BIZMANDU
www.bizmandu.com

पोखरामा चर्चित मोनालिसा थकाली रेष्टुरेन्ट काठमाडौंमा बिस्तार, हलाल परिकार पनि पाइने


पोखरामा चर्चित मोनालिसा थकाली रेष्टुरेन्ट काठमाडौंमा बिस्तार, हलाल परिकार पनि पाइने
पोखरामा चर्चित मोनालिसा थकाली रेष्टुरेन्ट काठमाडौंमा बिस्तार, हलाल परिकार पनि पाइने

काठमाडौं। तीस वर्षअघिदेखि पोखरामा थकाली खानाका लागि प्रख्यात मोनालिसा थकाली रेष्टुरेन्टले काठमाडौंमा आउटलेट खोलेको छ। थकाली खाना भन्नेबित्तिकै आकर्षक थाली र त्यो सँगै जोडिएको परम्परागत आतिथ्यता प्रमुख मानिन्छ। उही परम्परागत १३ थरी परिकार सहितको थकाली खाना र थकाली संस्कृति जोडिएको आतिथ्यतासहित पोखराबाट 'मोनालिसा थकाली' काठमाडौं आइपुगेको हो।

Tata
GBIME
Nepal Life

नक्सालस्थित भाटभटेनी सुपरस्टोरको गेट ठ्याक्कै पारिपट्टी रातो चाइनिज ईंटाले बनेको घर। गेटबाटभित्र छिरेलगत्तै 'आइ लभ काठमाडौं' को स्लोगन देखिन्छ। कता कता हिमाल पारीकै देश अर्थात मुस्ताङ पुगेको आभाष हुने वातावरण। मोनालिसा थकाली रेष्टुरेन्टको फराकिलो एम्बियन्स अनि कौसीभरी पाँजिएका दाउरा। रेष्टुरेन्टभित्र छिर्ने बित्तिकै बाँयातर्फको भर्‍याङमाथिको प्यासेजमा आँखा नपर्ने कमै होलान्। थकाली परिकारको आठ बाइ आठ फुटे एचडी चित्रकला टाँगिएको यो भित्ताले नै रेष्टुरेन्टको बयान गर्छ।

थाली सेटको मनमोहक चित्र मोनालिसाको तस्वीर झैं सुन्दर देखिन्छ। नजिकै मोनालिसाकै चित्र पनि राखिएको छ। दुवै तस्वीरले रेष्टुरेन्टको पहिचान बोकेको छ।

रेष्टुरेण्टको सिलिङमा ढाका कपडाको प्रयोग गरिएको छ। भित्तामा विभिन्न जातजातिले प्रयोग गर्दै आएको गरगहनालाई शोकेसमा राखिएको छ। रेष्टुरेण्टको एउटा कुनामा थकाली समुदायले प्रयोग गर्दै आएको माना, करुवा, पाथी, गाग्री सजाएर राखिएको छ। एउटा कक्षलाई परम्परागत शैली अनुसार सजाइएको छ। आगो ताप्दै वरपर गोलाकार बसेर खानपिन गर्न सकिने गरी रेष्टुरेन्ट तयार पारिएको छ।

मोनालिसाको पहिलो  शाखाका रुपमा नक्सालस्थित रेष्टुरेन्टको सफ्ट ओपनिङ भएको दुई साता मात्र भएको छ। दुई रोपनी १३ आनामा फैलिएको यो रेष्टुरेन्टमा एक सय ५० जनाको अकुपेन्सी क्षमता छ।

रेष्टुरेण्टमा ४० जना क्षमताको बियर गार्डेन, नौवटा विशेष कक्ष पनि तयार पारिएको छ। यहाँ २० वटा गाडी सजिलै पार्किङ गर्न मिल्छ। रेष्टुरेण्टमा १२-१२ जना अट्ने तीनवटा बैठक कोठा पनि छ। यस बाहेक रेष्टुरेण्टमा नौरीकोट, खन्ती, सौर, कोबाङ, लाजुङ, टुकचे, घाँसा, जोमसोम लगायत नाम दिइएका कक्षहरु छन्। रेष्टुरेन्टको डिजाइनिङ डेको इन्टेरियर्सले गरेको हो।

विशुद्ध दाल, भात, तरकारीका लागि चिनिने थकाली खानामा हिमाली क्षेत्रमा पाइने मसलाको मात्र प्रयोग हुने मोनालिसा थकाली रेष्टुरेण्ट काठमाडौंका संचालक विजयबाबु शेरचन बताउँछन्।

थकाली बाहेक नयाँपन दिनका लागि मोनालिसाले जापानी परिकारको सेवा सुरु गरेको छ। 'थकाली भनेको जात होइन अहिले त खाना भइसकेको छ। के हो थकाली भन्दा अहिलेको पुस्ताले खाना भन्छन्। थकाली जात र संस्कृति भन्दा पनि भाततिर ढल्किसकेको छ। कालो दालको सट्टा कतिपय गेस्टले त बाबु थकाली दाल छैन भनेर सोध्नुहुन्छ। फापरलाई पहिला गरिबको खाना भनिन्थ्यो तर अहिले त्यही ढिँडो स्वास्थ्यवर्द्धक खानामा गनिन्छ,' संचालक विजयले सुनाए।

के हो थकाली परिकार?

थकाली संस्कृतिमा थप्ने भन्ने चलन हुन्छ। घरमा आउने पाहुनाले खाना खाँदा थपिदिएनन् भने रिसाएर हो वा खाना नमिठो भएर हो कि भन्ने बुझिन्छ। थप्नै पर्ने चलन यसरी नै सुरु भएको थियो। कसैले बोलाएर खाना खान गइसकेपछि पाहुनाले आनन्दले थपी थपी खाने चलन नै थकाली चलन हो। विजयले पनि काठमाडौंमा बिस्तार गरिएको मोनालिसालाई त्यसरी नै तयार पारेको बताउँछन्।

उनी भन्छन् 'मैले बुझे अनुसार थकाली भनेकै दाल भात तरकारी हो। तर यसमा प्रयोग गरिने 'पाक सामाग्री' सन्तुलित हुन्छ। अथेन्टिक थकाली तरकारीमा प्याज र गोलभेडा प्रयोग हुँदैन। यसमा नुन बेसार र जिरा मात्र प्रयोग गरिन्छ। तर दालमा अदुवा हालिन्छ। हिमाली भेगमा पाइने मरमसलाको मात्र प्रयोग हुन्छ।'

थकाली  परिकारमा दाल झान्दा जिम्बुले झानिन्छ। यस्तै थकाली खानामा टिमुरको प्रयोग बढी हुन्छ। यस्तै तरकारी अनुसार कटाइ फरक हुने गर्दछ। टिमुर आलुमा लाम्चो, सिमी आलुमा गोलो गरी काट्ने गरिन्छ। थकाली परिकारमा कालो, खैरो, रातो, हरियो खाद्य सामाग्रीको प्रयोग गरिन्छ। ससाना डिटेलिङलाई ध्यानमा राखेर थकाली परिकार तयार पारिन्छ।

थकालीको थाली सेट सन्तुलित हुन्छ। मुला पाचनका लागि, मासु र गेडागुडी प्रोटिनका लागि, कार्वका लागि भात र आलु प्रयोग हुने गरेको छ। पापड र दही यो परिकारमा प्रयोग नहुने भएपनि पछि थपिएको विजय बताउँछन्।

मोनालिसा रेष्टुरेन्टमा पाहुनालाई थकाली संस्कृति परम्परा अनुसार भात हेरेर दाल थप्ने शैलीलाई निरन्तरता दिइएको विजयले जानकारी दिए। १३ किसिमका परिकारबाट सजाइएको थाली यसै पनि आकर्षक छ। त्यसैमाथि थकाली चलन अनुसार नै यहाँ पाहुनाको भागमा हुने भात  हेरेर दाल थपिन्छ।

पाहुनालाई देवतासमान मान्ने आतिथ्य संस्कार

स्विटजरल्याण्ड र न्युयोर्कबाट होटल व्यवस्थापनमा स्नातकोत्तर गरेका विजयले रेष्टुरेन्टका कर्मचारीलाई पनि आतिथ्यतालाई प्राथमिकता दिनेगरी तालिम दिएका छन्। ग्राहक सधैं ठिक हुन्छन् मान्यता अंगाल्नुपर्ने उनी बताउँछन्। 'हाम्रो मुख्य प्राथमिकता भनेको पाहुनाको सन्तुष्टि हो। सानो सानो कुरामा पाहुनाको चित्त नबुझेको अवस्थामा वहाँहरु खुशी भएर जान सक्नुहुन्न। त्यसैले हामी ग्राहकको इच्छा अनुसारकै खाना र आतिथ्यता प्रदान गर्छौं,' उनले भने।

पोखरामा सन् १९९८ बाट मोनालिसा थकालीको यात्रा सुरु भएको हो। तीन दशक अघि बुबाआमाले सुरु गरेको मोनालिसालाई अघि बढाउने जिम्मा विजयको काँधमा आएको छ। मोनालिसा थकाली रेष्टुरेन्ट स्थापनाको श्रेय आफ्नी आमा उषा शेरचनलाई दिन्छन् उनी। बुबाआमाले अघि बढाएको मोनालिसालाई थकाली संस्कृति अनुसार नै प्रवर्द्धन गरिरहेको उनले बताए।

ब्रेकफास्टमा भुटेको मकैदेखि भुटीभातसम्म

हाल मोनालिसा थकालीको मेनुमा पिरो पिरो मकै, छोयला पिज्जा, सुकुटी साँधेको पिज्जा, क्रिस्पी टेम्पुरा, कन्चम्बा, मुस्ताङ आलु, सुकुटी, टिमुर चिकेन, कान्जुरी क्रिस्पी चिकेन, आलु प्लाटर लगायतका परिकार छन्।

थकाली समुदायमा बिहानको नास्तामा भुटेको मकै, घ्युमा भुटेको भात लगायतका परिकारहरु धेरै प्रयोग हुन्छ। रेष्टुरेन्टको मेनुमा यी परिकारहरु पनि राख्ने तयारी भैरहेको उनले जानकारी दिए।

थकाली खानासँगै ब्रेकफास्ट प्रवर्द्धन गर्ने योजना रहेको उनी बताउँछन्।

दिउँसोको खाजा अर्थात अर्नी

थकाली भाषामा अर्नी अर्थात खाजाको रुपमा आलु निकै लोकप्रिय रहेको उनले जानकारी दिए। मोनालिसाले दिउँसोको खाजाको लागि मुस्ताङ आलुको परिकार राखेको छ। 'हाम्रो परम्परा अनुसार खेतमा काम गर्न जाँदा सबैभन्दा आडिलो र सजिलो खाजा आलु नै हो। टिमुर छोपसँग खाने आलुको परिकार बनाउन आलु मुस्ताङबाटै ल्याउछौं।'- उनले भने।

उनका अनुसार पोखरा मोनालिसाका लागि रेष्टुरेण्टले एक सिजनमा ६० बोरा आलु ल्याउने गरेको छ। घिउमा पकाएर घिउमै तारेर तयार गरिने मुस्ताङ आलुको परिकार पाहुनाले मन पराउँदै आएको उनले बताए। मुस्ताङमा आलु नपाएको अवस्थामा मात्रै हेम्जा र मुडेको आलु प्रयोग गरिने उनले जानकारी दिए। रेष्टुरेण्टले अन्य पेयसँगै मार्फा वाइन पनि राखेको छ।  

यहाँ ग्राहकहरुले आफूलाई मन पर्ने पेयपदार्थ बाहिरैबाट लगेर पनि खान मिल्छ। जापानी रेष्टुरेन्टहरुमा हुने यो शैलीलाई मोनालिसाले पनि निश्चित क्रकेज चार्ज तिरेर आफूलाई मन लागेको बेलामा पिउन मिल्ने गरी अपनाएको छ। यसका लागि रेष्टुरेन्टमा ग्लास लकर तयार गरिएको उनले जानकारी दिए।

काठमाडौंमा रहेका सबै धर्म सम्प्रदायलाई लक्षित गरी परिकार तयार गरिएको उनी बताउँछन्। यसअन्तर्गत मुस्लिम सम्प्रदायलाई खान मिल्ने गरी हलाल परिकारको पनि सेवा सुरु गरिएको उनले जानकरी दिए। मोनालिसा थकालीमा चिकेन, मटन लगायत हलाल परिकार पाइन्छ।