BIZMANDU
www.bizmandu.com

बजार पुँजीकरणका लागि नेप्सेले लिएको तथ्यांक नै गलत, नेप्से सूचकले अवास्तविक तस्वीर देखाउँदै

२०७८ चैत्र ८

बजार पुँजीकरणका लागि नेप्सेले लिएको तथ्यांक नै गलत, नेप्से सूचकले अवास्तविक तस्वीर देखाउँदै
बजार पुँजीकरणका लागि नेप्सेले लिएको तथ्यांक नै गलत, नेप्से सूचकले अवास्तविक तस्वीर देखाउँदै


काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नबिल बैंकको कुल बजार पुँजीकरण एक खर्ब ९६ अर्ब ६ करोड रुपैयाँ देखाउँछ। नेप्सेले सोमबार कारोबार भएको नबिल बैंकको कुल सेयर (संस्थापक र साधारण) को मूल्य प्रति कित्ता १०६० रुपैयाँका दरले हिसाब गरेर यो बजार पुँजीकरण तयार पारेको हो।

Tata
GBIME
NLIC

तर, नेप्सेले आफ्नो 'प्लाटफर्म' मा भने नबिल बैंकको सेयरलाई फरक फरक मूल्यमा कारोबार गराइरहेको हुन्छ। संस्थापक सेयरको भाउ प्रति कित्ता ६८१ रुपैयाँ छ भने सर्वसाधारणको १०६० रुपैयाँ छ।

नबिल बैंकको कुल सूचीकृत सेयर संख्या १८ करोड ४९ लाख ६१ हजार ८६९ कित्ता हो। यसको ४० प्रतिशत अर्थात ७ करोड ३९ लाख ८४ हजार ७४७ कित्ता सेयर मात्र सर्वसाधारणको हो। यसको मूल्य १०६० रुपैयाँ हो।

संस्थापकको ११ करोड ९ लाख ७७ हजार १२१ कित्ता सेयर छ। यसको मूल्य प्रति कित्ता ६८१ रुपैयाँ छ।

यस हिसाबले संस्थापकतिरको कुल मूल्य (पुँजीकरण) ७५ अर्ब ५८ करोड रुपैयाँ र सर्वसाधारणतर्फको ७८ अर्ब ४२ करोड रुपैयाँ पुँजीकरण हुनुपर्ने थियो। दुवैको फरक फरक मूल्यमा आधारित कुल पुँजीकरण एक खर्ब ५४ अर्ब रुपैयाँ मात्र हुन्छ। तर, नेप्सेले संस्थापक सेयरलाई पनि साधारण सरह हिसाब गरेर बजार पुँजीकरण ४२ अर्ब ६ करोड रुपैयाँले बढाएर एक खर्ब ९६ अर्ब ६ करोड रुपैयाँ पुर्‍याएको छ।

नेप्सेले नबिलको मात्र होइन, राष्ट्र बैंकबाट सञ्चालन स्वीकृति पाएका २६ वाणिज्य बैंक, १७ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी, ५० वटाभन्दा बढी लघुवित्त र एउटा इन्फ्रास्ट्रक्चर बैंकको पनि बजार पुँजीकरण यसैगरी गरेको छ। यसबाहेक बीमा कम्पनीको बजार पुँजीकरण पनि सर्वसाधारणको सेयर मूल्यका आधारमा निर्धारण गरेको छ। नेप्सेमा सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ६३.२७ प्रतिशत छ। 

कुल बजारको ६३ प्रतिशतभन्दा बढी सेयरको बजार पुँजीकरण गलत ढंगले गर्दा बजार मापक सूचकले सही तथ्यांक नदेखाएको विश्लेषकहरुको भनाइ छ। 

बजार विश्लेषक निरव पुडासैनीलाई लाग्छ- संस्थापक र साधारणको सेयरलाई एउटै मूल्यमा गणना गरेर बजार पुँजीकरण निकाल्दा त्यसबाट वास्तविक सूचक निर्धारण भएको छैन। 

संस्थापक र साधारणलाई उनीहरुको वास्तविक मूल्यमा राखेर बजार पुँजीकरण गर्ने हो भने आजको दिनमा नेप्से सूचक २१ सय हाराहारी मात्र हो। जबकी सोमबार सूचक २६ सय ३४ अंक तय भएको छ।

यसले गर्दा बजार पुँजीकरणको वास्तविक तथ्यांक लगानीकर्ताले पाउन सकेका छैनन्। बजार पुँजीकरण नै गलत हिसाबले गणना भएका कारण यसैका आधारमा मापन हुने नेप्से सूचक पनि वास्तविकताभन्दा निकै टाढा छ।

'बजार पुँजीकरणको तथ्यांक नै वास्तविक नभएका कारण हामी त्यसैका आधारमा मापन हुने बजार सूचक थपघट भयो भनेर भ्रममा हिँडिरहेका छौं,' सेयर बजारका लगानीकर्ता तथा विश्लेषक रवीन्द्र भट्टराईले बिजमाण्डूसँग भने, 'हाम्रो नेप्से सूचकले वास्तविकता देखाइरहेको छैन।' भट्टराईको भनाइमा बजार पुँजीकरणलाई (अहिलेको हिसाबले) आधार मानेर जे जे गणना गरिएको छ त्यो सबै तथ्यांक र सूचक गलत हो।

नेप्सेले प्रत्येक सूचीकृत कम्पनीहरूको बजार पुँजीकरणलाई जोडेर ‘कुल बजार पुँजीकरण’ निर्धारण गर्छ। सर्वसाधारण सेयरको मात्रै भनेर छुट्टै ‘कुल फ्लोट पुँजीकरण’ पनि निकाल्छ। छुट्टाछुट्टै मूल्य हुने बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको सेयरको हिस्सा ६३.२७ प्रतिशत छ। त्यसो हुँदा बजार पुँजीकरणमार्फत मापन हुने नेप्से सूचक अहिले देखाइएकोभन्दा पूर्ण रूपमा गलत र त्रुटिपूर्ण रहेको विश्लेषकहरुको भनाइ छ। 

सेयर संरचनाको अधिकतम हिस्सा संस्थापकहरूको रहे तापनि बजार पुँजीकरण भने साधारण सेयरको मूल्यले निर्धारण गर्छ। कारोबारमा आउँदै नआउने सेयर संख्यालाई प्रत्येक दिन कारोबार हुने सर्वसाधारणतर्फको अन्तिम मूल्यले निर्धारण गर्दा परिसूचकको तथ्याङ्कमा नै ठूलो त्रुटि रहेको नेप्सेमा काम गरिरहेका उच्च तहका कर्मचारीहरु स्वीकार गर्छन्।

नेप्से परिसूचकको गणना ‘भ्यालु वेटेड (मूल्य भार)’ विधिबाट गर्ने गरिन्छ। कुनै कम्पनीको पुँजीकरणले परिसूचकको कुल बजार पुँजीकरणमा कति हिस्सा ओगटेको छ र त्यो पुँजीकरणको हिस्साले बजार परिसूचकमा कति हलचल पैदा गर्छ। त्यही आधारमा नेप्सेले सेयर बजारको कारोबार मापन गर्ने हो। 

सानो पुँजीकरण भएका कम्पनी परिसूचक तुलनात्मक रूपमा अत्यधिक 'उतारचढावपूर्ण' हुन्छन्। नेप्सेमा सूचीकृत लघुवित्त, जलविद्युत कम्पनीका सेयरमा यस्तो प्रवृत्ति देखिने गरिन्छ। बैंक तथा वित्तीय संस्थाका तुलनामा लघुवित्त र जलविद्युत कम्पनीहरूको पुँजीकरण निकै कम हुन्छ। 

ठूला पुँजीकरण भएका वाणिज्य बैंकमा यस्तो व्यवहार कम देखिन्छ। उतारचढाव कम हुनुका साथै व्यवसायिक आम्दानी, मुनाफा, प्रतिफल र पुँजी सुरक्षणको हिसाबले गर्दा पनि बैंक वित्तीय संस्था र बीमा कम्पनी प्रत्येक लगानीकर्ताको पहिलो रोजाइ हुने गर्छ। तर, बजार पुँजीकरणमा यी संस्थाले पार्ने प्रभावको सत्य तथ्यांक छायामा पर्ने हुनाले कम पुँजीकरण हुने संस्थाका सेयर अतिरञ्जित देखिने गरेका छन्।

सेयर बजारमा अधिक बजार पुँजीकरण भएका १० मध्ये ५ वटा कम्पनीमा वाणिज्य बैंक र बीमा क्षेत्रका संस्था नै हुन्। नबिल बैंक, नेपाल लाइफ, एनआईसी एसिया बैंक, ग्लोबल आईएमई बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक सर्वाधिक बजार पुँजीकरण भएका कम्पनी हुन्।

उच्च पुँजीकरण भएका १० कम्पनीभित्र ४ वटा बैंक नै पर्छन्। नेप्से परिसूचक गणना गर्दा यी कम्पनीको पुँजीकरणको हिस्साले ठूलो भूमिका निर्वाह गर्छ। यी कम्पनीको सेयर तल-माथि हुने बित्तिकै सम्पूर्ण बजार नै प्रभावित हुने गरेको छ।   

यी कम्पनीहरूको बजार मूल्यमा आएको उतारचढाव सम्बन्धित कम्पनीको बजार पुँजीकरणमा प्रतिबिम्बित हुने हो। र, सोही पुँजीको आधारमा कुल बजार पुँजीकरण। तर, संस्थापकको अधिकतम हिस्सा हुने यी प्रभावशाली कम्पनीको असल पुँजीकरण गणना गर्न नसक्दा बजारमा कम्पनीको प्रभाव पनि अत्यधिक परेको देखिन्छ। सानो पुँजीकरण भएका कम्पनीहरुको मूल्य बढ्दा पनि ठूला पुँजीकरण भएका कम्पनीको भाउ अलिकति तल जाँदा समेत नेप्से मापक नै रातो हुने अवस्था आउने गरेको छ। 

दिन प्रति दिन थपिँदै गएका कम्पनीहरूले गर्दा बजार पुँजीकरण माथि धकेलिएको छ। लगानीकर्ता पनि बढ्दै गएको कुल बजार पुँजीकरणदेखि दंग पर्ने गरेका छन्। नेप्सेको पछिल्लो तथ्यांक हेर्ने हो भने बजारको कुल पुँजीकरण ३७ खर्ब ३५ अर्ब रुपैयाँभन्दा माथि छ। 

राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार २०७८ माघ मसान्तमा धितोपत्र बजार पुँजीकरण ३९ खर्ब ५९ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको माघ मसान्तमा कुल बजार पुँजीकरण ३४ खर्ब ६ अर्ब १७ करोड रुपैयाँ थियो। यो अवधिमा लगानीकर्ताहरूको पुँजी ५ खर्ब ५३ अर्ब ४८ करोड रुपैयाँ अर्थात् १६.२५ प्रतिशत बढेको छ। बढेको त छ, तर संस्थापकतर्फको असल हिसाब गणना गर्न परिसूचक असक्षम हुँदा तथ्यांक मिथ्यांक समान भएको छ। 

प्राथमिक सेयर बिक्री गर्दै भित्रिएका कम्पनी तथा साधारण सेयरको कारोबार मूल्यमा आएको बढोत्तरीले बजार पुँजीकरण बढेको हो। नयाँ कम्पनी सूचीकृत हुँदा कम्पनीको पहिलो कारोबार दिनको अन्तिम कारोबार मूल्यले सो कम्पनीको कुल पुँजीकरण तय हुन्छ। र, सो पुँजीकरणको आधारमा सम्पूर्ण बजारको ‘कुल बजार पुँजीकरण’ निर्धारण हुने गर्छ।   

विद्यमान कम्पनीको सेयर मूल्यमा हुने उतारचढाव तथा नयाँ कम्पनी थपिने प्रतिक्रियात्मक चक्रका कारण कुल बजार पुँजीकरण परिवर्तनशील हुन्छ।