BIZMANDU
www.bizmandu.com

टोल टोलमा कबाडी उठाउने ‘पुरानो कागज’ बन्दैछ सफल उद्यम, मासिक डेढ लाखसम्म मुनाफा

२०७९ बैशाख ११

खाली सिसी बोतल पुराना कागज,
खाली सिसी बोतल पुराना कागज…

Tata
GBIME
Nepal Life

दैनिक सुनिने यी वाक्यहरु हाम्रा लागि नयाँ होइनन्। घर वरपर आएर खाली सिसी, पुराना कागज र बोतलहरु संकलन गर्नेहरुलाई हेयका भावले हेरिन्छ। यस्ता सामाग्री संकलनकर्ताहरुलाई  कबाडी वा फोहोर बटुल्ने खातेका नामले समेत बोलाइन्छ। तर हामीलाई सुन्दा अपत्यारिलो लाग्ने सत्य के हो भने तीनै फोहोर र हामीलाई काम नलाग्ने भनेर फ्याकिने सामाग्री बटुलेर उद्यम गर्नेहरु मासिक लाखौंमा कमाई गरिरहेका हुन्छ।  

केही वर्ष अघिसम्म २४ वर्षीय श्रीराम जैसवाल र १९ वर्षीय लवकुश यादव पनि टोल-टोल, घर-घर डुल्दै कबाडी उठाउने गर्थे। कबाडी लिन घर-घर डुल्दा अपमानजनक व्यवहार समेत भोगेका उनीहरु आज पनि उही काम गर्छन् तर सम्मानका साथ।

एक वर्षयता श्रीराम र लवकुश पुरानो कागज नामक एक फोहोर व्यवस्थापन गर्ने कम्पनीमा आबद्ध छन्। २०७७ माघमा सुरु भएको यो कम्पनीले प्राय: सुक्खा र पुनर्प्रयोग गर्न सकिने फोहोर संकलनको काम गर्छ।

फोहोरको व्यवसाय

समान उमेर ३१ वर्षका तीन सहपाठी महेश आचार्य,  राजन अर्याल  र कमल थापाले मिलेर कम्पनी सुरू गरेका हुन्। पुरानो कागजमा अहिले महेश र राजन मात्रै छन्। उनीहरुले माइक्रोबायोलोजीमा एकसाथ स्नातक र स्नातकोत्तर गरेका थिए। स्नातकोत्तरपछि पनि उनीहरु सँगै एक रिसर्च ल्याबमा माइक्रोबायोलोजी सम्बन्धी अध्धयनहरू पनि गर्थे।

राजन स्नातकोत्तरपछि अस्ट्रेलिया गए। ‘दुई वर्षजति अस्ट्रेलियामा पढाइ सकेर म २०७७ सालको साउनमा नेपाल फर्किहालें। उताबाट फर्किने बेला नै मैले नेपालमा आफ्नो केही काम गर्छु भन्ने मन बनाएर फर्केको थिएँ,’ राजन सम्झन्छन्।

उनीहरू माइक्रोबायोलोजी सम्बन्धी काम पनि गरिरहेका थिए। महेश भन्छन्, ‘हाम्रो रिसर्च ल्याब पनि छ। हामीले माइक्रोबायोलोजी सम्बन्धी अध्ययनहरू पनि गरिरहेको थियौं। तर लकडाउनका कारण रिसर्च प्रोजेक्टका लागि फन्डिङ पनि जुटाउन सकिरहेका थिएनौं।’

अस्ट्रेलियाबाट राजन आएपछि उनीहरुको पुनः भेट भयो। अनि उनीहरू कुन चाहिँ काम गर्न सकिन्छ भनेर ब्रेनस्टोर्मिंङ गर्न थाले।

‘त्यसपछि के गर्ने त, नयाँ केही गर्न सकिन्छ कि भनेर अध्ययन गर्दा काठमाडौंमा भएका फोहोर प्रदूषण काठमाडौं उपत्यकाको निकै ठूलो समस्या हामीलाई लाग्यो,’ महेश बताउँछन्, ‘यसमा केही काम गर्न सकिन्छ कि भनेर यो क्षेत्रमा हात हाल्यौं। धेरै कुराहरू अध्ययन गर्दा यसमा सम्भावना छ र हामी यो काम गर्न पनि सक्छौं भनेर पुरानो कागज सुरु गर्‍यौं।’

यो काम प्रभावकारी हुन्छ कि हुन्न भनेर करिब ६ महिना जति उनीहरू अध्ययनमा पनि लागे। महेश भन्छन्, ‘काठमाडौं उपत्यका भित्रका विभिन्न संघ-संस्थाहरूमा गएर उहाँहरूले के कसरी फोहोर व्यवस्थापन गरिराख्नु भएको छ भनेर बुझ्ने, व्यवस्थापनमा के समस्या भएको छ छैन भनेर बुझ्यौं। हामीले यस्तो काम गर्दा उहाँहरूको कस्तो सहयोग रहने छ भन्ने जस्ता कुराहरू बुझ्यौं।’

सबैतिरबाट वेस्ट म्यानेजमेन्टमा समस्या भएको ज्ञात भएपछि यसमा वातवरणलाई पनि सहयोग पुग्ने र व्यवसायको रूपमा पनि राम्रो सम्भावना देखेर उनीहरूले पुरानो कागज लन्च गरे।

महेश भन्छन्, ‘बजारमा हामीले गर्ने जस्तै काम गर्ने केही कम्पनीहरू पनि थिए। तर काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न त्यतिले नधान्ने हुँदा पनि हामीले पुरानो कागज सुरु गर्‍यौं।’

काम सुरु गर्दा मानिसहरुलाई वेस्टको महत्व बुझाउन निकै गाह्रो भएको महेश बताउँछन्, ‘त्यसमाथि पनि हामीमा वेस्ट सेग्रिगेट गरेर राख्ने प्रवृत्ति पनि छैन। यो चुनौतीलाई पार गर्न हामीले हाम्रो सामाजिक सञ्जालमार्फत निरन्तर सचेतना फैलाउने कोसिस गरिराखेका छौं।’

२० लाख जतिको लगानीमा माघको अन्तिमतिर पुरानो कागज सुरु गरेपनि उनीहरूको काम भने फागुनको अन्तिमबाट बल्ल चल्यो। काम केही अघि बढेको थियो कोरोना महामारीले करिब पाँच महिना जति काम ठप्प नै बनाएको उनीहरुले बताए।

मासिक डेढ लाखसम्मको नाफा

महेशका अनुसार कोभिड महामारीका कारण काम रोकिएको समयमा पनि उनीहरूले मार्केटिङमा ध्यान दिए। साउनमा काम पुनः सुरु गरेपछि डोर टु डोर र सामाजिक सञ्जाल मार्केटिङबाट उनीहरूले विस्तारै आफ्नो व्यवसाय लयमा ल्याए। हाल पुरानो कागजले मासिक डेढ लाखसम्म मुनाफा कमाउँछ।

राजन भन्छन्, ‘हामीले घर घरबाट मात्र नभई विद्यालय तथा बिभिन्न संघसंस्थाहरूबाट पनि पत्रु सामाग्री संकलन गर्छौं। संकलित फोहोर मध्ये ६०% जति फोहोर संघसंस्थाहरूबाट आउँछन् भने ४०% जति घर घरबाट। संकलित फोहोरलाई छुट्याइसकेपछि हामी उक्त फोहोरलाई नेपालभित्र र बाहिरका विभिन्न संस्थाहरूलाई बेच्छौं।’

पुरानो कागजको वेबसाइटमा अथवा सामाजिक सञ्जालका पेजहरूबाट फोहरको पिक अप शेड्युल सेट गर्न सकिन्छ। यस बाहेक फोन गेरर अथवा ह्वाट्सअप र भाइबरमा म्यासेज गर्न सकिन्छ।

‘हामीले त्यो म्यासेज उक्त क्षेत्रका कर्मचारीलाई पठाउँछौं र उहाँहरू गएर उक्त फोहर संकलन गर्नु हुन्छ। चण्डोलमा रहेको सेग्रिगेसन केन्द्रमा ल्याइन्छ,’ महेशले भने।

फोहोर बटुल्नेलाई काम पनि सम्मान पनि

सुरुमा संस्थामा सातजना जति फोहोर संकलनकर्ताहरु आबद्ध भए जसमा श्रीराम र लवकुश पनि पर्छन्। अहिले यो संख्या बढेर २५ जना पुगिसकेको छ।

श्रीराम आफ्नो खुशी यसरी बाँड्छन्- ‘म यहाँ सुरुवाती दिनदेखि नै आबद्ध छु। यो भन्दा पहिला घाममा घर घर डुल्नु पर्थ्यो चिच्याउनु पर्थ्यो, अहिले खबर आएपछि मात्रै गइन्छ। पैसा पनि महिनाको २०/२५ हजार जति आउँछ। त्योभन्दा पनि हामीलाई सम्मानका साथ व्यवहार गर्नुहुन्छ। हामी अफिसको ज्याकेट र आइडी कार्ड भिरेर जाँदा व्यवहार नै अर्कै पाइँदो रहेछ।’

उनीहरूले फोहोरहरू छुट्याएर, डिजिटल तौल गर्ने मेसिनबाट तौल गरिसकेपछि संकलित फोहोरलाई सेग्रिगेसन सेन्टरमा ल्याउँछन्। उनीहरुले प्लास्टिकका कुर्सी, स्याम्पुका बोतल, पानीका बोतल, फलाम, आल्मुनियम, पीतल, स्टिलको फोहोर, कागज र ई-वेस्ट संकलन गर्छन्।

यी फोहोर दिएवापत ग्राहकहरूले किलोका दरले केही पैसा पाउनेछन्। साथै केही निश्चित मात्रामा फोहोर संकलन गरेपछि पुरानो कागजले वातावरण संरक्षणमा योगदान पुर्‍याएको भन्दै ती घर तथा संस्थालाई प्रशंसापत्र पनि दिन्छ ।

पुरानो कागजले फोहोर संकलनकर्ताहरुको ग्रुमिङ पनि गर्छ। यस अन्तर्गत उनीहरूलाई ग्राहकहरूसँग कसरी व्यवहार गर्ने, गूगल म्याप कसरी प्रयोग गर्ने जस्ता कुराहरू सिकाइन्छ। ‘आउँदो दिनमा हामीहरू कम्पोस्टिङमा पनि काम गर्ने सोचमा छौं,’ महेशले योजना सुनाए।