BIZMANDU
www.bizmandu.com

सरकारले लगायो एक दर्जन वस्तुको आयातमा प्रतिबन्ध, गाडीदेखि फोनसम्म रोकियो, सुनचाँदी भने खुला

२०७९ बैशाख १४

सरकारले लगायो एक दर्जन वस्तुको आयातमा प्रतिबन्ध, गाडीदेखि फोनसम्म रोकियो, सुनचाँदी भने खुला
सरकारले लगायो एक दर्जन वस्तुको आयातमा प्रतिबन्ध, गाडीदेखि फोनसम्म रोकियो, सुनचाँदी भने खुला


काठमाडौं। वाणिज्य बैंकहरुलाई मौखिक निर्देशनमार्फत रोक लगाइएको केही वस्तुको आयातलाई सरकारले औपचारिक रुपमा बन्देज लगाएको छ। सरकारले राजपत्रमा एक सूचना जारी गर्दै २०७९ असार मसान्तसम्मलाई आयातमा पूर्ण प्रतिबन्ध लगाएको हो।

Vigo
GBIME
Tata

कुनै पनि प्रकारका निजी सवारी साधनदेखि मोटरसाइकल, मोबाइल फोन, टेलिभिजन आयातमा सरकारले प्रतिबन्ध लगाएको छ।

सरकारका अनुसार, अब कुरकुरे, लेज र यस्तै उत्पादन आयात गर्न पाइने छैन। सबै प्रकारका तयारी मदिराको आयात पनि प्रतिबन्ध लगाइएको छ।

साथै चुरोट तथा सुर्तीजन्य वस्तु (कच्च पदार्थ बाहेक) को आयात पनि बन्द गराइएको छ। हिरा (औद्योगिक कच्चा पदार्थ बाहेक) आयातलाई पनि सरकारले बन्देज लगाएको छ।

व्यापार घाटा उच्च दरले बढेर विदेशी मुद्राको सञ्चिति निरन्तर घटेपछि राष्ट्र बैंकले मौखिक आदेशमा ४७ वटा समूहभित्रका ३०० वस्तुको आयात बैंकमार्फत बन्द गराएको थियो। केही बैंकले गाडीलगायत विलासिताका वस्तु आयात रोके पनि अन्यको प्रतितपत्र खोलिरहेका थिए। केहीले भने पूर्ण रुपमा बन्देज नै लगाएका थिए।

राष्ट्र बैंकको मौखिक आदेशमा बन्द गरिएपछि यो कहिलेसम्म जाने हो भनेर गाडी बिक्रेताहरुको संगठनले मिति तय गर्न माग गरिरहेका थिए। बैंकहरुले पनि लिखितरूपमा वस्तुको सूची उपलब्ध गराउन माग गरेका थिए। यहि बीचमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले केही वस्तुको आयात नियन्त्रण गर्ने निर्णय गरेको हो।

सरकारले ६०० अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल सेट, ३२ इन्चभन्दा माथिका कलर टेलिभिजनको आयातमा बन्देज लगाएको छ। साथै जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शवबाहनबाहेक) आयात पनि रोकेको छ। 

२५० सीसीभन्दा माथिका मोटरसाइकल आयातमा पनि प्रतिबन्ध लगाइएको छ भने सबै प्रकारका खेलौना र खेल्ने तास आयातमा पनि प्रतिबन्ध लगाइएको छ। तर सुनचाँदी जस्ता वस्तुको आयातलाई भने रोकिएको छैन।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई सुनचाँदी आयातका लागि प्रतितपत्र नखोल्न मौखिक निर्देशन दिएको थियो। अब भने बैंकहरुले यी वस्तु आयात गर्न प्रतितपत्र खोल्न पाउने छन्।

राष्ट्र बैंकले मौखिक रूपमा ड्राइफुट्सदेखि सौन्दर्य प्रशाधनका सामग्रीसम्मको आयातमा प्रतिबन्ध लगाएको थियो। घरमा प्रयोग हुने मार्बल, टायल आयात पनि रोकिएको थियो। अब भने यी वस्तु आयात गर्न बाधा पुग्ने छैन।

सरकारले आयात प्रतिबन्ध लगाएका वस्तुहरु वैशाख १३ गतेसम्म प्रतितपत्र खुलेको हकमा रोकिने छैन। त्यसपछि खुलेका रहेछन् भने रोकिने छ। अर्थात आजबाट यी वस्तुको आयातमा पूर्ण रूपमा रोक लगाइएको छ।

सरकारले कुनै बेला १५ खर्ब ६ अर्ब रुपैयाँ पुगेको विदेशी मुद्राको सञ्चिति चालु वर्षको पहिलो महिनाबाट निरन्तर घटेर गत फागुन मसान्तमा ११ खर्ब ७१ अर्बमा झरेपछि हस्तक्षेपकारी नीति लिएको हो। अहिले शोधनान्तर घाटा २५८ अर्ब ६४ करोड पुगेको छ भने चालु खाता घाटा ४६२ खर्ब ९३ करोड पुगेको छ। यो कुल अर्थतन्त्रको आकार (जीडीपी) को १० प्रतिशतभन्दा माथि हो। ८ प्रतिशतमाथि चालु खाता घाटा हुनु भनेको निकै संकटपूर्ण अवस्था मानिन्छ।