BIZMANDU
www.bizmandu.com

कोरियामा रोजगारीका लागि इपीएस परीक्षाको आवेदन खुल्यो, ९ हजार ६ सय ५४ जना लैजाने

२०७८ फागुन ३०

काठमाडौं। कोरियामा नेपाली कामदार लैजान रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षाका लागि आवेदन फारम खुलेको छ।

Tata
GBIME

उत्पादनमूलक क्षेत्रतर्फ ६,९१३ र कृषि तथा पशुपालनतर्फ २,७४१ जना गरी ९ हजार ९ सय नेपाली कामदार कोरिया लैजान परीक्षा सञ्चालन गर्न लागिएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, रोजगार तथा श्रम मन्त्रालयबीच सम्पन्न समझदारी (एमओयु) अनुसार इपीएसअन्तर्गत नेपाली नागरिकलाई कामदारका रूपमा छनोट गर्न आवेदन खुलाइएको हो। इच्छुक र योग्यले परीक्षामा सहभागी हुन पाउने छन्।

‍कृषि तथा पशुपालन क्षेत्रको पहिलो चरणको भाषा परीक्षा वैशाख २६ देखि जेठ १३ गतेसम्म सञ्चालन हुनेछ। दोस्रो चरणको जेठ २४ देखि असार १६ गतेसम्म हुनेछ। कृषि तथा पशुपालन क्षेत्रकै सीप परीक्षण परीक्षा पहिलो चरणको वैशाख २६ देखि जेठ १३ गतेसम्म हुनेछ। दोस्रो चरणको जेठ २४ देखि असार १६ गतेसम्म सञ्चालन हुनेछ।

उत्पादनमूलक क्षेत्रतर्फ पहिलो चरणको भाषा परीक्षा असार २० देखि भदौ १० गतेसम्म हुनेछ। दोस्रो चरणको परीक्षा भदौ १६ देखि असोज २१ गतेसम्म सञ्चालन हुनेछ।

सीप परीक्षण परीक्षा असार २० देखि भदौ १० गतेसम्म हुनेछ। दोस्रो चरणको भदौ १६ देखि असोज २१ गतेसम्म सञ्चालन हुनेछ।

भाषा परीक्षामा सम्बन्धित क्षेत्रमा प्राप्त गरेको प्राप्तांकका आधारमा उच्चतम अंक प्राप्त गरेका आवेदकहरुलाई सीप परीक्षणमा समावेश गराइने छ। चैत १४ देखि २१ गतेसम्म अनलाइन आवेदन दिन सकिनेछ। एक जनाले एउटा क्षेत्रमा मात्र दरखास्त दिन पाउनेछ। भाषा परीक्षामा  उत्तीर्ण विद्यार्थीहरुले दोस्रो चरणको सीप परीक्षण परीक्षा पनि उत्तीर्ण भएपछि मात्र रोजगार आवेदन फाराम भर्न सक्नेछन्।

आवेदन दिनका लागि १८ पुरा भइ ३९ वर्ष नकटेको हुनुपर्नेछ। फौजदारी अभियोगमा अदालतबाट कसुर नपाएको, कोरियामा गइ गैरकानुनी रूपमा बसोबास गरी नेपाल फिर्ता नपठाएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको, रङ चिन्ने लगायत योग्यता तोकिएको छ।