काठमाडौं। प्रतिनिधसभाको आज बस्ने बैठकमा अमेरिकी सहायता मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सँगको सम्झौतामाथि छलफल हुने भएको छ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ।
सो सम्झौता प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नेछन्। फागुन ८ गते एमसीसी संसदमा टेबल भएको थियो। अर्थमन्त्रीले टेबल गर्ने कार्यसूचीमा राखिए पनि उनी त्यतिबेला अनुपस्थित थिए।
आजको संसद बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। बैठकमा एमसीसीलाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल हुनेछ।
संसद बैठकमा अनिवार्य उपस्थित हुन नेपाली कांग्रेसले आफ्नो दलका सबै सांसदलाई निर्देशन दिइसकेको छ। लोकतान्त्रिक समाजवादी पार्टीले समेत एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। गठबन्धनका माओवादी केन्द्र र नेकपा एकीकृतले विपक्षमा मत दिने निर्णय गरेका छन्। प्रमुख दल कांग्रेस संसदमा दोस्रो ठूलो दल हो।
प्रमुख प्रतिपक्षी एमालेले भने पार्टीले कारबाही गरेका आफ्ना १४ सांसदबारे निर्णय नभएसम्म प्रक्रियामा भाग नलिने बताइसकेको छ।