BIZMANDU
www.bizmandu.com

‘एमसीसी बुझेका रहेनछौं’ भन्दै आत्मालोचना गर्न बाबुराम भट्टराईको प्रचण्ड र माधव नेपाललाई सुझाव

२०७८ फागुन १५

‘एमसीसी बुझेका रहेनछौं’ भन्दै आत्मालोचना गर्न बाबुराम भट्टराईको प्रचण्ड र माधव नेपाललाई सुझाव
‘एमसीसी बुझेका रहेनछौं’ भन्दै आत्मालोचना गर्न बाबुराम भट्टराईको प्रचण्ड र माधव नेपाललाई सुझाव

काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले एमसीसीबारे माओवादी केन्द्र र एकीकृत समाजवादी नेतृत्वलाई सान्त्वना दिएका छन्। क्यानेडियन अमेरिकान अर्थशास्त्री जेके गार्लब्रेथको भनाई प्रस्तुत गर्दै बाबुरामले दुई दलका नेताहरुलाई सान्त्वना दिएका हुन्।

Tata
GBIME
Nepal Life

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन, एमसीसी परियोजनाबारे संसदमा छलफल गर्दै बाबुरामले माओवादी र एकीकृत समाजवादीका नेताहरुले एमसीसीबारे यसअघि फैलाएका भ्रमबारे आत्मालोचना गर्नुपर्ने सुझाव समेत दिए।

'साथीहरुले जुन भ्रम हिजो जनतामा छर्नुभएको छ। इमान्दारितपूर्वक गएर भनौं। हामीले बुझेका रहेनछौ, हामीले बुझ्यौ। यो लिनुपर्ने कुरा छ भन्दा इमान्दारी हुन्छ,'  पूर्व प्रधानमन्त्री समेत रहेका डा भट्टराईले भने, 'अब पनि हामीले भनेको कुरा ठिकै हो। तर, सत्ता छोड्न सकिएन। सत्ता छोड्दा अप्ठेरो पर्ने भो। त्यसैले हामी घीन, लाज छोप्‍ने बाटो भनेर टिप्पणी नगरौं। त्यसले भोलि फेरि गल्ती गरिएछ भन्ने हुन्छ। जनतामा भ्रम पर्छ। त्यसो नगरौं।'

देशमा विकासका लागि पुँजी र प्रविधिको अभाव रहेको बेला एमसीसी परियोजना स्विकार्नुको विकल्प नभएको बाबुरामको भनाई रह्यो।

'हामीलाई पुँजी र प्रविधिको अभाव छ। हामीले दुई अंकको आर्थिक वृद्धि हासिल गर्नुपर्छ,' उनले भने,'हामीले भारतसँग विप्पा सम्झौता गर्‍यौ। चीनसँग बिआरआइ सम्झौता गरेका छौ। अमरिकासँग एमसीसीसँग पनि लियौं।'

भट्टराईले राष्ट्रवादको नाम जपेरमात्र कतै नपुग्‍ने भनाइसमेत राखे।

'राष्ट्रवादका मात्र माला जपेर बस्छौ भने हामी हाम्रा छोराछोरी देशमा बस्दैनन्। हामी बुढा बुढामात्र बसेर ढुंगा र माटोको राष्ट्रियता जपेर कही पुगिँदैन,' उनले भने, 'एमसीसीलाई लिएर जानु नै उपयुक्त हुन्छ।'

यसबारे एमालेले पनि सहयोग गर्नुपर्ने बाबुरामको भनाई थियो। एमालेले निरन्तर सदन अवरोध गर्दै आएको अवस्थामा एमसीसीबारे सदनमा छलफल जारी छ।

'अब के गर्ने जहाँसम्म मेरो कुरा छ। प्रमुख प्रतिपक्षीसँग पनि मेरो आग्रह छ। गठबन्धनका साथीहरुसँग मेरो आग्रह छ,'  बाबुरामले भने, 'हामीले एकमतका यसलाई पारित गरेर अघि बढौं। यो नै नेपालको हितमा छ।'

एमसीसीलाई यथास्थितिमा पारित गर्न नहुने पक्षमा उभिएको सत्तागठबन्धनका दुई दल माओवादी र एकीकृत समाजवादी अन्तिम अवस्थामा आएर ब्याख्यात्मक टिप्पणीसहित पारित गर्ने सहमतिमा पुगेका छन्। यही विषयमा बाबुरामले अन्तिम समयमा क्यानेडियन अमेरिकान अर्थशास्त्री गार्लब्रेथको भनाई उद्धृत गर्दै एमसीसी अप्रिय भए पनि देशको हितमा रहेको बताए।

'जेके गार्लब्रेथले भनेका थिए 'पोलिटिक्स इज नट आर्ट अफ पोसिबल। इट कन्सिस्ट इन चुजिङ बिट्वीन डिजास्टरस् एन्ड अनपेलेटेबल। राजनीति भनेको सम्भावनाको खेलमात्र हैन राजनीति भनेको सत्यनाश र अप्रियताबिचको छनोट हो। जब देश सत्यनाशतिर जाँदैछ बर्बादीतिर जान्छ। त्यसबेला अप्रियता पनि रोज्नुपर्छ,' उनले भने, 'एमसीसी अलिकति अप्रिय भए पनि देशको हितमा छ। यसको ग्रहण गरौं।'