काठमाडौं। मेगा बैंकले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी रविना देशराज श्रेष्ठलाई दिएको छ। उनी बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत हुन्।
प्रमुख कार्यकारी अधिकृत अनुपमा खुँञ्जेली ४ वर्षे कार्यकाल पुरा हुनु केही दिनअघि राजीनामा गरेर बाहिरिएपछि अर्को व्यवस्था नहुञ्जेलसम्मलाई श्रेष्ठलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो।
मेगा बैंक स्थापनादेखि श्रेष्ठ त्यहाँ छिन्। नबिल बैंक छाडेर उनी मेगा गएकी थिइन्। ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने रविनाले भारतको कोलकातास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी थिइन्।
रविनाको अध्ययन पनि कउोलकातामै भएको हो। श्रेष्ठ त्यसपछि तत्कालिन ग्रिण्डलेज बैंक (अहिलेको स्ट्याण्डर्ड चार्टर्ड बैंक) मा आइन्। त्यहाँ उनले १३ वर्ष काम गरेकी थिइन्। त्यहाँ उनले 'इन्ट्री लेभल' बाट करियर सुरु गरेकी थिइन्।
चार्टर्ड छोडेर उनी नबिल बैंकमा आइन्। नबिलमा उनले ६ वर्ष सात महिना बिताएकी थिइन्। नबिलपछि खुल्न लागेको मेगा बैंक नेपालमा अनिल शाह (नबिल बैंकका सीइओ), अनुपमा खुँञ्जेलीसँगै गएकी थिइन्।
बैंकिङ क्षेत्रमा रविनाले ३२ वर्ष बिताइसकेकी छन्। उनले मानार्थ डाक्टर उपाधि पनि पाएकी छन्। उनले अन्तर्राष्ट्रिय संस्थाहरुबाट सम्मान तथा पुरस्कार पनि पाएकी छन्।