BIZMANDU
www.bizmandu.com

चन्द्रागिरि हिल्स रिसोर्टबाट बाहिरिए अभिषेकविक्रम, नयाँ महाप्रबन्धकमा सन्जीव थापा नियुक्त

२०७८ चैत्र २८

चन्द्रागिरि हिल्स रिसोर्टबाट बाहिरिए अभिषेकविक्रम, नयाँ महाप्रबन्धकमा सन्जीव थापा नियुक्त
चन्द्रागिरि हिल्स रिसोर्टबाट बाहिरिए अभिषेकविक्रम, नयाँ महाप्रबन्धकमा सन्जीव थापा नियुक्त


काठमाडौं। चन्द्रागिरि हिल्स रिसोर्टको महाप्रबन्धकमा सन्जीव थापा नियुक्त भएका छन्। सात वर्ष महाप्रबन्धकको जिम्मेवारी सम्हालेका अभिषेकविक्रम शाहले राजीनामा दिएपछि थापा नियुक्त भएका हुन्।

Tata
GBIME
NLIC

चन्द्रागिरि हिल्स् लिमिटेडले शाहको राजीनामा स्वीकृत गरेसँगै आउँदो वैशाख १ गतेदेखि लागू हुने गरी थापालाई नियुक्त गर्ने निर्णय गरेको जनाएको हो। कम्पनीमा नवनियुक्त थापा लामो समयदेखि हस्पिटालिटी क्षेत्रमा आबद्ध छन्। उनले हायत रिजेन्सी, केजीएच समूह अन्तर्गत सञ्चालित पार्क भिलेज रिसोर्ट लगायतमा चिफ अपरेटिङ अफिसरको भूमिका निर्वाह गर्दै आएका थिए।

शाहले आफ्नो अनुभव विस्तार गर्ने उद्देश्यले कम्पनीबाट स्वैच्छिक राजीनामा दिएको बताए। 'पर्यटनमा काम गर्न सकिने धेरै क्षेत्र छन्। आफूले लिएको अनुभवलाई थप नयाँ ठाउँमा विस्तार गर्ने उद्देश्य हो। सबैको सपोर्टमा सौहार्द वातावरणमा राजीनामा दिएको हुँ,' शाहले बिजमाण्डूसँग भने।

उनले यो रिसोर्ट सञ्चालनको सुरुवाती समयदेखि महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दै आएका थिए। चन्द्रागिरिमा केबुलकारसँगै रिसोर्ट पनि सञ्चालनले काठमाडौंमा घुमघामको नयाँ गन्तव्य बनेको छ। 

कम्पनीको गत शुक्रबार बसेको ३२ औं संचालक समितिको बैठकले राजीनामा स्वीकृत गर्नुका साथै नयाँ नियुक्तिको निर्णय गरेको हो।