BIZMANDU
www.bizmandu.com

ट्‍वीटर किन्ने इलोन मस्कको योजना सफल होला ? टेस्लाकाे सेयर मूल्यमा देखियाे असर

२०७९ बैशाख ३

यतिबेला टेस्ला मोटर्सका मालिक इलोन मस्कले ट्‍वीटर किन्न निकै जोडबल गरिरहेका छन्। उनले यसको लागि ट्‍वीटरसामु प्रस्ताव पनि गरिसकेका छन्। ट्वीटरको ‘असाधारण क्षमता अनलक’ गर्न आफू सक्षम व्यक्ति भएको मस्कको दाबी छ।

Tata
GBIME

एक अनपेक्षित विज्ञप्तिमार्फत मस्कले बिहीबार ट्‍वीटरको प्रति सेयर ५४.२० डलरका दरले ४१ बिलियन डलर मूल्य तिर्न आफू तयार भएका बताएका थिए।

यसैबिच, मस्कले ट्‍वीटर किन्ने आफ्नो योजना सफल हुनेमा शंका पनि व्यक्त गरेका छन्। एक कन्फ्रेन्समा उनले यस्तो आशंका व्यक्त गरेका हुन्।

क्यानडाको भ्यानकुभरमा आयोजित टेड-२०२२ कन्फ्रेन्समा मस्कले भनेका छन् : म यो प्राप्त गर्न सक्षम हुनेछु भन्नेमा निश्चित छैन।

ट्वीटर किन्ने आफ्नो प्रयास असफल भए आफूसँग 'प्लान बी' पनि भएको उनले बताएका छन्। तर, त्यो योजना के हो भन्ने बारे भने उनले केही खुलाएका छैनन्। सो कन्फ्रेन्समा मस्कले ट्वीटर अझ खुला र पारदर्शी हुनुपर्ने कुरा राखेका थिए।

‘मलाई लाग्छ कि यसमा अभिव्यक्ति स्वतन्त्रताको लागि समावेशी स्थान हुनु धेरै महत्त्वपूर्ण छ,’ उनले भने।

त्यस्तै, बिहीवार ट्वीटरका सीईओ पराग अग्रवालले मस्कको अफरलाई कम्पनीले मूल्यांकन गरिरहेको आफ्ना कर्मचारीहरुलाई जानकारी गराएका थिए। अग्रवाले कर्मचारी बैठकमा मस्कको प्रस्तावबाट कम्पनी ‘बन्धक’ भने नबनेको उल्लेख गरेको बताइएको छ।

यस्तोमा ट्वीटरका सेयरधनी समेत रहेका साउदी अरेबियाका राजकुमार अलवालीद बिन तलालले ट्वीट गर्दै मस्कको प्रस्ताव अनुपयुक्त भएको बताएका छन्।

‘ट्वीटरको विकासको सम्भावनालाई ध्यानमा राख्दै भन्ने हो भने इलोन मस्कले प्रस्ताव गरेको कम्पनीको आन्तरिक मूल्य निकै कम छ,’ उनले भनेका छन्।

अर्बपति राजकुमार तलालले आफ्नो इन्भेस्टमेन्ट फर्म ‘किङडम होल्डिङ्स कम्पनी’ मार्फत ट्विटरमा आफूले सेयर लगानी गरेको दावी गरेका छन्। तलालको ट्वीटमा तत्काल रिप्लाई गर्दै मस्कले उनको कम्पनीसँग ट्वीटरको कति सेयर छ भनेर प्रश्न गरेका थिए।

‘अभिव्यक्ति स्वतन्त्रतामा किङडमको के राय छ?’ मस्कले सवाल गरेका छन्।मस्कको प्रस्तावबारे ट्वीटरले पुष्टि गरिसकेको छ। तर, कम्पनीको बोर्डले अझै पनि ‘अनपेक्षित, गैर-बाध्यकारी’ प्रस्तावको समीक्षा गर्नुपर्ने ट्विटरले बताएको छ।

मस्कसँग अहिले ट्वीटरको ९ प्रतिशत भन्दाबढी सेयर छ। तर, उनी ट्वीटरका सबैभन्दा ठूला सेयरधनी भने होइनन्। सम्पत्ति व्यवस्थापन कम्पनी भ्यानगार्ड ग्रुपले गत अप्रिल ८ मा आफूसँग अब ट्विटरको १०.३ प्रतिशत सेयर भएको सार्वजनिक गरेको थियो।

मस्कले ट्विटर नै खरिद गर्ने चर्चासँगै त्यसका लगानीकर्ता र विश्लेषकहरु असन्तुष्ट बनेका छन्।

मस्कको ट्विटर खरिद गर्ने योजनाले टेस्लालाई नै गम्भीर असर पुग्ने उनीहरुको जिकिर छ। मस्कले ट्विटर खरिद गरे उनको ध्यान टेस्लाबाट विचलित हुने तर्क लगानीकर्ता र विश्लेषकहरुको छ। साथै, ट्विटर खरिद गर्न मस्कले टेस्लाकै पैसाबाट डिल हुने सम्भावना रहेकाले टेस्लाको विस्तारमा असर पर्ने बताइएको छ।       

मस्कले ट्विटर खरिद गर्ने समाचार बाहिरिएसँगै विश्वभर सबैभन्दा बहुमूल्य सेयर मानिने टेस्लाको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटिसकेको छ।

बिहीवार मात्रै टेस्लाको सेयर मूल्य ३.७ प्रतिशतले घटेको थियो। पछिल्लो समय निर्माण गरेका बर्लिन र टेक्सस एसेम्बी प्लाटमा उत्पादन बढाउनुपर्ने चुनौतीमा टेस्ला छ। साथै, टेस्लाले चीनको सांघाईमा निर्माण गरेको ठूलो उद्योग कोरोना संक्रमण बढेसँगै अलपत्र छ।