BIZMANDU
www.bizmandu.com

शिवम् नेप्सेमा अत्यधिक उतारचढावपूर्ण सेयर, यस्तो छ ‘रिलेटिभ स्ट्रेन्थ इन्डेक्स’

२०७८ चैत्र १९

शिवम् नेप्सेमा अत्यधिक उतारचढावपूर्ण सेयर, यस्तो छ ‘रिलेटिभ स्ट्रेन्थ इन्डेक्स’
शिवम् नेप्सेमा अत्यधिक उतारचढावपूर्ण सेयर, यस्तो छ ‘रिलेटिभ स्ट्रेन्थ इन्डेक्स’


काठमाडौं। धितोपत्र बजारमा सूचीकृत वास्तविक क्षेत्रका कम्पनीहरूको सानो सूची अन्तर्गत शिवम् सिमेन्ट लिमिटेड पनि समावेश छ। प्रिमियममा आइपीओ निष्कासन गरेको शिवम् दोस्रो बजारमा भित्रिए लगत्तै लगानीकर्ताको रोजाइमा पर्न सफल छ।

Tata
GBIME
NLIC

दोस्रो बजारमा सूचीकृत पहिलो सिमेन्ट कम्पनी भएकै कारण पनि लगानीकर्ताबीच शिवम् सिमेन्ट लोकप्रिय रहेको बुझिन्छ। सबल व्यवस्थापन र सन्तोषजनक व्यावसायिक पक्षले पनि लगानीकर्ता शिवम् प्रति सुनिश्चित देखिन्छन्।

प्रतिफलको दृष्टिकोणबाट कम्पनीले वितरण गर्दै आएको लाभांश पनि सन्तोषजनक नै छ। बलियो आधारभूत पक्षले गर्दा कम्पनीमा लगानी गर्न लगानीकर्ताले खासै संकोच गर्ने गरेका छैनन्। लगानीकर्ताले विविधिकरणका हिसाबले पनि शिवम् रोज्ने गरेका छन्।

उत्पादन तथा प्रशोधन उपसमूह अन्तर्गत सबैभन्दा सस्तो सेयर मूल्य रहेको शिवम् सिमेन्ट हो। सर्वाधिक मूल्यवान् कम्पनीहरू पनि यही उपसमूहमा समावेश हुँदा लगानीकर्ताको मनोबल शिवम् सिमेन्ट प्रति थप बलियो छ। युनिलिभर र हिमालयन डिस्टिलरी जस्ता कम्पनी पनि उत्पादन तथा प्रशोधन उपसमूह अन्तर्गत नै समावेश छन्। 

समय समयमा ‘कर्नरिङ’ को चर्चाका कारण पनि शिवम् सिमेन्टको स्टकले सक्रिय बजार प्रस्तुति जनाउने गर्छ। प्रमुख सूचक नेप्से र उत्पादन तथा प्रशोधन उपसूचकको प्रदर्शनीलाई समेत शिवम् सिमेन्टको मूल्य प्रदर्शनीले मात खुवाउने गर्छ। कम्पनीको बेटा भ्यालु २.१३ छ। नेप्सेमा सूचीकृत अत्यधिक उतारचढाव पूर्ण सेयरमध्ये शिवम् सिमेन्ट पनि एक हो।   
 
यो साता भने कम्पनीको मूल्य ५.२० प्रतिशत घट्यो। बिक्रेता कम्पनीको सेयर बेच्न आतुर देखिए। तर ५२ हप्ताको न्युनतम मूल्य नजिक कारोबार हुँदा लगानीकर्ताको आकर्षणमा शिवम् सिमेन्ट लिमिटेडको सेयर पर्ने सम्भावना अब्बल छ।

प्रमुख गतिविधि:
गत कात्तिक १६ गते बसेको कम्पनीको छैटौं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको २९ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। 

कम्पनीले चुक्ता पुँजी ४ करोड ४० लाख रुपैयाँको २९ प्रतिशतले हुन आउने एक अर्ब २७ करोड ६० लाख रुपैयाँ  लाभांश वितरण गरेको हो।
अघिल्लो आर्थिक वर्षको तुलनामा प्रतिफल भने बढेको छ। आर्थिक वर्ष २०७६/७७ मा शिवम् सिमेन्टले लगानीकर्तालाई २४.२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। सो अघिका आर्थिक वर्षहरूमा भने कायम चुक्ता पुँजीको १५.७८ प्रतिशत नगद लाभांश स्वरूप वितरण गरेको थियो।

आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ मा लगानीकर्ताले १५.७८ प्रतिशत नगद लाभांश पाएका थिए। चार वटा आर्थिक वर्षहरूमा कम्पनीले लगानीकर्ताको कुल ८४.७७ प्रतिशत पुँजी नगद लाभांशस्वरूप फिर्ता गरिसकेको छ। औसतमा कम्पनीको वितरण गर्ने प्रतिफलको दर २१.२ प्रतिशत छ।     

चालु आर्थिक वर्षको दोस्रो त्रैमास:
शिवम् सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ४२ करोड ७३ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.५३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५८ करोड ९६ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बिक्री आम्दानी र कुल आम्दानी बढे पनि खर्चहरू बढेसँगै कम्पनीको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ८.१६ प्रतिशत बढेको छ भने कुल आम्दानी ७.५९ प्रतिशत बढेको छ। त्यसै गरी, कम्पनीको कुल खर्च भने समीक्षा अवधिमा १४.५४ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २६.८० रुपैयाँबाट ७. ३८ रुपैयाँ घटेर १९. ६० रुपैयाँमा झरेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ५९ पैसा रहेको छ र धितोपत्र बजारको अन्तिम कारोबार मूल्य १०५७ रुपैयाँका आधारमा मूल्य आम्दानी अनुपात ५३.९३ गुणा छ। 
 
सकियो लकिङ पिरीयड 
शिवम् सिमेन्टको फागुन २२ देखि लकिङ पिरियड सकिएको छ। लकिङ पिरियड सकिएसँगै सबै सेयर सर्वसाधारणमा परिणत भएका छन्।

कम्पनीका दोस्रो बजारमा ४ करोड ४० लाख कित्ता सेयर सूचीकृत छन्। जसमा ८८ प्रतिशत हुन आउने ३ करोड ८७ लाख कित्ता सेयर संस्थापकहरूको हिस्सा छ भने २ प्रतिशतले हुन आउने ८ लाख ८० हजार कित्ता सेयर स्थानीय प्रभावितको हिस्सा छ । बाँकी रहेको १० प्रतिशत हुन आउने ४४ लाख कित्ता सेयर सर्वसाधारणको हिस्सा हो।

फागुन २२ मा लकिङ पिरीयड सकिएपछि सबै सेयर सर्वसाधारणमा रूपान्तरण भएका हुन्।  अब ४ करोड ४० लाख कित्ता नै दोस्रो बजारमा किनबेच गर्न सकिनेछ।  तर संस्थापक सेयरको हकमा भने हाल सञ्चालक समितिमा बस्नेहरूले किनबेच गर्न पाउने छैनन्। 

नियम अनुसार सञ्चालक समितिको सदस्यतामा रहेसम्म कम्पनीको सेयर किनबेच गर्न नपाउने प्रावधान छ। सोही कारण संस्थापकहरूले कम्पनीको सेयर किन बेच गर्न पाउने छैनन्। 

त्यसै गरी सञ्चालक समितिबाट हटेको एक वर्षसम्म पनि सेयर किनबेच गर्न पाइँदैन। त्यस कारण सञ्चालक समितिबाट हटेका पदाधिकारीले समेत एक वर्ष नपुगेपछि मात्र संस्थापक सेयर बिक्री गर्न पाउने छन्। स्थानीय प्रभावितले भने फागुन २२ गतेदेखि नै सेयर किनबेच गर्न पाएका हुन्।


 
प्राइस एक्सन
उच्चतम मूल्यबाट ४६ प्रतिशत घटेको शिवम् सिमेन्टको सेयर हाल ५२ हप्ताको न्युनतम मूल्य विन्दु आसपास कारोबार हुँदैछ। कम्पनीको सेयर एक वर्षको अवधिमा प्रति कित्ता एक हजार २५ रुपैयाँको न्युनतम मूल्यमा सम्म खरिद बिक्री हुन पुगेको थियो। सोही मूल्य नजिक कम्पनीको सेयर कारोबार हुँदै छ। दोस्रो बजारको अन्तिम कारोबार मूल्य अनुसार हाल शिवम सिमेन्टको सेयर एक कित्ता बराबर एक हजार ५७ रुपैयाँमा कारोबार भइरहेको छ।

५२ हप्ताको न्युनतम मूल्य विन्दु नजिक टेवा लिन प्रयासरत सेयरको मूल्यले यस पश्चात् उकालो यात्रा तय गर्ने लक्षण देखाएको छ। सामान्य बुझाइ अनुसार ५२ हप्ताको न्युनतम मूल्य विन्दु नजिकिनु छिट्टै लगानीकर्ताको माग सो सेयर प्रति बढ्नु हो। ५२ हप्तामा कारोबार भएको सबैभन्दा कम मूल्यमा खरिद गर्ने लगानीकर्ताको आम प्रवृत्ति रहिआएको छ।

शिवम् सिमेन्टको सेयर मूल्यले १९०० को उच्चतम मूल्य अवरोध निर्माण गरी फर्किएको हो। विभिन्न मूल्य रेखाहरूमा खरिदकर्तालाई आकर्षण गर्न प्रयास गरेको कम्पनीको सेयर मूल्यले अपेक्षा अनुरूपको माग भने हासिल गर्न सकेन। खरिदकर्तालाई बिक्री मूल्य कबुल नहुँदा यस अघि बिक्रेता बजारमा हाबी भएको प्राविधिक चार्टको गतिविधिले देखाएको छ। 

शिवम् सिमेन्टको सेयर मूल्यले १५ सय रुपैयाँ र १२ सय रुपैयाँमा खरिदकर्ता संकलन गर्न प्रयास भने गरेको थियो। तर खरिदकर्तालाई यी मूल्य मन्जुर नभएपछि मूल्य घटाउँदै बिक्री गर्नेहरूको चाप बाक्लो हुँदै गएको हो। सोही कारण १,९०० को उच्चतम मूल्य अवरोध निर्माण गरी घटेको सेयर मूल्यले १५ सय रुपैयाँ र १२ सय रुपैयाँमा पर्याप्त टेवा पाउन सकेन। 

१२ रुपैयाँमा खरिदकर्ता केही आकर्षित हुँदा १,४५३ रुपैयाँको यात्रा भने मूल्यले तय गरेको थियो। तर १,२०० रुपैयाँमा खरिद गर्नेहरूले छोटो समयमै पर्याप्त लाभ उठाउन सफल भएपछि बजारमा अत्यधिक आपूर्ति सृजना भएको थियो। १,९०० मा बिक्री गर्न असफल रहेका लगानीकर्तालाई समेत १,४५३ रुपैयाँले बिक्री गर्ने अवसर दिएको थियो।

समग्रमा बिक्रेताको सक्रिय प्रदर्शनी कै कारण शिवम् सिमेन्टको सेयर मूल्य यस अघि पनि ५२ साताको न्यूनतम मूल्यरेखा नजिक पुगेको थियो। सो समय खरिदकर्ताले चित्तबुझ्दो मूल्यमा सेयर उठाउन पाएपछि भने मूल्यमा विशेष तेजी आएको देखिन्छ। मूल्यले खरिदकर्ताहरूको बाक्लो जमात संकलन गर्न सफल हुँदा मूल्यले करिब करिब १,७०० रुपैयाँसम्मको यात्रा तय गरेको थियो। 

एक हजार २७ रुपैयाँदेखि खरिद गर्न पाएका लगानीकर्ताले मूल्यलाई १,५०० रुपैयाँ पार गराउन खासै समय भने खर्च गरेनन्। १,७०० रुपैयाँसम्म पुगे तापनि सेयर बिक्री गर्नेहरूको ठूलो संख्या भने १,५०० नजिकिए लगत्तै सक्रिय भएको प्राविधिक चार्टले प्रस्तुत गरेको छ। यस अघि टेवा रहेको १,५०० रुपैयाँको मूल्य रेखा सो समय अवरोधमा परिणत भएको देखिन्छ। प्राविधिक सहयोग लिने लगानीकर्ता र बजारमा सक्रिय ट्रेडरको संख्याले अवरोध विन्दु नजिकिए लगत्तै बिक्री गर्न सुरु गरेका थिए। 

तर माग बाक्लै हुँदा सेयर १,६६८ रुपैयाँसम्ममा खरिद बिक्री हुन पुगेको थियो। सो मूल्यरेखादेखि भने बजारमा नाफा बुक गर्नेहरू नै बढी हाबी भएका छन्। ओरालो लाग्ने क्रममा पुनः मूल्यले १५ सय रुपैयाँ र १२ सय रुपैयाँको टेवा विन्दु तोडी ओर्लिएको छ। यो समय पनि मूल्य ५२ हप्ताको न्यूनतम मूल्य नजिक नै पुग्यो।

शिवम् सिमेन्टको सेयर मूल्यले बारम्बार ५२ हप्ताको न्युनतम मूल्यलाई टेवाका रूपमा परीक्षण गरेको छ। सेयरमा ५२ हप्ताको न्युनतम मूल्य नजिकिँदा लगानीकर्ताको माग बढ्ने इतिहास दोहोरिइरहेको छ। यसपालि पनि मूल्य सोही प्रतिक्रिया दोहोर्‍याउने छ भनी दाबाका साथ भन्ने अवस्था भने छैन। 

लकिङ पिरियड समाप्त भएपछि बजारमा कम्पनीको अत्यधिक ‘सप्लाई’ कारोबारका लागि आएको छ। यसअघि मूल्य ओरालो लागि १,०३० सम्म पुग्दा लगानीकर्ताको तीव्र चाप सेयरमा देखिने अपेक्षा थियो। केही दिन खरिदकर्ता सक्रिय देखिए  तर मूल्यले १,२७६ रुपैयाँ भन्दा माथिको यात्रा तय गर्न असफल रह्यो। १,२०० को अवरोध नजिकिए लगत्तै ट्रेडरहरु बजारबाट नाफा बुक गर्न आतुर रहेको देखियो। 

यस्तो अवस्थामा पुन ५२ हप्ता कै न्यूनतम मूल्यबाट बढ्न प्रयासरत शिवम् सिमेन्टको सेयर मूल्यले लगानीकर्तालाई आकर्षण गर्न सफल रहला त भन्ने प्रश्न अधिकतम लगानीकर्ताको छ। टेवामा पर्याप्त शक्ति सञ्चित गरेको छ भने मूल्यले अवश्य पनि सकारात्मक प्रतिक्रिया दिनेछ।

अब बजारमा थपिएको सेयर सप्लाई, ५२ हप्ताको न्यूनतम मूल्य, कम्पनीप्रति लगानीकर्ताको माग, नजिकिएका अवरोध र बजारको वर्तमान ट्रेन्ड हेरी लगानीको रणनीति तयार पार्नु पर्नेछ। ‘स्ट्रिक्ट स्टप लस,’ ‘टार्गेट’ र ‘रिस्क रिवार्ड रेसियो’को पर्याप्त मूल्यांकन पछि लगानीको निर्णय लिनु उत्तम विकल्प हुनेछ। 
 
‘क्यान्डल स्टिक’ विश्लेषण
साताको अन्तिम कारोबार दिन शिवम् सिमेन्टको सेयर मूल्यले बिक्रेताको तीव्र चापसहितको ‘बियरिस स्पाइनिङ क्यान्डल स्टिक’ निर्माण गरेको छ। यस प्रकारको क्यान्डल स्टिकले मूल्य आगामी दिनमा पनि घट्ने संकेत गर्छ। क्यान्डल ५२ हप्ताकै न्यूनतम मूल्यको टेवा विन्दु नजिक छ।  

उक्त टेवा विन्दुले मूल्यको गिरावटलाई बहन गर्न सकेन भने मूल्यमा थप गिरावट आउने निश्चित छ। पछिल्लो गतिविधि अनुसार मूल्यको गिरावटले ५२ हप्ता कै न्यूनतम मूल्य नजिक टेवा पाउने गरेको थियो। सोही समय लगानीकर्ताको आकर्षण पनि सृजना हुँदै गएको देखिन्छ। 
 
तर अघिल्लो दिन लगानीकर्ता खरिद गर्न सक्रिय देखिए पनि बिहीबार भने बिक्रेता नै बजारमा हाबी भए। यस कारण पनि आइतबार बिक्रेताको दबदबा नै बढ्ने सम्भावना अब्बल छ। एक दुई दिन मूल्यले ‘डिमान्ड जोन’मा कस्तो प्रतिक्रिया जनाउँछ सो पश्चात् लगानीको निर्णय लिनु उत्तम हुने देखिन्छ।  एक हजारदेखि एक हजार ५० रुपैयाँको ‘डिमान्ड जोन’मा पर्याप्त ‘एक्युमुलेसन’ भए मूल्यको सकारात्मक प्रदर्शनी देखिने छ। 

यद्यपि ‘डिमान्ड जोन’मा पनि मूल्य अस्थिर भई सो भन्दा तल  क्यान्डल स्टिक’ले क्लोजिङ दियो भने सेयरमा लगानीकर्ताको आकर्षण बिस्तारै हराएको बुझ्न आवश्यक छ। मूल्य त्यसबेला टेवाको खोजीमा ओरालो लाग्ने छ।       
 
मूल्य घट्दा बजारमा शिवम् सिमेन्टको सेयर कारोबार पनि घटेको छ। यो भने सकारात्मक संकेत हो। तीव्ररूपले मूल्य घट्दा पनि लगानीकर्ता कम मूल्यमा सेयर बिक्री गर्ने पक्षमा नरहेको घटेको कारोबारले देखाएको छ। यो साता बजारमा शिवम् सिमेन्टको औसतभन्दा कम कारोबार भएको छ।   
 
मूल्य घट्दा कारोबार रकममा पनि गिरावट आउनु प्राविधिक हिसाबले सकारात्मक बुझिन्छ। त्यस्तै, मूल्यसँगै कारोबार रकम पनि बढ्नु लगानीकर्ता सो सेयर प्रति आकर्षित हुनु हो।
 

१४ दिने आरएसआई ‘रिलेटिभ स्ट्रेन्थ इन्डेक्स’
यस साताको बिहीबार कम्पनीको कारोबार बन्द हुँदा १४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ३३.८२ को स्केलबाट १.९८ प्रतिशत विन्दु घटेर ३१.८४ प्रतिशतको स्केलमा पुगेको छ। यसले बिक्रेताको प्रभाव बजारमा कम रहे तापनि मूल्यले सकारात्मक प्रदर्शनी दिन पर्याप्त शक्ति सञ्चित नगरेको बुझिन्छ। 

आरएसआईलाई ५० प्रतिशतभन्दा तल झर्छ भने बजारले आगामी दिनमा त्यति शक्तिशाली प्रस्तुति प्रदर्शन नगर्ने बुझ्न सकिन्छ। यस्तै, ५० प्रतिशतभन्दा माथि रहेको अवस्थामा सेयर मूल्यले उकालो लाग्न पर्याप्त शक्ति सञ्चित गरेको बुझिन्छ। आरएसआईलाई ५० प्रतिशत स्केलको मापदण्डबाट पनि मापन गर्ने गरिन्छ।

१८.१५ को ओभर सोल्ड जोनबाट बढ्दै गरेको आरएसआईले भने लगानीकर्ता क्रमशः बढ्दै जाने सङ्केत पनि गर्छ। अत्यधिक बिक्रीका कारण मूल्यमा आएको गिरावट लगानीकर्ताको माग समानुपातिक रहे मूल्यमा सकारात्मक प्रदर्शनी देखिनेछ।

रिलेटिभ स्ट्रेन्थ इन्डेक्सले(आरएसआई)ले बजारको प्रस्तुति कतिको शक्तिशाली छ भनेर मापन गर्दछ। यो सूचक ३० प्रतिशतभन्दा तल रहेको अवस्थालाई 'ओभर सोल्ड' अथवा अत्यधिक बिक्री गरिएको भनी बुझिन्छ। 

सामान्यता यो सूचक ७० प्रतिशतभन्दा माथि रहन्छ भने त्यस अवस्थालाई 'ओभर बट' अथवा अत्यधिक खरिद गरिएको भनी बुझिन्छ। यो स्थितिमा लगानीकर्ता नाफा बुकिङमा अत्यधिक सक्रिय हुन्छन्। कारण स्वरूप बजार विपरीत ट्रेन्डतर्फ हिँड्ने गर्छ।