर्षीया फकनर ७ अर्ब डलर कुल सम्पतिका साथ विश्वका समग्र अर्बपतिहरूको सूचीमा भने ३४३औं स्थानमा छिन्।