BIZMANDU
www.bizmandu.com

गाउँमा चिया व्यवसाय: धान नफलेपछि चिया लगाए, अहिले मासिक साढे तीन लाखको व्यापार हुन्छ 

२०७९ बैशाख १२

कन्याम (इलाम)। इलाम घुम्न पुग्नेलाई लाग्छ, बगानका चिया उद्योगहरुले मात्रै खरिद, प्रशोधन र बजारीकरण गर्छन् होला। आआफ्ना खेतबारीमा चिया लगाएका किसानले हरियो पत्ती उद्योगलाई मात्रै बिक्री गर्दा होलान्। यो प्रक्रियामा अलि गहिरिएर बुझ्नेले थाहा पाउँछन्- चिया किसान आफैं पनि उद्योगी छन्। खेती मात्रै नभइ प्रशोधन, प्याकेजिङ र बिक्री गर्छन्।

Tata
GBIME
Nepal Life

किसानहरुले ऋण लिएर उद्योग खोल्दै आफ्नो उत्पादन आफैं बजार पठाउने जुक्ति लगाएका छन्। यस्तो उद्यम गर्नेमा सूर्योदय-७ गोगनेका छत्र घले अगुवामा पर्छन्। ७२ रोपनीमा चिया लगाएका उनको आफ्नै उद्योग छ। 

‘धान रोप्दा वर्षमा दुईचोटि हुन्थ्यो। चिसो ठाउँ, धान कम फल्थ्यो,’ उनी भन्छन्, ‘चिया लगाइयो। अहिले वर्षमा ९ महिना पत्ती टिप्न मिल्छ। पहिले आफैं काम खोज्न जान्थें, अहिले ६ जनालाई रोजगारी दिन्छु।’ 

कन्याम चिया बगानै-बगान झन्डै २ किलोमिटर तल झरेपछि गोगने पुगिन्छ। त्यहाँ देखिन्छ, स्थानीयले आँगनमै चियाको पत्ती माडिरहेको र घाममा सुकाउँदै गरेको। काठ र जस्ताले तयार पारिएको दुईतले सानो चिटिक्कको छ घलेको उद्योग। ‘पहिले किसानी गर्थें, अहिले चियाको व्यवसाय गर्छु। गाउँमा बस्छु विदेशमा चिया पठाउँछु,’ घलेले सुनाए। 

छोरा,छोरी, श्रीमती र उनी, घलेको परिवार छरितो छ। चियाको उद्यमले छोराछोरी पढाउन सहज भएको उनी बताउँछन्। छोराछोरी बिर्तामोडमा बसेर पढ्छन्।  घलेका बाबुले २०३८ सालमा सानो टुक्रा पाखोबारीमा केही बोट चिया लगाएका थिए। त्यसबाट बनाइने हाते चिया घरका लागि ठिक्क हुन्थ्यो। २०६३ सालतिर उनले त्यसलाई अलि फरक तरिकाले अगि बढाए। उनले पुरानो शैलीको हाते चिया काठमाडौं बेच्न लाने गर्थे। 

चियाका पत्तीलाई हातैले माडेर सुकाउनको लागि घामको भर पर्नु बाहेक विकल्प थिएन। चियालाई कालो बनाउनको लागि आगोको प्रयोग गरिन्थ्यो। यसरी तयार भएको चियालाई हातेपत्ती भनिन्छ। २०६८ मा कन्याम भ्याली चिया उद्योग दर्ता गराए।

आधुनिक तरिका इन्टरनेटबाट 
‘मेसिन थिएन। हामीले बनाएको चियापत्तीमा धुवाँ गन्हाउने हुन्थ्यो। त्यही कारण हुनुपर्छ व्यापार राम्रो थिएन,’ घलेले भने, ‘धुवाँ गन्हाउनेलाई कसरी कमी गर्न सकिन्छ भन्ने लाग्थ्यो।’ 

चिनियाँहरुले मेसिनले मसिनो चिया बनाएको ‘वान टी वान फार्मर’ भन्ने भिडियो उनले इन्टरनेटमा हेरेको सुनाए। ‘त्यसपछि मलाइ पनि त्यस्तै मेसिन किन्ने इच्छा भयो। मेसिन कहाँ पाउँछ भनेर खोज्दै हिड्न थालें,’ उनले सुनाए, ‘यो २०६९ तिरको कुरा हो। त्यो मेसिन नेपालमा बनाउन अति गाह्रो रहेछ, अर्डर गर्न पनि हाम्रो खर्चले नधान्ने रहेछ।’ 

घलेले हातेचिया काठमाडौंमा बेच्न लाने क्रममा बल्खुमा रहेका अच्युत खतिवडाले भिडियोमा देखेकै जस्तो चिया बनाउने मेसिन बनाइरहेको भेटे। खतिवडाले पनि इन्टरनेटमा भिडियो हेरेपछि मेसिन बनाउन थालेका थिए। घलेले खतिवडासँग त्यो मेसिन मागे। रहरले बनाएको एउटा मात्रै भएकाले उनले दिएनन्।  

घलेले पत्ता पाए, चीनबाट राजु  शेर्मा भन्ने व्यक्तिले नेपालमा पहिलोपटक त्यस्तो मेसिन ल्याएका थिए। परीक्षणका लागि भित्र्याइएको मेसिन आफ्ना लागि पनि झिकाइदिन घलेले आग्रह गरे। तर, पाएनन्।

२०७३ मा मात्रै घले चीनबाट चिया प्रशोधन मेसिन झिकाउन सफल भए। आफ्नो बचत, बैंक तथा लघुवित्त संस्थाबाट ऋण मागेर १४ लाखमा रोलिङ, ड्राई र ग्रेडिङ गर्ने ३ वटा मेसिन किनेर ल्याएको घले बताउँछन्। 

आधुनिक तरिकाले चिया बनाउन थालेपछि उनको व्यापार बढ्यो। अहिले नयाँ मेसिन एक करोड ७० लाखमा सेट गरेका छन्। यस्तो मेसिन उनीसंग तीन वटा छ। ‘यो किन्न सक्ने हैसियत त्यसै भएको होइन, धेरै मिहिनेत परेको छ,’ उनी भन्छन्। चियाको पात टिपेर बेच्नेदेखि हाते पत्ती बनाउने लगायत आधुनिक व्यवसायले यो ठाउँमा पुर्‍याएको उनी बताउँछन्।

एउटा टुक्रा पाखोबारीबाट ७२ रोपनीमा चिया खेती-निर्धन लघुवित्त ऋणदाता 
बाबुले पाखोबारीमा लगाएको चिया नितान्त परीक्षण थियो। घलेले पनि त्यसमाथि पुनः परीक्षण गरे। सुरुमा थोरै आफ्नो जग्गामा चिया हुन्छ की हुँदैन भनेर लगाए। राम्रो हुने देखिए पछि भएका सबै जग्गामा रोपे। अहिले उनको चिया खेती ७२ रोपनीमा फैलिएको छ। उद्योगलाई त्यतिले मात्रै पुग्दैन, उनी गाउँलेका हरियो पत्ती पनि किन्छन्। चियाको बोट लगाएको कम्तीमा ३-४ वर्षपछि चियाको पात टिप्न मिल्ने हुन्छ।

२०२८ सालमा उनका बुबाले सरकारलाई ८०० रोपनी जग्गा ८०० रुपैयाँमा बेचेका थिए। ‘त्यसपछि सरकारले त्यो जग्गामा चिया खेती गर्यो,’ घलेले भने, ‘मेरी बुबा त्यो उद्योगमा रोजगारी माग्न गए।  त्यहा रहेका एक इन्जिनियरले  काम हामी दिदैनौं, आफ्नो खेतीमा चिया लगाउ, फाइदा कमाउ भनेपछि हाम्रो चिया खेती सुरु भएको थियो।’

हरियो पत्ती टिपेर प्रशोधनपछि बजारमा पठाउने काममा इलाममा ठुला उद्योगले मात्रै गर्दैनन्, किसानहरुले पनि गर्छन्। पत्तीलाई हरियोबाट कालो बनाउँदासम्मको प्रक्रियाका लागि चाहिने लागत, प्रविधि र जनशक्तिमा कमजोर किसान अझै पनि आफू चिया प्रशोधन गर्दैनन्, पत्ती मात्रै बेच्छन्। घलेजस्ता उद्यमी बनेकाहरु अरुको पत्ती पनि किन्छन् र प्रशोधन गरेर तयारी चिया बजारमा पठाउँछन्। 

इलाममा किसानलाई आफैं उद्यम गर्न ऋण दिएर हौस्याउने काम २०६३ देखि सुरु भएको हो। ठुला उद्योगहरुले पत्तीमा दिने मूल्यमा असन्तुष्ट किसानहरू आफें उद्यम गर्न चाहन्थे, जसलाई बैंकहरुसँगै निर्धन उत्थान लघुवित्तले सघाएको हो। ऋण लिन अघि सरेका किसानले आफैं उद्योग खोलेका छन्।  

घलेले पहिला खेती किसानी गर्थे। बुबाले सरकारलाई चिया खेतीका लागि जग्गा दिएपछि त्यहीँ जागिर खोज्न जाने गरेका थिए। तर अहिले सरकारको जस्तै चिया उद्योग खोलेर बनाएर अरुलाई रोजगारी दिएका छन्। अरुको हरियो चिया समेत किनेर फ्याक्ट्रीमा ल्याउँछन्। ‘उनीहरुलाई पनि सजिलो भएको छ। नत्र आफैंले घरमा हातले बनाउन पर्थ्यो,’ उनी भन्छन्।

घले र उनकी श्रीमती दुवैले उद्योगको काम पालैपालो हेर्छन्। घलेले श्रीमतीको नाममा पनि ऋण निकालेर व्यवसाय बढाएका छन्। उद्योगमा ६ जनालाई रोजगारी दिएका छन्। 

पहिला हाते पत्ती बनाउदा घले एक्लै चियाको पात टिप्न जानेदेखि माड्ने, घाममा सुकाउने, आगोमा ड्राई गर्ने, प्याकिङ लगायतका सबै काम सम्हाल्थे। अहिले हरियो चिया टिप्ने समूह छुट्टै राखेका छन्। समुहबाट पनि हरियो चिया लिने गरेका छन्। ‘हाम्रो आफ्नो जग्गाको पत्तीले मात्रै पुग्दैन, अरुको पनि किनेर प्रशोधन गर्छौं,’ उनले भने।  

प्रतिकेजी ३०० देखि १२ हजारसम्म
गुणस्तरका आधारमा चियाको भाउ तय हुन्छ। राम्रो भाउ पाउन उत्पादनमा गुणस्तरको विशेष ख्याल राख्नुपर्छ। घलेका अनुसार अहिले उनले प्रतिकेजी ३०० देखि १२ हजार रुपैयाँसम्म पर्ने चिया विदेश पठाउने गरेका छन्। कालो चिया (ब्ल्याक टी) भनेको प्राकृतिक रुपमा रहेका तत्वहरु नष्ट गरेर बनाइने गरिन्छ। यस्तै ‘ह्वाइट टी’मा भने  प्राकृतिक तत्वहरु बचाएर बनाइन्छ।

‘ग्रीन टी’ हामीले खाने पोलेको हरियो मकै जस्तै हुन्छ। स्टिम गरेर अर्गानिक प्रमाणित हुने गरी तयार पारिन्छ। ‘गोल्डेन टी’ वा ‘रेड टी,’ जसलाई चिया बोटको स-साना मुनाबाट तयार पारिन्छ। त्यसै गरी ‘सिल्भर टी’ पनि हुन्छ, यो धेरै महँगो पर्छ। जसलाई चियाको डाँठबाट तयार पारिन्छ। यसको मूल्य नेपालमा  प्रतिकेजी १० हजार रुपैयाँसम्म पर्छ। 

घले सबैभन्दा कमसल चिया हामीले सेवन गरिरहेको सीटीसी भएको बताउँछन्। यस्तो चियाको खपत नेपाली बजारमा प्रशस्त हुने गरेको छ। यस्तो चिया अरु सबै प्रकारको चिया बनेपछि बाँकी रहेको तत्वहरुबाट बनाइने उनले बताए।  

उनका अनुसार ब्ल्याक र गोल्डेन टी बजार माग बढी हुने गरेको छ। ‘ब्ल्याक टी’ सस्तो हुन्छ, प्रतिकेजी भारु चार/पाँच सयमा बिक्री हुन्छ। यो धेरै बिक्री हुने गरेको छ। घलेको उद्योगबाट निस्कने चिया स्वदेशको साटो विदेसी बजारमा पुग्छ।  

‘विदेश पठाउनका लागि भने सीएफएल बनाएर स्याम्पल पिसहरु पनि भन्सारमा दिनुपर्छ,’ उनले भने, ‘भन्सारले स्वीकृत गरेपछि एक वर्ष भरिका लागि चिया बाहिर जान्छ। तर अर्को वर्षको लागि फेरि त्यस्तै प्रक्रिया छ।’ विदेशी ग्राहकले एक वर्ष भरिका लागि एकैपटक अर्डर दिने गरेको उनले बताए। यसले गर्दा व्यापार घट्ने डर हुँदैन।  

विशेषगरी घलेले सिलिगुडी र कोलकाता पठाउने गरेका छन्। उनले अहिले त्यहाँ रहेका ग्राहकहरुका लागि मात्र चिया तयार पार्छन्। ग्राहकले कस्तो गुणस्तरको र कुन बनाउने उतैबाट भनेपछि त्यहीअनुसार चिया तयार पारेर पठाउने गरेको घले बताउँछन्।

उतारचढाव सधैंभरि
चिया किसान र उद्योगीले सधैं उतारचढाव भोगेका छन्। धैजसो चिया भारत निर्यात हुन्छ। भारतीय भन्सार, बजारले दुःख दिइरहन्छ। कहिलेकाही भन्सारले जाँचपासमा लामो झमेला लगाउँछ, कहिले चियाले उचित मूल्य पाउँदैन।

नेपालले आफ्नो ब्रान्डमा निर्यातको पहल थाले पनि अपेक्षितरूपमा तेस्रो मुलुकको बजारमा नेपाली चिया फरक पहिचानका साथ अघि बढिसकेको छैन।

मुलुकका बिभिन्न जिल्लामा चिया उत्पादन भइरहेको भए पनि अग्रणीमा इलाम र झापा छन्। नाका काँकडभिट्टा हो, जहाँबाट धेरै चिया बाहिरिन्छ। 

भन्सार विभागको तथ्यांकअनुसार चालु वर्षको ९ महिनामा नेपालबाट २ अर्ब ३६ करोड रुपैयाँ बराबरको चिया निर्यात भएको छ। आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब ३७ करोड ५६ लाखको चिया बाहिरिएको छ।