BIZMANDU
www.bizmandu.com

सुपारी, केराउ आयात: राजपत्रमा औद्योगिक प्रयोजनलाई, कार्यविधिमा ‘संशोधन गरेर अन्यलाई दिने’ बुँदा

२०७८ चैत्र २

सुपारी, केराउ आयात: राजपत्रमा औद्योगिक प्रयोजनलाई, कार्यविधिमा ‘संशोधन गरेर अन्यलाई दिने’ बुँदा
सुपारी, केराउ आयात: राजपत्रमा औद्योगिक प्रयोजनलाई, कार्यविधिमा ‘संशोधन गरेर अन्यलाई दिने’ बुँदा

काठमाडौं। राजपत्रमा औद्योगिक प्रयोजनका लागि मात्र भनेर सुपारी, मरिच, केराउ र छोकडाको आयात खुलाएको सरकारले कार्यविधिमार्फत अन्य प्रयोजनका लागि पनि आयात खुलाउन सकिने व्यवस्था गरेको छ।

Tata
GBIME
Nepal Life

मन्त्रिपरिषद्‍बाट स्वीकृत कार्यविधिअनुसार, सरकारले औद्योगिक प्रयोजनबाहेक अन्य प्रयोजनका लागि पनि आयात खुलाउन सक्ने व्यवस्था गरेको हो।

यद्यपि यसका लागि कार्यविधि संशोधनको सर्त राखिएको छ। राजपत्रमा भने औद्योगिक प्रयोजनका लागि मात्र यी चार वस्तुको आयात गर्न सकिने व्यवस्था गरिएको थियो। यो व्यवस्था चालु आर्थिक वर्षका लागि मात्र हो। चालु वर्ष अन्य प्रयोजनका लागि पनि सरकारको स्वीकृतिमा आयात गर्न सकिन्छ।

विदेशी मुद्राको सञ्चिति घटेर दैनिक उपभोग्य वस्तुको समेत आयात नियन्त्रण भइरहेका बेला सरकारले तस्करी भएर भारत जाने सुपारी, केराउ, मरिच र छोकडाको आयात फागुन २६ गते राजपत्रमा सूचना प्रकाशित गरेर खुलाएको थियो।

उद्योग विभागको तजबिजीमा उद्योगहरुले यी वस्तुको आयात बिना रोकतोक गर्न पाउने भएका छन्। सुपारी, केराउ, मरिच र छोकडाको आयात खुलाउन एक गिरोह नै सक्रिय थियो। त्यो गिरोहले राजनीतिकदेखि कर्मचारीतन्त्रमा समेत पकड जमाउने गर्छन। 

कार्यविधि स्वीकृतिसँगै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रतिबन्धित वस्तु आयातका अनुमतिको प्रक्रिया अघि बढाएको छ। मन्त्रालय अन्तर्गत उद्योग विभागले तयारी अघि बढाएको हो। कार्यविधि अनुसार विभागले आयात अनुमति दिने तयारी गरेको हो। कार्यविधि अनुसार उद्योगलाई आयात गर्न दिइने कच्चा पदार्थको दुरुपयोग हुन नदिन अधिक नियमन गर्ने उल्लेख गरेको छ। 

अब एक उद्योगले ती वस्तुहरु एक पटकमा बढीमा २ सय टनसम्म आयात गर्न सक्नेछन्। कुनै उद्योगले कच्चा पदार्थ आयात अनुमतिका लागि आफूले वर्षभरी उत्पादन गर्ने उत्पादनदेखि बिक्रीसम्मको सबै विवरण पेस गर्नु पर्नेछ। यस्तै कच्चा पदार्थ कुन देशबाट कुन पार्टी (आयात गरिदिने) बाट कतिमा ल्याउने सबै विषय स्पष्ट रुपमा विभागमा पेस गर्नु पर्नेछ। 

विभागले सूचना जारी गरी आवेदन माग गर्ने तयारी गरेको छ। सूचना केही दिनमै प्रकाशित हुनेछ। सो सूचनामा केराउ मरिच छोकडा र सुपारी आयात गर्ने उद्योगले आवश्यक कागजात पुर्‍याएर निवेदन दिनु पर्नेछ। यसरी बुझाइएको निवेदन उपर विभागको निर्देशकको नेतृत्वमा बनेको एक समितिको सिफारिसमा उद्योगले आयात अनुमति पाउनेछन्। 

यस्तो छ कार्यविधि

कार्यविधि अनुसार उद्योगले आवश्यक कच्चा पदार्थ ल्याउनका लागि निकासी पैठारी संकेत नम्बर आवश्यक पर्नेछ। यस्तै उद्योग सञ्चालन अवस्था र चालु आर्थिक वर्षको लक्ष्य उल्लेख गर्नुपर्नेछ। उद्योगले स्वीकृत गरेको स्किम र वार्षिक उत्पादन विवरण पनि पेस गर्नु पर्नेछ।

सम्बन्धित उद्योगले प्रमाणित गरेको बिक्री विववरण साथै उद्योग जडान गरेको मेसिनरी क्षमताको विवरण पनि विभागमा बुझाउनु पर्नेछ। 
तोकिएको मालवस्तुको उत्पादनकर्ता वा निकासीकर्ताको प्रोफर्मा इन्भ्वाइस वा सम्झौता समेत विभागमा पेस गर्नु पर्नेछ।

तोकिएको मालवस्तुको निकासीकर्ता सिपिङ हुने मुलुक पैठारी गरिने परिमाण मूल्य र भन्सार बिन्दु खुलाउनु पर्नेछ। यस्तै अघिल्लो वर्ष आयात गरेको भए सोको विवरण पेस गर्नु पर्नेछ।

कार्यविधि अनुसार नयाँ उद्योगका लागि भने आयात अनुमति कठिन देखिन्छ। कार्यविधिमा उद्योगको ५ वर्षको अवस्था हेरी भन्ने शब्दले नयाँ उद्योगका लागि असहज पार्ने देखिन्छ। यद्यपि नयाँ उद्योगका लागि नपाउने भन्ने चाहिँ होइन।  

यसरी आयात गरिएको वस्तु पुनः निकासी वा बिक्री वितरण गर्न पाइने छैन भनिएको छ। तर कार्यविधिको ८ नम्बर बुदाँमा संशोधन गर्न सकिने बुँदा राखिएको छ। सो बुँदामा औद्योगिक प्रयोजन बाहेक अन्य प्रयोजनका लागि तोकिएको वस्तुहरु आयात इजाजत प्रदान गर्नु परेमा नेपाल सरकारले सो कार्यविधिमा आवश्यक परिमार्जन गर्न सकिनेछ भनि उल्लेख गरिएको छ। 

यो व्यवस्थाले ट्रेडिङ कम्पनीलाई समेत आयातको इजाजत दिन सकिने बाटो खुला गरेको छ। तर यसको लागि पुनः मन्त्रिपरिषद्ले ट्रेडिङ फर्मलाई इजाजत दिनु पर्नेछ। 

उद्योगलाई भन्दा बढी ट्रेडिङ फर्मले यो निर्णयमा बढी चासो दिएका छन्। अहिले विभागमा उद्योग भन्दा ट्रेडिङ फर्मका सञ्चालकले बढी सोधपुछ गर्ने गरेका छन्। एक उद्योगीले भने हामीलाई उद्योगका लागि भन्दा ट्रेडिङ फर्मलाई अनुमति पाएको भए बढी नाफा हुने थियो। ती उद्योगीका अनुसार तेस्रो देशबाट आयात हुने ठूला सुपारी प्रयोग गरी गुट्खा उत्पादन गर्न सक्दैन। उच्च कोटीको सुपारी भारत निर्यात नै गर्ने हो।