BIZMANDU
www.bizmandu.com

विद्युत नियमन आयोगमा नयाँ नियुक्तिको प्रक्रिया अगाडि बढ्यो, उर्जा मन्त्रालयले निकाल्यो सूचना

२०७८ फागुन २३

काठमाडौं। सरकारले विद्युत नियमन आयोगमा रिक्त रहेको अध्यक्ष र तीन सदस्य नियुक्ति प्रक्रिया अघि बढाएको छ।ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले सूचना निकालेर तोकिए बमोजिमको योग्यता पुग्ने इच्छुक उम्मेदवारलाई १५ दिनभित्र आवेदन दिन भनिएको छ।

Tata
GBIME
NLIC

विद्युत नियमन आयोग ऐन,२०७४ को दफा ५ बमोजिम रिक्त रहेको अध्यक्ष (एक) र तीन सदस्य (एक जना महिलासहित ) पदमा नियुक्त गर्न लागिएको हो।

विद्युत नियमन आयोग नियमावली, २०७५ को अनुसूची-१ बमोजिम आवेदनका साथ व्यक्तिगत विवरण, नोटरी पब्लिकबाट प्रमाणित शैक्षिक योग्यताको प्रति र कार्य अनुभव सम्बन्धी कागजात, कार्ययोजनाको ढाँचा पेस गर्नुपर्नेछ। कार्य योजनाको मूल्यांकनबाट छनोट भइ संक्षिप्त सूचीमा परेका बढी १ जना उम्मेदवारलाई कार्ययोजना प्रस्तुतिका लागि इमेल,एसएमएस वा टेलिफोनबाट सूचित गरिने सूचनामा उल्लेख छ।

सरकारले यस अघिका पदाधिकारीको कार्य क्षमतामाथि प्रश्न उठाउँदै छानबिन समिति गठन गरेको थियो। उक्त समितिले तत्कालीन अध्यक्ष दिल्लीबहादुर सिंह सहितलाई स्पष्टीकरण मागेको थियो। छानबिन समितिले पदाधिकारीहरुलाई हटाउन सुझाएको थियो। सोही अनुसार हटाएर सरकारले नयाँ नियुक्ति प्रक्रिया सुरु गरेको हो। अध्यक्ष सिंहसहित सदस्यद्वय रामेश्वर कलवार र भागिरथी ज्ञवालीलाइ हटाइएको हो।

पूर्व न्यायाधीश प्रकाशचन्द्र गजुरेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। समितिमा पूर्व सहसचिवद्वय विष्णु थापा र आशिष घिमिरे सदस्य थिए।

विद्युत प्राधिकरणको एकाधिकार अन्त्य गर्दै विद्युत महसुल निर्धारणदेखि प्रसारण र उपभोक्ता अधिकारका काम हेर्न शक्तिशाली निकायका रुपमा २०७६मा आयोग स्थापना भएको हो।