काठमाडौं। लाइसेन्स लिएर एक दशकदेखि निष्क्रिय रहेको बीबी एयरवेजले जहाज ल्याएर पुन: उडान गर्ने भएको छ। डेढ अर्ब रुपैयाँ लगानी थपेर सात महिनाभित्र पुन: उडान सुरु गर्ने योजनामा कम्पनी छ। त्यही योजना अनुसार कम्पनीले पाँच वर्षपछि लाइसेन्स समेत नवीकरण गरेको छ।
कम्पनीका अध्यक्ष भवन भट्टले सात महिनाभित्रै दुईवटा एयरबस-३२० जहाज लिजमा लिएर उडान सुरु गर्ने योजना बनाएको जानकारी दिए।जहाज लिजमा लिने प्रक्रिया सुरु भइसकेको छ।
कम्पनीले एक सातायता आवश्यक जनशक्ति भर्ना पनि गरेको छ। नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक हरिभक्त श्रेष्ठ सीइओ नियुक्त भएका छन् भने श्रीष शर्मालाई प्रशासन प्रमुखमा नियुक्त गरिएको छ।
उनले एयरलाइन्समा थप लगानीका लागि आफ्नो समूह अन्तर्गत रहेको धुलिखेल माउन्टेन रिर्सोट (डीएमआर) बिक्री गर्न लागेको समेत जानकारी दिए। 'डीएमआर बिक्री प्रक्रिया अगाडि बढिरहेको छ। त्यो बेचेर पनि एयरलाइन्समा हाल्नेछु,' भट्टले बिजमाण्डूसँग भने, 'म अब एयरलाइन्स र जलविद्युतमा मात्रै केन्द्रित हुन खोज्दैछु।' भट्टले यो बाहेक हेटौंडामा रहेको स्टार बियर उत्पादन गर्ने नेपाल ब्रुअरीज पनि बिक्रीमा राखेका छन्।
त्यो बाहेक नयाँ लगानीकर्ता समेत ल्याउने उनले जानकारी दिए।
कम्पनीलाई थप विस्तार गर्नका लागि नयाँ लगानीकर्तासँग छलफल भएको बताउँदै उनले भने, 'अहिले तत्काल साझेदार भित्र्याइसकेका छैनौं। हामी आफ्नो क्षमता विस्तारका लागि तत्पर छौं,' उनले भने,'हामीले अहिले एयरबस ३२० नियो ल्याउने योजना बनाएका छौं। यसको लिजिङ मूल्य बढी पर्न आएमा एयरबस-३२० लिनेछौं।'
भट्टले बजार माग बढे निकट भविष्यमा थप तीनवटा जहाज संख्या विस्तार गर्ने उनले बताए।
सन् २०१२ मा लाइसेन्स पाएको कम्पनीले काठमाडौं-मलेसिया उडान गरेको थियो। आफ्नो जहाजै नहुनु र कर्मचारी पनि सीमित मात्रै राखेर चलिरहेको कम्पनीमा बिस्तारै सक्रियता देखिएको छ। बीबीको लाइसेन्स गत फागुन २९ मा नवीकरण भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।
'लाइसेन्स नवीकरणका लागि व्यवसायिक योजना बुझाउनुपर्छ। कम्पनीले कार्ययोजना बुझाएर अब हवाई सेवा व्यवसायमा सक्रिय उपस्थिति देखाउने संकेत गरेको हो,' मन्त्रालयका एक कर्मचारीले भने, 'बोइङ र एयरबसका जहाज ल्याएर नेपालबाट अन्तर्राष्ट्रियतर्फका उडान गर्ने योजना बनाएको छ।' उनका अनुसार सुरुमा दुई बोइङ-७६७ र तीन एयरबस-३२० सिरिज जहाज ल्याएर अन्तर्राष्ट्रिय उडान गर्ने योजना पेस भएको छ।
कम्पनीको हालको लक्ष्य आगामी सेप्टेम्बरबाट उडान थाल्ने भन्ने छ। 'जहाज आइपुग्ने दिन टुंगो भएसँगै उडानको मिति पनि निश्चित हुनेछ,' भट्टले भने, 'कम्पनीले फेरि जिरोबाट काम थाल्दैछौं। ढुक्क भएर मिति तोकिहाल्ने बेला भइसकेको छैन।'
मन्त्रालयले दुई वर्षभित्र जहाज संख्या दुई पुर्याएर उडान सञ्चालन गर्ने सर्तमा अनुमति दिएको जनाएको छ। कम्पनीलाई पाँच जहाजमार्फत दिल्ली, बैंकक, क्वालालाम्पुर, हङकङ, टोकियो, दोहा, सिंगापुर लगायत गन्तव्यमा उडान सञ्चालन अनुमति दिइएको जनाइएको छ।
बीबी एयरवेजले सन् २०१२ सेप्टेम्बर १३ कम्बोडियाको सियाम रिपबाट बोइङ ७५७-२०० विमानमा दुई सय एक पर्यटक ल्याएर आफ्नो सेवा सुरु गरेको थियो। सुरुको त्यो चार्टर उडान कम्बोडियाको टोन्ले साप कम्पनीसँग संयुक्त रूपमा सञ्चालन आएको थियो।
कम्पनीले आफ्नो नियमित उडान अक्टोबरदेखि सुरु गरेको थियो, तर सोचेजस्तो फाइदा नभएपछि निरन्तरता दिन सकेन। टोन्ले सापले लिज पर्चेजमा लिइएको आफ्नो जहाज फिर्ता लिएर गएपछि बीबीका उडान रोकिएका थिए। त्यसपछि भट्टले नेपाल वायु सेवा निगमको बोइङ-७५७ खरिद प्रक्रिया पनि अघि बढाएका थिए।
कार्गोमा मात्रै प्रयोग गर्न सकिने उक्त विमानको खरिद प्रक्रियामा कम्पनी असफल भएको थियो।
हाल नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयर लगायत तीन वायुसेवा कम्पनीले नेपालबाट अन्तर्राष्ट्रियतर्फका उडान गर्दै आएका छन्। बीबीले आफ्नो उडान सञ्चालन गरेसँगै अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली वायुसेवा कम्पनीको संख्या चार पुग्नेछ। यती र श्री एयरलाइन्सले पनि अन्तर्राष्ट्रिय चार्टर र कार्गो उडान अनुमति पाइसकेका छन्।