BIZMANDU
www.bizmandu.com

पीपीएमओ र बीमा समितिमा निर्माण व्यवसायीको धर्ना, माग पूरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी 

२०७९ बैशाख ८

पीपीएमओ र बीमा समितिमा निर्माण व्यवसायीको धर्ना, माग पूरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी 
पीपीएमओ र बीमा समितिमा निर्माण व्यवसायीको धर्ना, माग पूरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी 

काठमाडौं। आफ्ना मागहरू पूरा नभएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) ले सार्वजनिक खरिद अनुगमन कार्यालय  (पीपीएमओ) र बीमा समितिमा एक-एक घण्टा धर्ना दिएको छ।

Tata
GBIME
Nepal Life

बिहीबार महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा व्यवसायीहरूले विहान ११ बजेदेखि १२ बजेसम्म सार्वजनिक खरिद अनुगमन कार्यालय र दिउँसो १ बजेदेखि २ बजेसम्म बीमा समितिको कार्यालयमा धर्ना दिएका हुन्।

निर्माण सामाग्रीमा भएको अत्यधिक मुल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, निर्माण उद्योगमैत्री कानुन जारी गर्नुपर्ने, बीमा निर्देशिका खारेज हुनुपर्ने लगायतका नारा लगाएका थिए। आफ्ना मागहरूका सम्बन्धमा सम्बन्धित सरकारी निकायहरुमा जानकारी गराए पनि कुनै सुनुवाई नभएकाले बाध्य भएर धर्ना कार्यक्रम सुरु गर्नु परेको महासंघ अध्यक्ष सिंहले बताए।

उनले निर्माण उद्योगका समस्या समाधानका लागि महासंघले पर्याप्त समय दिँदा समेत मागहरू सम्बोधन नभएको बताए। सरकारी नीति नियम समय सापेक्ष नभएकाले निर्माण उद्योग धराशायी भएको भन्दै महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (एडी) ले आन्दोलन रहर नभई बाध्यता भएको बताए।

त्यस्तै बीमा निर्देशिका २०७८ को खारेजी एवं संशोधनको लागि पटक पटक पत्राचार तथा ज्ञापनपत्र बुझाउँदा समेत कुनै सुनुवाई नभएको महासंघले जनाएको छ ।

बीमा निर्देशिका खारेजी सम्बन्धी महासंघको आन्दोलनमा स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल, (इपान)पनि ऐक्यवद्धता जनाएको छ । उर्जा उत्पादकहरू पनि सहभागी धर्ना कार्यक्रममा ईप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले कुनै पनि दृष्टिकोणले व्यवसायीको पक्षमा नरहेको निर्देशिका खारेज गर्नुको विकल्प नरहेको बताए।

निर्देशिका खारेज नभएमा महासंघसँग मिलेर अझ सशक्त आन्दोलन गर्ने चेतावनी आचार्यले दिए । भोलि (वैशाख ९ गते) पनि बिहिबारकै तालिका अनुसार नै सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिमा धर्ना दिने कार्यक्रम छ।